close

सफ्टवेयरले फोटोग्राफीको भविष्य बिगार्दै छ कि बनाउँदै छ ?

टेकपाना टेकपाना

असोज ३०, २०७८ १८:८

सफ्टवेयरले फोटोग्राफीको भविष्य बिगार्दै छ कि बनाउँदै छ ?

फोटोशपमा नयाँ फिचर आउने क्रम जारी छ । यसअन्तर्गत आकाशलाई हटाउनेदेखि मानिसको अनुहारको भावभंगी परिवर्तन गर्नसक्ने सम्मका क्षमता फोटोशपमा आइसकेको छ ।

यस्ता फिचर अन्य केही सफ्टवेयर प्लेटफर्मले पनि प्रदान गर्दै आइरहेका छन् । कतै यस्ता फिचरहरुले सिर्जनात्मकतालाई अवरोध पुर्‍याउन र फोटोग्राफीको भविष्यलाई नै त डुबाउँदैन ?

तपाईं सामान्य फोटोलाई सुन्दर बनाउन सफ्टवेयर र डिजिटल आर्ट छन् भने पक्कै पनि त्यसलाई प्रयोग गर्नुहुन्छ । यदि तपाईंको मस्तिष्कभित्रको कल्पनामा बनेको कुनै तस्वीरलाई आकर्षक ढंगले बनाउन सक्ने टूल्सहरु तपाईंको हातमा छ भने त्यसको प्रयोग किन नगर्ने र ?

चाहे त्यो फोटोशप होस्, ल्युमिनार, क्याप्चर वान वा अरु कुनै एप होस्, यी एपहरुलाई प्रयोग नगर्नु भनेको हाम्रै मुर्खता हो । तर वास्तवमा त्यो एउटा डिजिटल आर्ट मात्रै हो, फोटोग्राफी होइन । 

हामी कुनै पनि तस्वीरको आकार वा स्वरुपमा सिर्जनात्मक प्रयोजनका लागि प्रयोग गरिने सफ्टवेयरको विरुद्धमा भने हुन सक्दैनौं । किनकि हामी प्राय यस्ता सफ्टवेयर प्रयोग गरिरहेका छौं । तर यसले परम्परागत फोटोग्राफी जसरी मान्यता प्रदान गर्न सक्दैन । यो एउटा तस्वीर छेडछाड गर्ने सफ्टवेयर हो । 

तर फोटोशपको अहिलेको नयाँ अपडेट फरक छ । तपाईंलाई थाहा छ एडोबीले हालै ल्याएका अपडेटमा एआई पनि समावेश गरिएको छ । यसले आकाशलाई हटाउनदेखि फेसियल रिकग्निसनलाई पनि सम्पादन गर्नसक्छ ।

आकाश हटाउन सकिने फिचर नयाँ होइन । यो ल्युमिनार जस्ता अन्य सफ्टवेयर प्लेटफर्ममा समेत उपलब्ध छ । तर जब एडोबीले यो फिचर रिलिज गर्‍यो, तब यसको एड्भान्स स्काई रिप्लेसमेन्ट टुल अब धेरैका लागि पहुँचयोग्य हुने भयो । 

यस्ता टुल चलाउन अभ्यस्तहरुको पोस्ट प्रोडक्सन क्षमतालाई यसले बढाउनेमा म ढुक्क छु तर एडोबले जादुको जिनलाई बोतल बाहिर ल्याएको छ । 

यस्तै अर्को फोटोशपको नयाँ अपडेट फेसियल रिकग्निसन र फेस इडिट गर्न सक्ने क्षमता हो । यो नयाँ अपडेटमा तपाईंले विभिन्न किसिमका स्लाइडरहरु पाउन सक्नुहुन्छ । जसले तपाईको सब्जेक्टको अनुहारमा हाँसो, खुशी, आश्चर्य ल्याइदिन सक्छ ।

साथै अनुहारबाट चश्मा हटाउन तथा अनुहारको लाइटिङ, डिरेक्सन हिटिङ समेत परिवर्तन गरिदिन सक्छ ।

तपाईं के सोच्नुहुन्छ मलाई थाहा भएन । तर पहिलोपटक यो देख्दा म निकै त्रसित भएको थिएँ । किनभने  म उत्कृष्ट पोट्रेट फोटोग्राफर तिनैलाई मान्छु जसले क्यामेराअघि आफ्नो सब्जेक्टलाई सहज महसुस गराएर स्वतन्त्र रुपमा उनीहरुको भावभंगी अभिव्यक्त गर्ने वातावरण बनाएर उत्कृष्ट तस्वीर निकाल्न सक्छन् । 

तपाईंको सब्जेक्टको अनुहारमा हाँसो र एकाएक प्राकृतिक अभिव्यक्ति ल्याउन सक्नु भनेको पोट्रेट फोटोग्राफीको वास्तविक सीप हो । जसलाई सिक्न र विकास गर्न वर्षौं वर्षको अभ्यास र मेहेनत आवश्यकता पर्दछ ।

यही त्यो एउटा कुरा हो जसले पोट्रेट फोटोग्राफर, वेडिङ फोटोग्राफर तथा इन्टरभ्युअरहरुलाई छुट्याउन सक्छ । कुनै पनि सब्जेक्टमाथि क्यामेरा तेर्साएर एउटा सार्प र राम्रो तस्विर निकाल्न त जसले पनि सक्छ ।

तर तपाईंको सब्जेक्टबाट उसको पात्रता र जीवनलाई बाहिर ल्याउन सक्नु भनेको नै वास्तविक कला हो । जसलाई तपाईले कल्पनाले कोरेर तयार गर्न सक्नुहुँदैन । 

तर यस्ता सफ्टवेयरले कुनै पनि सब्जेक्टको अनुहारमा त्यस्तै वा अझ त्योभन्दा कायल बनाउने किसिमका भावाव्यक्ति कोरेर सन्तुष्ट बनाउने बाटोतिर लिएर गइरहेको छ । 

अहिले विश्वका धेरै फोटोग्राफरहरु खुशी होलान् । किनभने उनीहरुले हसाउन नसकेको रुन्चे बच्चो अब खुलेर हाँसेको प्रस्तुत गर्न सक्छन् ।

तर वास्तविक खुशी त एउटा फोटोग्राफरले तब पाउन सक्छ, जब उसले आफ्नो सब्जेक्टको मुहारमा हाँसो फुराउन सक्छ र मानिसहरु उसँग काम गर्न रुचाउँछन् । 

लेटेस्ट अपडेट प्रयोग गर्ने ब्याचहरुले अब एउटा सामान्य स्लाइडलाई अगाडि पछाडि सारेर सब्जेक्टको दु:ख, सुख, खुशी, पीडाको मुद्रालाई निर्धारण गर्न सक्छन् ।

अबको पाँचदेखि दश वर्षभित्रमा यो सम्भावित पनि हुनेछ । हामीले चाहेजस्तो भाव आँखा चिम्लेको गतिमा पात्रको अनुहारमा ल्याउन सक्छौं । यसले ठूला ठूला पोट्रेट फोटोग्राफरहरुको वर्षौंको साधना र कलालाई सधैका लागि असान्दर्भिक बनाउनेछ ।  

हामीले कुनै पनि क्षेत्रमा स्थापित भएर अग्रस्थानमा पुगेका व्यक्तिहरुको सम्मान गर्ने एउटा कारण छ । किनभने उनीहरुमा यस्तो बरदान हुन्छ । आफ्नो कलालाई निखारेर बाँकी विश्वभन्दा भिन्न बन्न उनीहरुले हजारौं हजार घण्टा लगानी गरेका हुन्छन् ।

हामी हाम्रो मन पर्ने संगीतकार, खेलाडी र कलाकारको कलालाई सधै तारिफ गर्छौं । त्यो हामीले गर्न पनि पर्छ । किनभने उनीहरु उत्कृष्टमध्येका उत्कृष्ट हुन् ।

तर सिकारु र सिद्धहस्तबीचको यो फरकलाई मेटाइदिने कम्प्युटर प्रोग्रामका तथा आधुनिक फोटोग्राफी सफ्टवेयरले हाम्रा सिद्धहस्त फोटोग्राफरहरुलाई भीडमा हराउन बाध्य बनाएको छ । 

(एफ स्टोपर्सबाट आइन स्ट्यान्लेको ब्लग)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२