सुबिसुलाई ६१ करोड क्षतिपूर्ति दिनुपर्ने मध्यस्थकर्ताको निर्णय विरुद्ध पुनरावेदनमा प्राधिकरण

nta versus subisu

काठमाडौं । सुबिसु केबलनेट लिमिटेडलाई ६१ करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने मध्यस्थकर्ताको निर्णयको विरुद्ध नेपाल दूरसञ्चार प्राधिकरण पुनरावेदनमा गएको छ । प्राधिकरणले बुधबार उच्च अदालत पाटनमा निवेदन दायर गरेको हो ।

यसअघि मध्यस्थकर्ताले प्राधिकरणको कमजोरी देखाउँदै सुबिसुलाई करिब ६१ करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेको थियो । मध्यस्थकर्ताले कानूनी तथ्याङ्क तथा प्राधिकरणले उपलब्ध गराएको तथ्यमा समेत कुनै ख्याल नगरी निर्णय लिएको भन्दै प्राधिकरणले मुद्दा दायर गरेको प्राधिकरणका उप निर्देशक रेवति पन्तले जानकारी दिए । 

यस्तो छ विवादको विषय 

प्राधिकरणले प्रदेश २ मा प्याकेज ‘ए’ अन्तर्गत सिराहा, सप्तरी, धनुषा र महोत्तरीमा अप्टिकल फाइबर ब्रोडब्यान्ड नेटवर्क निर्माण तथा इन्टरनेट सेवा विस्तार गर्न अनुमानित ८५ करोड रुपैयाँ लागत हुनेगरि टेन्डर आह्वान गरेको थियो । जसमा सुबिसुले ४१ करोड ९३ लाख, तीन हजार ६५० रुपैयाँमा परियोजना सम्पन्न गर्ने प्रस्ताव गर्‍यो ।

त्यसमा पनि २५ प्रतिशत छुट दिएर ३१ करोड ४४ लाख ७७ हजार ७३७ रुपैयाँमा उक्त कार्य सम्पन्न गर्ने उल्लेख गरेको थियो । साथै सोही परियोजना अन्तर्गत प्रत्येक घरधुरीमा इन्टरनेट जोड्न प्रति घरधुरी ६४०० रुपैयाँ प्रस्ताव गरेकोमा त्यसमा पनि २५ प्रतिशत छुट सहित ४८०० रुपैयाँमा सम्पन्न गर्ने प्रस्ताव गरेको थियो ।

सुबिसुको उक्त प्रस्ताव सबैभन्दा न्यूनतम देखिएपछि प्राधिकरणले सोही आधारमा सुबिसुसँग ठेक्का सम्झौता गरेको थियो । त्यस्तै बारा, पर्सा, रौतहट र सर्लाहीमा फाइबर नेटवर्क विस्तार गर्न अनुमानित ८२ करोड रुपैयाँ लागतको अर्को परियोजना अर्थात प्याकेज ‘बी’ ४० करोड ४७ लाख ३२ हजार ३५० रुपैयाँमा सम्पन्न गर्ने प्रस्ताव सुबिसुले गरेको थियो ।

त्यसमा पनि पाँच प्रतिशत छुट दिएर ३८ करोड ४४ लाख ९५ हजार ७३२ रुपैयाँमा उक्त कार्य सम्पन्न गर्ने र प्रत्येक घर धुरीमा ६०८ रुपैयाँमा इन्टरनेट जोडन गर्ने प्रस्ताव थियो । न्यूनतम बोलकबोल भएका कारण कम्पनीको उक्त प्रस्ताव समेत प्राधिकरणबाट स्वीकृत भएपछि अर्को ठेक्का सम्झौता भएको थियो ।

दुवै परियोजना एक वर्षभित्र सम्पन्न गर्नुपर्नेमा भीषण हावाहुरी र वर्षाका कारण तीन महिनासम्म निर्माण कार्य सुरु हुन नसकेको र कोभिड १९ लगायतको परिस्थितिका कारण समयभित्रै सम्झौताअनुसार कार्य सम्पन्न गर्न नसकिएको सुबिसुको जिकिर थियो ।  त्यसपछि २०७७ जेठ २ गते कम्पनीले सम्झौताको अवधि थप गरिदिन माग गर्दै प्राधिकरणमा निवेदन दियो ।

तर प्राधिकरण भने म्याद थप गर्न तयार भएन । ओएनटी जडान गर्ने कार्य सम्पन्न भइसक्दा समेत त्यसमा लागेको अतिरिक्त खर्चका साथै प्रत्येक प्वाइन्ट वापतको न्यूनतम रकम समेत प्राधिकरणले नदिएको र ओएनटीको कार्य न्यून रुपमा भएकोले अनुदान वापतको रकम दिन समेत प्राधिकरणले इन्कार गरेपछि विवाद उत्पन्न भएको बताइएको छ ।

त्यसपछि सुबिसुले आर्बिटेसनमा क्षतिपूर्ति स्वरूप ९२ करोड १८ लाख एक हजार ६८० रुपैयाँ पाउनुपर्ने माग अगाडि सार्‍यो । जसमा ओएनटी जडानको ११ करोड १९ लाख १२ हजार रुपैयाँ र इन्टरनेट प्वाइन्टका लागि ओएनटी जडानको म्याद थप नहुँदा नोक्सानी व्यहोर्नु परेको भन्दै क्षतिपूर्ति स्वरुप ३१ करोड ८६ लाख ८५ हजार रुपैयाँ दाबी गरिएको थियो ।

त्यस्तै भुक्तानी ढिलाई गर्दा पाँच प्रतिशत ब्याजदरको हिसाबले ५५ लाख ९५ हजार ६०० रुपैयाँ, प्याकेज बी अन्तर्गत ओएनयूको १७ करोड ६२ लाख ८९ हजार ६०० रुपैयाँ, इन्टरनेट प्वाइन्टका लागि ओएनयू जडान नहुँदा ब्यहोर्नुपरेको नोक्सानीको क्षतिपूर्ति बापत २९ करोड ९० लाख पाँच हजार रुपैयाँ पाउनुपर्ने माग सुबिसुको थियो । त्यस बाहेक भुक्तानी ढिलाई गरेवापत व्याज स्वरुप ८८ लाख १४ हजार ४८० रुपैयाँ र कानूनी उपचारको १५ लाख रुपैयाँ समेत कम्पनीले दाबी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team