close

टेलिभिजन र स्मार्टफोनमा ‘स्क्रिन बर्न-ईन’ के हो र कसरी समाधान गर्ने ?

टेकपाना टेकपाना

असोज २८, २०७८ १९:४७

टेलिभिजन र स्मार्टफोनमा ‘स्क्रिन बर्न-ईन’ के हो र कसरी समाधान गर्ने ?

काठमाडौं । हामीले कहिलेकाहिँ टिभी हेर्दा वा मोबाइलको स्क्रिनको बीच-बीचमा कालो धर्काहरू झिमिक झिमिक भएको वा कुनै वस्तुको छाँया दाग बसेको जस्तो देखेकै हौंला । सामान्य भाषामा भन्दा झ्यारझ्यार आएको ।

के तपाईंले कहिले सोच्नुभएको छ, हामीले बुझ्ने भाषामा स्क्रिन झ्यारझ्यार अथवा प्राविधिक भाषामा भन्नुपर्दा ‘स्क्रिन बर्न-ईन’ भनेको के हो र यो कसरी हुन्छ ?

यो समस्या कुनै पनि स्क्रिनमा हुनसक्छ । एप्पलले ओएलईडी स्क्रिन प्रयोग भएको आईफोनमा ओएलईडी बर्न-ईन कम गराउने गरी निर्माण गरिएको दाबी गरेकाे छ ।

गुगल पिक्सेल फोनको सपोर्ट पेजमा उल्लेख भए अनुसार मोबाइलको स्क्रिनमा एउटै इमेज लामो समयसम्म हाई ब्राइटनेसमा राखिरह्यो भने बर्न-ईनको समस्या आउँछ ।

टिभीको विषयमा भने एलजीले बर्न-इनको समस्या एकदमै थोरै उपभोक्ताले मात्र बेहोर्नुपरेको बताएकाे छ । यो समस्या एलसीडीभन्दा धेरैजसो एलईडी स्क्रिनहरूमा देखिन्छ ।

त्यसैले बर्न-इन समस्याबाट बच्नका लागि एलसीडी डिस्प्ले खरिद गर्नु उपयुक्त हुनसक्छ । यद्यपि एलईडी र एलसीडी डिस्प्लेबाट माथि उठ्दै बजारमा अहिले ‘ओएलईडी’ डिस्प्लेको चर्चा छ ।

आजभोलि धेरैजसो मोबाइल र टिभीमा ओएलईडी डिस्प्लेको प्रयोग भएको हुन्छ । धेरै जनाको प्रश्न यो पनि छ कि के यो समस्या ओएलईडी डिस्प्लेमा पनि हुनसक्छ ?

निर्माणकर्ताहरूले सबैभन्दा उत्कृष्ट र बलियो मानेको ओएलईडी स्क्रिनमा समेत यो समस्या हुन सक्छ । हुन त धेरैजसो उपभोक्ताहरूले यो समस्या नभोगेको पनि हुनसक्छ ।

किनभने सामान्य रुपमा एउटै इमेज लामो समयमा स्क्रिनमा हेरिरह्यो भने यो समस्या आउन सक्छ । जस्तो कि टिभीमा एउटै च्यानल लामो समयसम्म हेर्यो भने यो समस्या आउन सक्छ । तर तपाईं आफ्नो टिभी अथवा फोनमा फरकफरक सामग्री हेर्नुहुन्छ भने यो समस्या कम हुनसक्छ । अथवा ओएलईडी  स्क्रिनमा यो समस्या कम हुनसक्छ । 

ओएलईडी स्क्रिनमा बर्न-ईनको समस्याबाट कसरी बच्ने? 

माथि उल्लेख गरिए जस्तै सबैभन्दा राम्रो उपाय भनेको आफूले स्क्रिनमा हेर्ने सामग्री एकैखाले हेर्ने । उदाहरणका लागि लामो समयसम्म एउटै च्यानल हेर्दा त्यसमा आउने सामग्री फरक-फरक भए पनि च्यानलमा हुने लोगो वा त्यसमा आइरहने डिस्प्ले विज्ञापन चल्दैन ।

अर्थात यदि तपाईंले एनटिभी च्यानल लगाएर लामो समय सम्म छोडिदिनु भयो भने तपाईंको टिभीमा बर्न-ईनको समस्या आउन सक्छ । यसको अर्थ यो होइन कि तपाईं आफूलाई मनपर्ने च्यानल लामो समयसम्म हेर्नु हुन्न तर यो हो कि आफूलाई मनपर्ने च्यानल हरेक दिन दिनभरी आठ देखि १० घण्टा एउटै हेर्नुहुँदैन । 

इमेज रिटेन्सन र बर्न-ईनमा के फरक छ ? 

धेरैजसो मानिस इमेज रिटेन्सन र बर्न-ईनमा झुक्किने गर्छन् । सुन्दा यी दुवै एकैजस्तो लागे पनि वास्तवमा यी फरक हुन् । सामान्य भाषामा बुझ्नुपर्दा इमेज रिटेन्सन विस्तारै आफैं ठीक हुँदै जान्छ भने बर्न-ईन सधैंभरका लागि रहिरहन्छ ।

यदि तपाईंले कुनै अचल तस्वीर लामो समयसम्म हेर्नुभयो र त्यसपछि अरु कुनै हेर्नुभयो भने तपाईंको स्क्रिनमा केही समयसम्म सो तस्वीरको प्रतिबिम्ब रहिरहन्छ । केही समयपछि यो आफैं हराएर जान्छ ।

तर तपाईंको स्क्रिनमा बर्न-ईनको समस्या भयो भने चाँहि त्यो रहिरहन्छ । जस्तो कि यदि तपाईंल‍े लामो समयसम्म एउटै च्यानल हेरिरहनु भयो र लामो समयपछि च्यानल परिवर्तन गर्नुभयो भने तपाईंको स्क्रिनमा सो च्यानलको लोगोको छायाँ स्क्रिनमा नै रहिरहन सक्छ । सो छायाँ अथवा प्रतिबिम्ब नजान पनि सक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२