close

क्लबहाउससँग किन डराउँदैछन् ठूला सामाजिक सञ्जाल ?

टेकपाना टेकपाना

कात्तिक १, २०७८ ८:९

क्लबहाउससँग किन डराउँदैछन् ठूला सामाजिक सञ्जाल ?

काठमाडौं । क्लबहाउसको उदय भएको धेरै समय भएको छैन । तर, यसको लोकप्रियताले ठूला सामाजिक सञ्जाल कम्पनी डराएको जस्तो देखिन्छ ।

फेसबुकसहित ट्वीटरजस्ता ठूला सामाजिक सञ्जाल कम्पनीले धमाधम क्लबहाउसको फिचर कपी गरिरहनुले पनि क्लबहाउसको लोकप्रियताबाट अन्य सामाजिक सञ्जालले चुनौती अनुभूत गरिरहेको आभाष मिल्छ ।

क्लबहाउस सुरु भएको एक वर्ष मात्रै भएको छ । सुरुमा यो एप प्रयोग गर्न प्रयोगकर्ताले अरुलाई निमन्त्रणा दिनुपर्ने व्यवस्था थियो । सुरुवाती समयमै यो यति लोकप्रिय बन्यो कि, क्लबहाउस प्रयोग गर्न निमन्त्रणा दिने कोड ईकमर्श साइट ईबेमा चार सय डलरमा बिक्री भएको थियो ।

आईओएस र एन्ड्रोइड डिभाइसमा उपलब्ध सोसल अडियो एप क्लबहाउसले पछिल्लो समय यस्ता फिचर थपिरहेको छ, जुन अहिले उपलब्ध चल्तीका सामाजिक सञ्जालसँग मिल्दोजुल्दो छन् ।

सुरुमा अडियो संवाद मात्रै गर्न मिल्ने क्लबहाउसमा अहिले व्यक्तिगत रुपमा च्याट गर्ने, छलफल रेकर्ड र डाउनलोड गर्न मिल्ने सुविधा थपिएको छ । अहिले पनि क्लबहाउसको साप्ताहिक रुपमा सक्रिय प्रयोगकर्ताको संख्या २० लाख हाराहारीमा छन् ।

तर, यसको डाउनलोड भने दुई करोड भन्दा बढी छ । प्रयोगकर्ताको संख्या थोरै देखिए पनि क्लबहाउसका प्रयोगकर्ताले एपमा बिताउने समय भने अत्याधिक छ । 

विभिन्न अध्ययनका अनुसार एक प्रयोगकर्ताले हरेक हप्ता औसत रुपमा ११ देखि १२ घण्टा क्लबहाउसमा बिताउँछन् । क्लबहाउसमा सामान्य प्रयोगकर्ताहरु मात्रै ठूला सेलिब्रेटीहरु पनि आफ्नो रुममार्फत आफ्ना फ्यानहरुसँग संवाद गरिरहेका हुन्छन् ।

जम्मा ९ जना कर्मचारीबाट सुरु भएको क्लबहाउसमा एक अर्ब डलरभन्दा बढी लगानीको प्रस्ताव आइसकेको छ ।

स्थापनाको छोटो अवधिमै लोकप्रियता कमाएको क्लबहाउससँग अन्य सामाजिक सञ्जाल त्रसित देखिएको संकेतहरु पनि देखिन्छ । क्लबहाउसको लोकप्रियतातर्फ लाग्दै गर्दा ट्विीटरले आफ्नो एपमा स्पेश नामक फिचर सार्वजनिक गर्यो ।

स्पेशको फिचर क्लबहाउसको जस्तै छ । यसमा क्लबहाउसमा जस्तै कोही प्रयोगकर्ताले स्पेश होस्ट गर्न सक्छन् । अडियोमार्फत संवाद गर्न सक्छन् । ट्विीटर यो भन्दा पनि एक कदम अघि बढेर अर्को फिचर पनि सुरु गर्न लागिसकेको छ ।

टिकेटेड स्पेश नाम दिइएको यो फिचर सुरुमा ठूला सेलिब्रेटीको लागि उपलब्ध हुनेछ । जसले टिकट किन्नेलाई मात्रै प्रवेश दिने गरी ट्वीटरमार्फत आफ्नो कन्सर्ट वा अन्य कार्यक्रम गर्ने सुविधा पाउँनेछन् । 

सबैभन्दा बढी प्रयोगकर्ता भएको सामाजिक सञ्जाल फेसबुकले पनि क्लबहाउसजस्तै फिचर सुरु गरिसकेको छ । हाल सेलिब्रेटीको लागि मात्रै उपलब्ध रहेको अडियो लाइभ फिचरलाई थप विस्तार गर्ने योजना फेसबुकले सार्वजनिक गरिसकेको छ ।

फेसबुकको अडियो लाइभ फिचर पनि क्लबहाउसको फिचरसँग मिल्दोजुल्दो छ ।

साना स्टार्टअपहरुले ल्याएको नयाँ आइडियालाई ठूला सामाजिक सञ्जाल कम्पनीले कपी गरी लोकप्रिय बनाउने गरेको उदाहरण यो पहिलो होइन ।

यसअघि युवा पुस्तामाझ लोकप्रिय बनेको स्न्यापच्याटको स्टोरिज फिचर कपी गरेर फेसबुकले इन्स्टाग्राम र फेसबुकमा राखेको थियो, जुन अहिले प्रयोगकर्तामाझ निकै लोकप्रिय छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२