close

सामाजिक सञ्जालसँग त्रसित हुँदै मनोज गजुरेलले सार्वजनिक गरे आफ्नो विवाहको जानकारी

टेकपाना टेकपाना

असोज २५, २०७८ १२:४९

सामाजिक सञ्जालसँग त्रसित हुँदै मनोज गजुरेलले सार्वजनिक गरे आफ्नो विवाहको जानकारी

काठमाडौं । हास्यकलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिएका छन् । चार वर्षअघि सम्बन्ध विच्छेद गरेका उनले नेपाल सरकारको न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमबार बिबाह गरेका हुन् ।

आफ्नो विवाहको जानकारी सामाजिक सञ्जालबाट गराउँदै उनले त्यसप्रतिको आफ्नो त्रसित भाव समेत व्यक्त गरेका छन् । ‘काल्पनिक समाचार नलेखिदिनुहोला । मञ्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला,’ उनले बिन्ती बिसाउँदै आग्रह गरेका छन्, ‘हाम्रा सन्तानको सुख र शान्तिका लागि परपीडक ट्रोल र भिडिओ नबनाइदिनुहोला ।’

कसैको निजी जीवनको बारेमा कपोकल्पित समाचार बनाउने, असम्बन्धित मान्छेसँग नाम जोड्ने, आफ्नो विगतको जीवन, वर्तमानको विवाह तथा भविष्यको योजनाबारे अनुमानकारिता नगरिदिन समेत उनले अनुरोध गरेका छन् । ‘त्यसैगरी हाम्रो नितान्त व्यक्तिगत मामिलाका बारेमा अनावश्यक सामग्री बनाउने कानूनी, व्यवहारिक र सामाजिक अनुमति कसैलाई नभएको कुरा पनि जोडदार रुपमा जाहेर गर्दछु,’ हास्यकलाकार गजुरेलले भनेका छन् ।

विगतका अराजक अन्तर्वार्ता, असामाजिक क्रियाकलाप तथा अभद्र व्यवहारका कारण आफू र आफ्ना छोराछोरीले ठूलो आघातबाट गुज्रिनुपरेको स्मरण समेत उनले खुलाएका छन् ।

‘त्यस्ता क्रियाकलापलाई स्थान दिने, उचाल्ने र गिजोल्ने युट्युब, अनलाइन समाचार, टिकटक लगायतका प्रयोगकर्तालाई पनि भद्र सुझाव छ -कृपया एउटा जिम्मेवार अभिभावक भएर बोल्ने र लेख्ने गर्नुहोला,’ उनले अगाडि भनेका छन्, ‘सामाजिक सञ्जालको चरम दुरुपयोगले आफू र आफ्नो सन्तानलाई पार्नसक्ने गम्भिर असरलाई पनि महसुस गर्नुहोला ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१