close

राज्यकै संरक्षणमा ह्याकिङ मौलाउँदै, ५० हजार जिमेल अकाउन्टमा गुगलको चेतावनी ईमेल

टेकपाना टेकपाना

कात्तिक १, २०७८ १३:४६

राज्यकै संरक्षणमा ह्याकिङ मौलाउँदै, ५० हजार जिमेल अकाउन्टमा गुगलको चेतावनी ईमेल

काठमाडौं । यो वर्ष राज्य संरक्षित ह्याकिङका गतिविधि धेरै बढेको भन्दै गुगलले आफ्नो ब्लगमार्फत चेतावनी दिएको छ ।

गुगलको थ्रेट एनलाइसिस ग्रुपको अनुसार २०२१ मा मात्र अहिलेसम्म गुगलले करिब ५० हजार जिमेल अकाउन्ट प्रयोगकर्ताहरूलाई राज्यबाट संरक्षित फिशिङ अथवा मालवेयर गतिविधिलक्षित समूह अन्तर्गत परेको भन्दै चेतावनी ईमेल पठाएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा यो ३३ प्रतिशतले बढी हो ।

एपीटी२८ अर्थात ‘फ्यान्सी वियर’ नामक रसियन ह्याकहरूको समूहको गतिविधिका कारण यो संख्या वृद्धि भएको कम्पनीको भनाइ छ ।

यही कुरालाई मध्यनजर गर्दै हाल कम्पनीको सो समूहले ५० भन्दा धेरै देशको सरकारबाट संरक्षित २७० भन्दा बढी ह्याकरको समूहलाई ट्रयाक गरिरहेको उक्त ब्लगमा उल्लेख गरिएको छ ।

गुगलले आफ्नो उक्त ब्गलस्पटमा भने आफूले गरेको अनुसन्धानमध्ये इरानी समूहको ह्याकिङको विषयमा विस्तृत जानकारी उपलब्ध गराएको छ ।

यो वर्षको सुरुवातमा उक्त ह्याकिङ समूहले बेलायतको एक विश्वविद्यालयको वेबसाइट ह्याक गरेको थियो, जसको माध्यमबाट ह्याकरले प्रयोगकर्तालाई वेबिनारमा उपस्थित हुन आफ्नो ईमेल आईडी उपलब्ध गराउन आग्रह गरेको थियो ।

योसँगै सो समूहले गुगल प्ले स्टोरमा स्पाइवेयर अपलोड गर्न खोजेको, विभिन्न कन्फ्रेन्सको नाममा फिशिङ ईमेल पठाएको, टेलिग्राममा फिशिङ साइटमा जान प्रयोगकर्ताहरूलाई नक्कली म्यासेज गरेको लगायत विभिन्न ह्याकिङका गतिविधिहरू गरेको गुगलले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२