close

राज्यको समर्थनमा भएका ह्याकिङमध्ये ५८ प्रतिशत रसियाको

टेकपाना टेकपाना

असोज २२, २०७८ १९:१६

राज्यको समर्थनमा भएका ह्याकिङमध्ये ५८ प्रतिशत रसियाको

काठमाडौं । माइक्रोसफ्टले गरेको एक अध्ययनअनुसार राज्यको साथ पाएर गरिने ह्याकिङमा सबैभन्दा अगाडि रसिया रहेको छ । माइक्रोसफ्टको दोस्रो ‘डिजिटल डिफेन्स रिपोर्ट’ का अनुसार राज्यबाट संरक्षित कुल ह्याकिङका घटनामध्ये ५८ प्रतिशत ह्याकिङमा रसियाको हात रहेको पाइएको हो ।

रिपाेर्टअनुसार रसियाली राज्यबाट संरक्षित ह्याकरहरूले गरेको साइबर आक्रमणमध्ये सबैभन्दा धेरै अमेरिका, युक्रेन, बेलायत, युरोपियन नाटोका सदस्य राज्य लगायत रहेका छन् ।

यसअन्तर्गत धेरैजसो आक्रमण सूचना प्रविधिसँग सम्बन्धित कम्पनीविरुद्ध गरिएको थियो । माइक्रोसफ्टका अनुसार रसियाले गराएको यस्ता आक्रमणमध्ये ३२ प्रतिशत सफल भएको थियो ।

रिपोर्टअनुसार सन् २०१९-२०२० को तुलनामा रसियाको आक्रमण सन् २०२०-२०२१ (जुन महिनासम्म) ५२ प्रतिशतले बढेको छ । रसियापछि भने यस्तो ह्याकिङ गराउनेमा उत्तर कोरिया रहेको छ ।

गत वर्षको तुलनामा उत्तर कोरियाको यस्तो आक्रमण ११ प्रतिशतबाट बढेर २३ प्रतिशतमा पुगेको हो । चीन भने १२ प्रतिशतबाट ८ प्रतिशतमा झरेको छ ।

चीन भने राज्य संरक्षित ह्याकिङको सूचीमा एकदमै पछाडि छ । उदाहरणका लागि १० ओटा हुने ह्याकिङमा चीनको हात करिब एउटामा मात्रै देखिएको छ ।

यद्यपि चीनले गरेको ४४ प्रतिशत आक्रमण सफल भएका छन् । त्यस्तै रिपोर्टले र्‍यानसमवेयर जस्तो आक्रमणले अन्य देशभन्दा अमेरिका तीन गुणा बढीले प्रभावित भएको पनि बताएको छ ।

सामान्यतया राज्यबाट संरक्षित ह्याकिङ राष्ट्रिय सुरक्षा अथवा राज्यको व्यावसायिक सुरक्षा र रणनीतिक फाइदाका लागि प्रयोग गर्ने गरिन्छ ।

एकमुष्ट रुपमा हेर्ने हो भने चाहिँ यो वर्ष यस्तो प्रकारको ह्याकिङमध्ये करिब १० देखि २० प्रतिशतमात्र सफल भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१