close

ईसेवा र एमबैंकबीच सम्झौता, अब ४५० बढी सहकारीमा डिजिटल कारोबार गर्न सकिने

टेकपाना टेकपाना

असोज २२, २०७८ १४:५१

ईसेवा र एमबैंकबीच सम्झौता, अब ४५० बढी सहकारीमा डिजिटल कारोबार गर्न सकिने

काठमाडौं । भुक्तानी सेवाप्रदायक ईसेवा र सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एमबैंकबीच डिजिटल भुक्तानीका लागि सम्झौता भएको छ ।

सहकारी संस्थालाई पनि डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले दुई कम्पनीबीच सहकार्य भएको हो । सम्झौतासँगै एमबैंकले सेवा दिइरहेका चार सय ५० बढी सहकारीमा अबदेखि थप डिजिटल रूपमा भुक्तानी गर्न सकिनेछ ।

ईसेवासँगको सहकार्यसँगै अबदेखि एमबैंकमार्फत सहकारीबाट बैंकमा रकम ट्रान्स्फर, ईसेवा वालेटमा रकम लोड, क्यूआर भुक्तानी, सबै किसिमको युटिलिटी पेमेन्ट, शेयर खरिदको भुक्तानी, मेरो शेयर/डिम्याट नवीकरण, राजस्व, ट्राफिक जरिवाना भुक्तानी लगायतका सेवा उपयोग गर्न पाइनेछ ।

हाल स्क्यान एण्ड पे सेवाको सुरूवात भइसकेको छ भने अन्य सेवा निकट भविष्यमै उपलब्ध हुनेछन् ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ईसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४५ लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले ईसेवामार्फत सेवा लिइरहेका छन् ।

हाल ईसेवाका देशभर करिब एक लाख २५ हजारभन्दा बढी एजेन्ट (ईसेवा जोन तथा पोइन्ट) रहेका छन् ।

सहकारी क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्र्याउने र सर्भिस दिनेमा ‘एम बैंक’ अगाडि छ । जुनसुकै सफ्टवेयर चलाउने सहकारीले पनि ‘एमबैंक’ को सेवा सजिलै लिनसक्ने छन् ।

एमबैंक नेपालमा सबैभन्दा बढी सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने कम्पनी हो । कम्पनीले हालसम्म चार सय ५० बढी सहकारीलाई डिजिटलाइज गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१