close

उच्छृङ्खल बन्दै गएपछि युट्युबरलाई नियन्त्रण गर्ने प्रयासमा प्रेस काउन्सिल

टेकपाना टेकपाना

असोज २५, २०७८ १८:५

उच्छृङ्खल बन्दै गएपछि युट्युबरलाई नियन्त्रण गर्ने प्रयासमा प्रेस काउन्सिल

काठमाडौं । प्रेस काउन्सिल नेपालले अनधिकृत तवरले सञ्चालनमा आएका अनलाइन न्युजपोर्टल, युट्युबलगायतलाई दर्ता गर्न निर्देशन दिएको छ । सोमबार विज्ञप्ति जारी गरी काउन्सिलले अनलाइन र युट्युबका सामग्रीप्रति गुनोसा बढ्दै गएको भन्दै दर्ता बिना सञ्चालित न्युजपोर्टल र युट्युब च्यानललाई कानुनी दायरामा आउन आग्रह गरेको हो ।

काउन्सिलले गत जेठको दोस्रो साता यता ७८ वटा त्यस्ता न्युजपोर्टल तथा युट्युब च्यानललाई दर्ता प्रक्रियामा आउन पत्राचार गर्दै कानुनी दायरामा आउन र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराएको थियो । ती मध्य ९ वटा न्युजपोर्टलले कानुनी प्रक्रिया पूरा गरिसकेका छन् ।

काउन्सिलले विज्ञप्तिमा आव ०७८/०७९ को पहिलो ३ महिनामा ६८ वटा उजुरी दर्ता भएको जनाएको छ । यसमा साउन र भदौ महिनामा २९/२९ र असोजमा १० वटा उजुरी परेको उल्लेख छ । प्रदेशगत रुपमा हेर्ने हो भने बागमती प्रदेशबाट ५४, गण्डकी प्रदेशबाट ४, लुम्बिनी र प्रदेश नम्बर १ बाट ३/३, प्रदेश नम्बर २ र सुदूरपश्चिम प्रदेशबाट २/२ तथा कर्णाली प्रदेशबाट १ वटा उजुरी परेको छ ।

यस्ता उजुरीमध्ये अनलाइन मिडियाविरुद्ध ५२, छापामाध्यम विरुद्ध ८, टिभीविरुद्ध ३, अनलाइन टिभीविरुद्ध १, युट्युब मिडियाविरुद्ध ३ र अन्य १ रहेका छन् । यसमध्ये २९ वटा उजुरी फछर्यौट भएको छ भने कारबाहीका विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने हुँदा बाँकी (३९) उजुरी फछर्यौटको प्रक्रियामा रहेका जनाइएको छ । 
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१