close

दशैंमा अनलाइन शपिङ गर्न उत्कृष्ट ५ विकल्प

टेकपाना टेकपाना

असोज २४, २०७८ ९:७

दशैंमा अनलाइन शपिङ गर्न उत्कृष्ट ५ विकल्प

काठमाडौं । पछिल्लो समय नेपालमा समेत अनलाइनबाट सामान खरिद गर्ने प्रचलन बढेको छ ।  विशेषगरी कोभिड-१९ को पहिलो लहरसँगै अनलाइन कारोबार तथा अनलाइन शपिङमा उल्लेख्य वृद्धि भएको छ ।

कोभिडको समयमा घरभित्र बस्नुपर्ने र सामाजिक दूरी कायम गर्नुपर्ने वाध्यताले पनि अनलाइनबाट सामान मगाउने प्रचलन बढेको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्कले पनि पछिल्लो समय अनलाइन शपिङ उल्लेख्य मात्रामा बढ्दै गएको देखाउँछ ।

तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा ई–कमर्श कम्पनीमा ६७ हजार ८९१ ओटा कारोबार भएका छन् । जसमा ३८ करोड ७० लाख रुपैयाँ बराबरको खरिद बिक्री भएको छ ।

यो हालसम्मकै उल्लेख्य वृद्धि हो । असार महिनामा २९ करोड ६० लाख बराबरको ५२ हजार एक सय १५ ओटा कारोबार भएका थिए । यसले पनि नेपालीहरू अब अनलाइन शपिङलाई विस्तारै विश्वास गर्न थालेको देखाउँछ ।

अझ अहिले त दशैं नजिकिएको छ । दशैंमा आवश्यक पर्ने सरसामान खरिद गर्नुपर्ने चटारो हुन्छ । कोभिडको–१९ को असर अझैँ पनि कायमै रहेकाले हालको अवस्थामा अनलाइन शपिङ नै उत्तम विकल्प हो ।

त्यसैले यहाँ हामी तपाईँहरूलाई नेपालमा उपलब्ध विभिन्न अनलाइन शपिङ प्लेटफर्मको विषयमा जानकारी दिँदैछौँ । बजारमा धेरै खालका अनलाइन शपिङका माध्यम छन् ।

कसैले कुनै एउटा सामान मात्रै पनि अनलाइनबाट उपलब्ध गराउँछन् भने कतिपयले धेरैभन्दा धेरै सामान एकै ठाउँबाट उपलब्ध गराउने लक्ष्य राखेका छन् । जहाँबाट तपाईंले पनि आफूलाई आवश्यक पर्ने सामान मगाउन सक्नुहुनेछ । त्यसमध्ये केही विकल्पबारे यहाँ हामी जानकारी दिँदैछौँ । 

१. दराज

दराज नेपालको सबैभन्दा लोकप्रिय ई-कमर्स हो । चिनियाँ कम्पनी अलिबाबा ग्रुपको लगानी रहेको दराजले लामो समयदेखि नेपालमा सेवा उपलब्ध गराउँदै आएको छ ।

दराजमा इलेक्ट्रिक सामानदेखि कपडा, खाद्यान्न, ग्याजेट, घरायसी सामाग्री लगायत सबै खालका सामान किन्न गर्न सकिन्छ । तपाईंले अलिबाबामा उपलब्ध सामान पनि दराजबाट मगाउन सक्नुहुनेछ । दराजमा अहिले पाँचसय ब्रान्डका २५ लाख भन्दा बढी सामान उपलब्ध छन् ।

दराजबाट सामान किन्ने ग्राहकले अनलाइन भुक्तानीका साथै क्यास अन डेलिभरी अर्थात सामान प्राप्त भएपश्चात पैसा बुझाउन सकिने दुवै व्यवस्था छ । दराजले अहिले दशैंका लागि छुट तथा उपहारसहितका विभिन्न अफर पनि दिइरहेको छ । 

२. सस्तोडिल

सस्तोडिल अनलाइन शपिङका लागि अर्को राम्रो विकल्प हो । यसले ग्राहकलाई लामो समयदेखि नेपालमा अनलाइन शपिङको अनुभव प्रदान गर्दै आएको छ । अनलाइनबाटै इलेक्ट्रिक सामान, कपडा, खाद्यान्न, ग्याजेट, घरायसी सामग्री लगायतका धेरै खालका सामान यहाँ किन्न पाइन्छ ।

अनलाइन शपिङका लागि सस्तोडिल राम्रो विकल्प हुन सक्छ । सस्तोडिलमा ग्राहकले पनि अनलाइन भुक्तानीका साथै क्यासअन डेलिभरी दुबै माध्यमबाट सामान मगाउन सक्छन् । अझ दशैँलाई लक्षित गर्दै कम्पनीले छुटका साथै विभिन्न उपहारहितको अफर पनि ल्याएको छ ।

३. सोचेको

सोचोको नेपाली ई-कमर्समा उदोउँदै गरेको ब्राण्ड हो । यहाँ ५० भन्दा बढी थरीका २० हजार भन्दा बढी सामान उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय दुबै ब्राण्डका प्रोडक्ट उपलब्ध रहेको सोचेकोमा ग्याजेट, इलेक्ट्रिक डिभाइस, कपडा, खाध्यन्नलगायतका सामान उपलब्ध छ । कम्पनीले प्रयोगकर्ताको सहजताको लागि अनलाइन भुक्तानीका साथै क्यासअन डेलिभरी दुबै विकल्प उपलब्ध गराएको छ ।

. स्मार्टडोको

आईएमएस ग्रुपको लगानी रहेको स्मार्ट डोको अनलान शपिङका लागि अर्को एउटा राम्रो विकल्प हो । जहाँ सयौं ब्रान्डका ३० हजारभन्दा बढी सामान उपलब्ध छन् ।

बालबालिका लागि आवश्यक सामग्रीका साथै स्मार्ट डोकोमा ग्याजेट, इलेक्ट्रिक सामान, कपडा, खाध्यन्न, स्वास्थ्य सामग्रीलगायत धेरै सामान उपलब्ध छन् । कम्पनीले दशैं तिहारलाई लक्षित गर्दै ग्राहकलाई विभिन्न छुटका साथै उपहार सहितको अफर पनि सञ्चालनमा ल्याएको छ । ग्राहकले स्मार्टडोकोमा सामान खरिद गरी अनलाइन तथा क्यास अन डेलिभरी दुवै माध्यममार्फत भुक्तानी गर्न सक्नेछन् ।

५. ग्यापु

ग्यापु छोटो समयमा उदाएको अर्को एक अनलाइन प्ल्याटफर्म हो । जहाँ प्रयोगकर्ताले राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्रान्डका हजारौं सामान खरिद गर्न सक्छन् ।

ग्यापुमा ग्याजेट, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स सामान, कपडा, खाद्यान्न, स्वास्थ्य सामाग्री लगायतका सामान उपलब्ध छ । अनलाइन शपिङको राम्रो अनुभव लिन चाहानेका लागि ग्यापु पनि एक विकल्प हुनसक्छ ।  

ग्यापुले दशैमा ग्राहकलाई लक्षित गरेर विभिन्न अफर समेत उपलब्ध गराइरहेको छ । ग्यापुबाट सामान खरिद गर्दा  अनलाइन भुक्तानीको पनि सुविधा छ भने क्यास अन डेलिभरी पनि गर्न सकिने कम्पनीले जनाएको छ । 

यी पाँच विकल्पका सहित बजारमा अन्य धेरै अनलाइन प्ल्याटफर्म छन् । जसमा मुन्चा, ठुलो, हाम्रोबजार, गज्जबको, मुकुण्डोलगायत पर्छन् ।अनलाइनबाट सामान खरिद गर्दा कानुनी रुपमा दर्ता भएका कम्पनीबाट मात्रै सामान खरिद गर्दा राम्रो हुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१