close

प्रविधिसँगै यादगार र उल्लासमय दशैं

टेकपाना टेकपाना

असोज २९, २०७८ १७:३१

प्रविधिसँगै यादगार र उल्लासमय दशैं

नेपालीहरुको महान चाड बडा दशैंअन्तर्गत आज विजयादशमी टीकाको दिन । असत्यमाथि सत्यको विजयका रुपमा यस चाड मनाउने गरिन्छ ।

आफूभन्दा ठूला मान्यजनबाट टीका ग्रहण गरी आशिर्वाद प्राप्त गर्ने प्रचलन टीकाकाे दिन रहेको छ । दशैं मनाउनका लागि विदेशमा रहेका नेपालीहरु पनि आ-आफ्नो घर फर्कन प्रचलन रही आएको छ ।

गत वर्ष काेभिड महामारीका कारण घरबाट टाढा रहेका धेरैले आफन्तसँगै भएर दशैं मनाउन पाएनन् ।

सरकारले यसपटक पनि स्वास्थ्य मापदण्ड पालना गरी चाडबाड बनाउन आग्रह गरेको छ । तर ठूलो संख्यामा नेपालीहरू अझै घरबाहिर छन् ।

यस्तो अवस्थामा सूचना प्रविधि नै एक मात्र समाधान साबित भएको छ, जसले टाढा-टाढा रहेका आफन्तलाई जोड्ने काम गरेको छ ।

विदेशमा रहेका लाखाैं नेपालीहरू आजका दिन आफन्तसँग जोडिन फेसबुक, भाइबर, ह्वाट्सएप, इमाे जस्ता सामाजिक सञ्जाल प्रयाेग गरिरहेका छन् । यसपाली नेपालमै रहेका धेरै व्यक्तिहरू पनि आफ्नाे घर जान पाएका छैनन् । उनीहरूका लागि प्रविधि नै सहारा बनेकाे छ ।

यसपटक भिडियो कल वा फोनबाटै दशैंमा आशिर्वाद लिन र दिन प्रविधिले साथ दिएको छ । परिवारमै रहेका सदस्यहरु पनि अन्य आफन्तकहाँ जान जोखिम रहेकाले प्रविधिकै सहारा लिइरहेका छन् ।

यति मात्रै होइन यसपाली दक्षिणाको रुपमा सिधै नोट नदिई बैंकको एप र वालेटबाट रकम ट्रान्सफर गर्ने नौलो शैली भित्रिएको छ । डिजिटल दक्षिण दिँदा बैंकहरुले उल्टै क्यासब्याक अफर समेत ल्याएका छन् ।

दशैंको रौनक सुरु भएसँगै सामाजिक सञ्जाल, फोन, म्यासेजमार्फत आफन्त साथीभाइलाई शुभकामना बाँड्ने प्रचलन स्थापित भइसकेको छ ।

साथै दशैंको मिठा, यादगार पलहरु क्यामेरामा कैद गरी सामाजिक सञ्जालहरू फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युवलगायतबाट आफन्त साथीभाइलाई शेयर गर्न अहिले निकै सजिलो भएको छ ।

यसरी हाम्रा पर्व र उत्सवलाई थप भव्य र यादगार बनाउन प्रविधिले प्रत्यक्ष भूमिका खेल्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२