close

इन्टरनेट ग्राहकलाई यस्ता छन् दशैं अफर

टेकपाना टेकपाना

असोज २६, २०७८ १४:४६

इन्टरनेट ग्राहकलाई यस्ता छन् दशैं अफर

कठमाडौं । दशैं लक्षित गर्दै धेरै विभिन्न कम्पनीहरूले छुट तथा उपहारको योजना सार्वजनिक गरिरहँदा इन्टरनेट सेवा प्रदायक कम्पनी पनि यसबाट पछि रहेनन् । 

आफ्ना पुराना ग्राहक र नयाँ इन्टरनेट जडान गर्ने ग्राहकलाई लक्षित गर्दै विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीले विभिन्न अफर सञ्चालनमा ल्याएका छन् । कुनै सेवा प्रदायकले छुटको घोषणा गरेका छन् भने कसैले विभिन्न उपहार दिने योजना ल्याएका छन् । 

वर्ल्डलिंक 

देशको ठुला इन्टरनेट प्रदायक कम्पनी वर्ल्डलिंकले ‘दशैंको बहार, डबल उपहार’ ल्याएको छ । यो अफरअन्तर्गत कम्पनीले ग्राहकका लागि पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेज घोषणा गरेको छ ।

साथै वार्षिक प्याकेज खरिद गर्दा निःशुल्क जडानसहित करिब २० हजार मूल्य पर्ने सेवा सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ । यसअन्तर्गत ग्राहकले नेट टिभी सब्स्क्रिप्सन, सेटअप बक्स, डुअल ब्यान्ड राउटर, फाइबर केबल, वाई–फाई रोमिङ र नेट टिभी प्राइम सब्स्क्रिप्सन प्राप्त गर्नेछन् ।

कम्पनीले २०, ३०, ४० र ५० एमबीपीएसको इन्टरनेट प्याकेजको मूल्यमा क्रमशः ४०, ६०, ८० र १०० एमबीपीएस गतिको इन्टरनेट दिने भएको हो । अब ग्राहकले मासिक ११ सय रुपैयाँमै ४० एमबीपीएस गतिको इन्टरनेट प्याकेज पाउनेछन् । यसमा एउटा नेट टिभीसमेत निःशुल्क रूपमा उपलब्ध हुनेछ । 

त्यस्तै, कम्पनीले वार्षिक सब्स्क्रिप्सन लिने ग्राहकका लागि मासिक एक हजार दुई सय रुपैयाँमै दुई वटा नेटटिभीसहितको ६० एमबीपीएस इन्टरनेट प्याकेज ल्याएको छ ।

मासिक १४०० रुपैयाँमै दुई वटा नेट टिभीसहित वर्ल्डलिंकको ८० एमबीपीएस इन्टरनेट प्याकेज प्राप्त गर्न सकिनेछ । त्यस्तै ग्राहकले वार्षिक प्याकेज लिँदा मासिक १६०० रुपैयाँमै तीन वटा नेट टिभीसहित वर्ल्डलिंकको १०० एमबीपीएस इन्टरनेट प्याकेज प्राप्त गर्न सक्नेछन् । 

सुबिसु केबल नेट 

इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबल नेट लिमिटेडले दशैँको उपलक्ष्यमा ‘दक्षिणा अफर’ सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकले ५० एमबीपीएस इन्टरनेटको वार्षिक प्याकेज १३ हजार ९९९ रुपैयाँमै प्राप्त गर्न सक्नेछन् । 

५० एमबीपीएस गतिको इन्टरनेट प्याकेजका लागि ग्राहकलाई करसहित मासिक एक हजार एक सय ६७ रुपैयाँ मात्र पर्न आउँछ । साथै ग्राहकहरूले वार्षिक सेवाको भुक्तानी ई-सेवा मार्फत गर्दा थप एक हजार क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसका लागि भुक्तानी गर्दा प्रोमो कोड ‘upahar’ प्रयोग गर्नुपर्नेछ । 

भायानेट 

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले दशैँ अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘बडा दशैँमा बडा स्पिड, बडा टिभी’ नामक अफर ल्याएको छ । यो अफरमा ग्राहकले पुरानै मूल्यमा थप इन्टरनेट स्पिड सहितको प्याकेज प्राप्त गर्न सक्नेछन् ।

भायानेटले यस पटकको अफरका लागि साओमीसँग सहकार्य गरेको छ । जसअन्तर्गत साओमीका एन्ड्रोइड टिभीलाई भायानेटको इन्टरनेट प्याकेजमा बन्डल गरिएको छ । कम्पनीका अनुसार भायानेटको इन्टरनेट प्याकेज खरिद गर्दा दशैँ अफरको रूपमा ग्राहकले साओमीका ३२ इन्च र ५५ इन्च एन्ड्रोइड टिभी खरिदमा २२ प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । त्यस्तै पुरानै मूल्यमा थप स्पिड अन्तर्गत ग्राहकले अब भायाटिभी सहित ४० एमबीपीएस गतिको इन्टरनेट मासिक ११०० रुपैयाँमै प्राप्त गर्न सक्नेछन् ।

यसै गरी, भायाटिभी सहित ६० एमबीपीएसको मासिक शुल्क १२५० रुपैयाँ छ । कम्पनीले ८० एमबीपीएसको इन्टरनेट प्याकेजमा दुई ओटा भायाटिभी र १४० एमबीपीएसको इन्टरनेट प्याकेजमा तीन ओटा भायाटिभी उपलब्ध गराउनेछ । जसमध्ये ८० एमबीपीएस प्याकेजको मूल्य मासिक १४५० रुपैयाँ र १८० एमबीपीएस प्याकेजको मूल्य  मासिक १८०० रुपैयाँ रहेको छ । 

डिसहोम फाइबरनेट

 कम्पनीले इन्टरनेट ग्राहकलाई मासिक ८९९ मा १०० एमबीपीएस इन्टरनेटको साथमा ५ जी ड्युल ब्यान्ड राउटरको प्याकेज उपलब्ध गराउने भएको छ । साथै, डिशहोम फाइबर नेटको नयाँ कनेक्सन लिने चार जना स्पेन घुम्न जान पाउनेछन् भने हरेक नयाँ कलेक्सनमा ग्राहकहरूले २ हजारको ला–लिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्नेछन् । 

यसका साथै टेलिभिजन सेवा प्रदायक डिसहोमले रिचार्ज कार्डमा छुट योजना ल्याएको छ । टिभीको रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यममार्फत डिसहोम रिचार्ज गर्दा कम्पनीले ग्राहकलाई २२०० रुपैयाँसम्म अतिरिक्त बोनस प्रदान गर्ने जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१