close

स्टार्टअपलाई एक प्रतिशत ब्याजदरमै ऋण, कार्यविधि सजिलो बनाउन निर्देशन

टेकपाना टेकपाना

असोज २२, २०७८ १८:२५

स्टार्टअपलाई एक प्रतिशत ब्याजदरमै ऋण, कार्यविधि सजिलो बनाउन निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्टार्टअपलाई ऋण दिने कार्यविधि सजिलो खालको बनाउन सरोकारवालालाई निर्देशन दिएका छन् । स्टार्टअपलाई सहुलियतपूर्ण ऋण दिने विषयमा छलफलका लागि मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री शर्माले यस्तो निर्देशन दिएका हुन् । 

यसअघिको बजेटमा स्टार्टअपलाई दुई प्रतिशत ब्याजदरमा सहुलियत ऋण दिने भनिए पनि सरकारले जारी गरेको प्रतिस्थापन बजेटमा एक प्रतिशत ब्याजदरमै ऋण दिने उल्लेख छ । 

दुर्गम वस्तीका युवाहरूले समेत सजिलै स्टार्टअप व्यवसाय कर्जा पाउन सक्ने गरी कार्यविधि बनाउन अर्थमन्त्री शर्माले निर्देशन दिएको उनको सचिवालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । 

मन्त्री शर्माले कार्यविधिमा ठूलो संरचना र समितिहरू नबनाई राष्ट्रिय योजना आयोगका सचिवको नेतृत्वमा छरितो टिम बनाएर सोको निर्णयबमोजिम स्टार्टअप व्यवसाय कर्जा उपलब्ध गराउन उपयुक्त हुने विचार राखेको विज्ञप्तिमा जनाइएको छ । 

छलफलमा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालले स्टार्टअपका अन्तराष्ट्रिय अभ्यासहरूलाई ध्यान दिएर सरल कार्यविधि बनाउनुपर्ने बताए । 

आयोगका सदस्य सचिव केवल भण्डारीले नयाँ नयाँ अवधारणा बोकेका उत्साही युवालाई सजिलैसँग स्टार्टअप कर्जा उपलब्ध गराउने खालको सरल कार्यविधि बनाउनुपर्नेमा बताए । अर्थसचिव मधुकुमार मरासिनी र राजश्व सचिव कृष्णहरि पुष्करले नयाँ व्यवसायीहरूलाई लक्षित गरेर कार्यविधि बनाउनुपर्ने बताए । 

नेपालमा आर्थिक वर्ष २०७६/७७ देखि स्टार्टअप सञ्चालनको लागि अनुदान उपलब्ध गराउने गरी सरकारले कार्यक्रम ल्याएको थियो । सोबमोजिम राष्ट्रिय योजना आयोगले अनुदान सम्बन्धी कार्यविधि बनाएर आवेदन समेत संकलन गरेको थियो । त्यसमा ६९९ जनाले निवेदन दिएको आयोग सदस्य फुँयालले बताए । यसअघि परेका आवेदनको समेत समावेश गर्ने गरी कार्यविधि बनाउन अर्थमन्त्री शर्माले निर्देशन दिएका छन् । 

आर्थिक वर्ष ७७/७८ मा २ प्रतिशत व्याज दरमा स्टार्टअप कर्जा उपलब्ध गराउने गरी कार्यक्रम ल्याइएको थियो । अहिलेको सरकारले ल्याएको प्रतिस्थापन बजेटमा भने एक प्रतिशत सहुलियत ब्याजदरमा स्टार्टअप ऋण दिने व्यवस्था गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१