close

महानायक विवादले सलोन, शोभित र भुवन केसीमाथि युट्युवमा डिसलाइकको बाढी

टेकपाना टेकपाना

असोज २४, २०७८ ९:५३

महानायक विवादले सलोन, शोभित र भुवन केसीमाथि युट्युवमा डिसलाइकको बाढी

काठमाडौं । एउटा टेलिभिजन कार्यक्रमले चलचित्र अभिनेता राजेश हमाललाई महानायकको उपाधिबाट सम्मानित गर्‍यो । त्यसैको निरन्तरतामा चलचित्र प्राविधिक संघले पनि औपचारिक रूपमै उनलाई महानायकको उपाधि दियो ।

नेपाली चलचित्र जगतमा राजेश हमालको महानायक उपाधिमा खासै विवाद थिएन । प्रायः सबैजसो दर्शकले पनि त्यही चाहेका थिए । तर केही समय अघि कलाकार दीपाश्री निरौलाले राजेश हमालको महानायक उपाधिमाथि प्रश्न उठाइन् ।

त्यो प्रश्नले राजेश हमाललाई नभएर उल्टै उनी स्वयम्‌लाई निकै भारी पर्‍यो । दीपाश्रीको बचाउमा लाग्दा अर्का कलाकार दीपकराज गिरी समेत नराम्रोसँग विवादमा फसे । महानायक विवादको विषय दर्शकमा सर्वस्वीकार्य जस्तै भए पनि नेपाली चलचित्र उद्योग भित्रै भने सबैलाई पाच्य भएको देखिँदैन ।

पछिल्लो समय भुवन केसी, शोभित बस्नेत र उनका छोरा सलोन बस्नेत प्रत्यक्ष अप्रत्यक्ष किसिमले राजेश हमालको महानायकत्वको विषयलाई लिएर विभिन्न टिकाटिप्पणीमा उत्रिए । जसले गर्दा पुनः एकपटक नेपाली चलचित्र जगत महानायक विवादले तातेको छ ।

यसैबीच सोभित बस्नेतको निर्देशन र सलोन बस्नेत, भुवन केसी, शिव श्रेष्ठ सहितको अभिनय रहेको चलचित्र ‘डाँडाको बरपिपल’ रिलिज हुने क्रममा छ । बुढासुब्वा डिजिटलको प्रस्तुतिमा निर्माण भएको चलचित्रको ट्रेलरसँगै गीतहरू युट्युबमार्फत सार्वजनिक भइरहेका छन् ।

तर महानायक विवाद ‘डाँडाको बरपिपल’लाई दाँतमा ढुङ्गा लागेझैँ भइरहेको छ । एकहप्ता अघि बुढासुब्बा डिजिटलको युट्युब च्यानलमा आएको ट्रेलरले लाइकभन्दा डिसलाइक बढी पाएको छ ।

केवल ९५ हजार भ्युज बटुलेको यो भिडिओमा लाइक ४५०० हुँदा डिसलाइकले त्यसलाई उछिनेको छ । त्यस अघि नै अर्थात सेप्टेम्बर १९ मा युट्युवमा रिलिज भएको ‘डाँडाको बरपिपल’ मा त झन् १० हजार लाइक हुँदा डिसलाइकको सङ्ख्या १६ हजार नाघिसकेको छ ।

तर गीतको भ्युज भने दुई लाख ५७ हजार मात्रै छ । चलचित्रसम्बन्धी भिडिओमा आएका कमेन्ट समेत अधिकांश महानायक विवादको विषयमै केन्द्रित छन् । जसमा भुवन केसी, शोभित बस्नेत र सलोन बस्नेतकै आलोचना गरिएको छ । यसबाट महानायक विवादकै कारण चलचित्र समेत फ्लप हुने चिन्ता निर्मातालाई परेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१