close

आज विश्व हुलाक दिवस, विद्युतीय व्यापारसँग जोडेर लैजान मन्त्री कार्कीको उद्घोष

टेकपाना टेकपाना

असोज २३, २०७८ ८:२०

आज विश्व हुलाक दिवस, विद्युतीय व्यापारसँग जोडेर लैजान मन्त्री कार्कीको उद्घोष

काठमाडौं । आज १४७ विश्व हुलाक दिवस । पुनरुत्थानका लागि नव-प्रवर्तन (इनोभेट टु रिकभर) भन्ने नाराका साथ नेपाल लगायत संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूमा विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

यसै अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले हुलाक सेवासँग सम्बद्ध व्यक्ति, संस्था, शुभचिन्तक तथा हुलका सेवा प्राप्त गर्ने सबैलाई शुभकामना सन्देश जारी गरेका छन् । विश्व हुलाक सेवाहरूले आफूलाई समय सापेक्ष रूपमा व्यावसायिक र प्रविधिमैत्री बनाई आम सेवाग्राहीको विश्वास आर्जन गर्न सफल भएका छन् ।

विश्व हुलाक सेवामा आएको परिवर्तनलाई आत्मसाथ गर्दै नेपालले पनि आफ्नो हुलाक सेवालाई पनि भरपर्दो, विश्वसनीय र प्रतिस्पर्धी बनाउन आवश्यक रहेको मन्त्री कार्कीले बताएका छन् । ‘हुलाक क्षेत्रको समग्र पुनःसंरचना र सेवाको विविधीकरण गरी हुलाक सेवालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउने कार्यलाई नेपाल सरकारले चालू  आर्थिक वर्षको नीति, बजेट तथा कार्यक्रममा प्राथमिकता दिएको छ,’ मन्त्री कार्कीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।

‘हुलाकमार्फत् प्रदान गरिने सेवालाई प्रभावकारी बनाउँदै जनताको हुलका वस्तु प्राप्त गर्ने भरपर्दो माध्यमको रुपमा विकास गर्ने, यसको संरचनामा सुधार गर्ने र सूचना प्रविधिको प्रयोग गरी विद्युतीय व्यापार तथा वित्तीय समावेशीकरणका कार्यक्रम सञ्चालन गर्ने प्रणालीको विकासलाई नेपाल सरकारले प्राथमिकतामा राख्नेछ ।’

सबै सरकारी दस्तावेज हुलाकमार्फत नै ओसारपसार गर्ने र निजी क्षेत्रसँग सहकार्य गरी हुलका वस्तुको सरल, सहज एवम् समयबद्ध पहुँचको सुनिश्चितता हुनेगरि हुलका सेवालाई अगाडि बढाउने प्रतिवद्धता समेत उनले गरेका छन् । साथै हुलाक सेवालाई समयानुकूल बनाउन यससँग सम्बद्ध पक्षहरूको क्षमता विकासमा सरकारले जोड दिने विश्वास समेत उनले दिलाएका छन् ।

सामान्य सूचना, व्यक्तिका चिठीपत्र तथा सन्देश, सानासाना हुलाक वस्तुको ओसारपसार गरी सम्बन्धित प्रापक समक्ष पुर्‍याउने जिम्मा लिएको हुलाक सेवा संसारभर फैलिएको पुरानो सञ्चार प्रणाली हो ।  यससँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले समेत छुट्टै शुभकामना सन्देश पठाएका छन् ।

विश्व हुलाक संघ स्थापना भएको दिन अक्टोबर ९ लाई विश्व हुलका दिवसको रुपमा मनाइँदै आएको छ । विश्व हुलका सङ्घले गर्ने सुधारका कार्यहरूमा सहभागिता जनाउँदै विश्व हुलाक सेवासँग नेपाली हुलाक सेवालाई आवद्ध गर्नेतर्फ सरकारले पहल थाल्ने सचिव अर्यालको भनाई छ ।    

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१