close

किशोरकिशोरीले केही समय इन्स्टाग्राम नचलाउन् भन्ने चाहन्छ फेसबुक

टेकपाना टेकपाना

असोज २५, २०७८ १६:२१

किशोरकिशोरीले केही समय इन्स्टाग्राम नचलाउन् भन्ने चाहन्छ फेसबुक

काठमाडौं । किशोरकिशोरीलाई हानिकारक सामग्री नदेखाउन र आफ्नो प्लेटफर्मबाट केही समय टाढा रहन सघाउने उद्देश्यका साथ इन्स्टाग्रामले नयाँ टुल प्रयोगमा ल्याउने भएको छ । फेसबुकका विश्वव्यापी मामिलाका उपाध्यक्ष निक क्लेजले आइतबार इन्स्टाग्राममा नयाँ टुल थप्ने घोषणा गरेका हुन् ।

इन्स्टाग्रामले युवाहरूको मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्ने आन्तरिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएपछि इन्स्टाग्रामको चर्को आलोचना भइरहेको छ ।

‘हामी यस्तो नयाँ फिचर ल्याउँछौँ, जसले किशोरकिशोरीहरूले एउटै सामग्री बारम्बार हेरिरहेका छन् कि छैनन् भनेर पहिचान गर्न सक्छ,’ सीएनएनको एक कार्यक्रममा बोल्दै फेसबुकका उपाध्यक्षले भनेका छन्, ‘यदि त्यस्ता सामग्री उनीहरूको मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्ने खालका छन् भने हामी अन्य सामग्री हेर्नको लागि उनीहरूलाई प्रोत्साहित गर्ने छौँ ।’

इन्स्टाग्रामले ‘टेक अ ब्रेक’ नामक नयाँ फिचर पनि सुरु गर्न लागेको र यो फिचरले किशोरकिशोरीहरूलाई केही समय इन्स्टाग्राम नचलाउन प्रोत्साहित गर्ने उनले बताए । क्लेजले आफ्नो अभिव्यक्तिमा यो फिचर कहिलेबाट सुरु हुन्छ भन्ने खुलाएका त छैनन् ।

तर, फेसबुक र इन्स्टाग्राम स्रोतलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार यो फिचरको परीक्षण सुरु भइसकेको छैन । तर, चाँडै यो फिचर लागू गर्ने कम्पनीको तयारी छ ।

फेसबुककी पूर्व कर्मचारी हुगेनले सार्वजनिक गरेको आन्तरिक कागजातका आधारमा अमेरिकी सञ्चार संस्था वाल स्ट्रिट जर्नलले विभिन्न समाचार प्रकाशित गरेपछि केही सातायता फेसबुकको तीव्र आलोचना भइरहेको छ । सार्वजनिक भएको आन्तरिक कागजातमा फेसबुकले घृणाजन्य अभिव्यक्तिलाई बढावा दिने र इन्स्टाग्रामले किशोरकिशोरीको मानसिक स्वास्थ्यमा नकारात्मक असर पारिरहेको भए पनि त्यसमा कम्पनीले ध्यान नदिएको आरोप लगाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१