close

दशैंमा अनलाइन शपिङको रौनक, विद्युतीय उपकरणमा बढ्यो उपभोक्ताको आकर्षण

टेकपाना टेकपाना

असोज २७, २०७८ २१:३०

दशैंमा अनलाइन शपिङको रौनक, विद्युतीय उपकरणमा बढ्यो उपभोक्ताको आकर्षण

काठमाडौं । पछिल्ला केही वर्षमा विशेषगरी कोरोना महामारीपछि अनलाइन शपिङको अभ्यास बढ्दै गइरहेको छ । एकातिर भिडभाडमा जानुनपर्ने र अर्कोतिर सबै सामान एकै ठाउँमा पाइने अनि भनेकै ठाउँमा सामान आइपुग्ने सुविधाले उपभाेक्ता यसप्रति आकर्षित भएका हुन् ।

बजारमा थुप्रै ई-कर्मस कम्पनीहरू खुलेका छन् । घरदैलोमा चाडबाड भित्रिसकेको छ । दशैं-तिहारलाई लक्षित गर्दै ग्राहकलाई आफूतर्फ आकर्षित गर्न दराज, सस्तोडिल, ग्यापु, स्मार्ट डोको लगायतका कम्पनीहरूले विभिन्न अफरहरू ल्याएका छन् ।

दशैंलाई लक्षित गर्दै ग्यापुले ८० प्रतिशतसम्म छुटको अफर ल्याएको छ । यो छुट विद्युतीय सामग्री, मोबाइल ग्याजेट, कपडालगायतका सम्पूर्ण क्याटेगोरीका सामग्रीहरूमा उपलब्ध छ ।

त्यसैगरी स्मार्टडोकोले दशैंलाई लक्षित गर्दै ‘स्मार्ट दशैं अफर’ ल्याएको छ । यसअन्तर्गत कम्पनीले २० प्रतिशतसम्मको क्यासब्याक अफर दिएको छ ।

त्यस्तै दैनिक १० हजार रुपैयाँसम्मको आकर्षक उपहार, डाइमन्ड ओमेगा १८ लिटरको ओभर टोस्टर ग्रिलर, क्रेन इलेक्ट्रिकल अल्ट्रासोनिक कुल एयर प्युरिफायर, पोको किड्स गिफ्ट भाउचर, बेबी ट्रि गिफ्ट भाउचर, इनर्जाइजर पावर बैंक लगायतका उपहारहरू पनि राखिएको छ ।

त्यसैगरी दराजले पनि निःशुल्क डेलिभरी, अनलाइन प्रि-पेमेन्टमा २० प्रतिशतको छुट, ५००० रुपैयाँसम्मको मेगा भाउचर, ५० हजारको उत्पादन एक रुपैयाँमै जित्ने मौका र बम्पर उपहार लगायतका अफर ल्याएको छ ।

ई-कमर्स कम्पनीहरूले यस्ता धेरै अफरहरू ल्याएका छन् । जसले ग्राहकलाई आफूतिर लोभ्याउने काम पनि गरिरहेका छन् । कम्पनीहरूका अनुसार अनलाइनमा सामान किन्ने ग्राहकहरूको संख्यामा पनि वृद्धि भएको छ ।

ग्यापुका हेड अफ अपरेसन सुरजी केसीका अनुसार दशैंको चहलपहल बढेसँगै अनलाइन अर्डरको माग पनि बढेको छ । विशेषगरी कपडा र घरायसी विद्युतीय सामग्रीहरूको माग बढेको उनले बताइन् ।

‘अरु बेलामा भन्दा अहिले अडर धेरै बढेको छ । सामान्य समयमा भन्दा अहिले ३० देखि ४० प्रतिशतले धेरै अर्डर आइरहेको छ ।  जसमध्ये सबैभन्दा बढी अर्डर विद्युतीय सामग्री रहेको छ,’ उनले भनिन्, ‘कपडासँगै यो वर्ष घरायसी प्रयोगको लागि आवश्यक फ्रिज, ओभन, मिक्सचर, भ्याकुम क्लिनर लगायतका सामग्रीहरूको बिक्री बढेको छ ।’ 

अर्डर मात्र होइन, क्यास भ्यालु पनि बढेको उनले बताइन् । सामान्य अवस्थामा औषत करिब एक हजार रुपैयाँदेखि १५ सय रुपैयाँसम्मको अर्डर आउने गरेकोमा अहिले कम्तिमा औषत तीन हजार रुपैयाँदेखि चार हजार रुपैँयाँसम्मको अर्डर आउने गरेको उनको भनाइ छ ।

कम्पनीले दिएका विभिन्न अफरका कारणले पनि अर्डर संख्या बढेकाे उनको बुझाइ छ ।

त्यस्तै स्मार्टडोकोकी रिटेल डिरेक्टर जेनिसा मोक्तानले पनि यसपाली विद्युतीय सामग्रीहरूको माग बढेको बताइन् ।

‘गत वर्षको तुलनामा हेर्ने हो भने अनलाइन शपिङ गर्नेहरूको सँख्या पक्कै पनि बढ्दै गइरहेको छ । यद्यपि कस्तो सामग्री खरिद गर्छन् भन्ने कुरा महत्त्वपुर्ण हो,’ उनले थपिन्, ‘अझै पनि धेरै मान्छेहरू कपडाहरू किन्नको लागि पसलमै जान रुचाउँछन् । जबकि खानेकुरा र विद्युतीय सामाग्रीको लागि ग्राहकरहरू अनलाइनमा अभ्यस्त भइसकेका छन् ।’

अनलाइनबाट बिक्री भएका सामग्रीमध्ये सबैभन्दा बढी कुलर, टोस्टर, ओभन लगायतका सामग्रीहरू रहेको उनले बताइन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१