close

प्रविधिमैत्री बन्दै मध्यपश्चिम विश्वविद्यालय

टेकपाना टेकपाना

असोज २२, २०७८ १३:२८

प्रविधिमैत्री बन्दै मध्यपश्चिम विश्वविद्यालय

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका विभिन्न शैक्षिक तथा प्रशासनिक क्रियाकलापलाई डिजिटल माध्यमबाट सञ्चालन गर्न तथा विश्वविद्यालयलाई ई-युनिभर्सिटीमा रूपान्तरण गर्ने उद्देश्यका साथ मोबाइल एप तथा ३५ वेबसाइट बनाउने सम्झौता भएको छ ।

बुधबार मध्यपश्चिम विश्वविद्यालय तथा मिटिङ पोइन्ट प्राइभेट लिमिटेडबीच सम्झौता सम्पन्न भएको हो । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहको उपस्थितिमा  विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार प्रा. डा. नारायणप्रसाद पौडेल र मिटिङ पोइण्ट प्राइभेट लिमिटेडको तर्फबाट डा. संविधान आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त हस्ताक्षर कार्यक्रममा विश्वविद्यालयका प्राध्यापक, कर्मचारी तथा अन्य प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सम्झौता अनुसार इन्टरप्राइज रिसोर्स प्लानिङ सिस्टम (ERPS), एजुकेसन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (EMIS), लर्निङ म्यानेजमेन्ट सिस्टम (LMS), ३५ वेबसाइट तथा मोबाइल एप्लिकेसन निर्माण गरिनेछ ।

विश्वविद्यालयले यसअघि जारी गरेको बोलपत्र आह्वानमा परेका १४ फर्महरूको आवेदनमध्येबाट विभिन्न चरणको छनौट प्रक्रियापछि मिटिङ पोइण्ट प्राइभेट लिमिटेड छनौट भएको विश्वविद्यालयले जनाएको छ ।

यो परियोजनाको कुल बजेट भ्याटबाहेक ६५ लाख ३० हजार रुपैयाँ रहेको छ। सम्झौता भएको ६ महिनाभित्र सम्पूर्ण सिस्टम निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण तथा उपयुक्त तालिम प्रदान गरिसक्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ ।

यो परियोजना सम्पन्न भएपश्चात विश्वविद्यालयमा हुने विभिन्न क्रियाकलापहरू चुस्तदुरुस्त, पारदर्शितापूर्ण तथा मध्यपश्चिम विश्वविद्यालयलाई प्रविधिमैत्री विश्वविद्यालयका रुपमा स्थापित गर्ने विश्वास गरिएको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१