close

विद्युतीय गाडीको ब्याट्रीका लागि चार खर्ब लगानीमा कारखाना खोल्दै टोयोटा

टेकपाना टेकपाना

कात्तिक १, २०७८ १९:५४

विद्युतीय गाडीको ब्याट्रीका लागि चार खर्ब लगानीमा कारखाना खोल्दै टोयोटा

काठमाडौं । कार निर्माता कम्पनी टोयोटाले विद्युतीय गाडीको ब्याट्री उत्पादनका लागि अमेरिकामा मात्रै आगामी एक दशकमा साढे तीन अर्ब डलर (चार खर्ब ९ अर्ब रूपैयाँ बढी) लगानी गर्ने घोषणा गरेको छ ।

विद्युतीय सवारीमा पर्याप्त लगानी नगरेको भन्दै वातावरणीय समूहहरुले टोयोटाको आलोचना गरिरहेका थिए ।

टोयोटाले घोषणा गरेको तीन अर्ब ४० करोड अमेरिकी डलरमध्ये एक अर्ब ३० करोड डलर फ्याक्ट्री निर्माणका लागि लगानी गरिने छ ।

करिब दुई हजारलाई रोजगारी दिने लक्ष्य राखिएको फ्याक्ट्रीबाट सन् २०२५ देखि उत्पादनको काम थालिने कम्पनीले जनाएको छ ।

टोयोटाले गत महिना विद्युतीय सवारी र आधुनिक ब्याट्री निर्माणका लागि विश्वभर १३ अर्ब ५० करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको थियो ।

यो लगानीले प्रतिस्पर्धी कम्पनीहरु जेनेरल मोटर्स, फोर्ड र भक्सवागनसँग विद्युतीय सवारी दौडमा प्रतिस्पर्धा गर्न सकिने कम्पनीको विश्वास छ ।


‘दीर्घकालीन रुपमा वातावरणीय दीगोपना हासिल गर्नका लागि टोयोटाले विद्युतीकरणमा लगानीको प्रतिबद्धता गरेको हो,’ टोयोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘यो लगानीले उपभोक्तालाई सहुलियत दरमा विद्युतीय सवारी प्राप्त हुनुको साथै कार्बन उत्सर्जनमा पनि कमी आउनेछ ।’

हाइब्रिड सवारी उत्पादनमा टोयोटाले उल्लेख्य सफलता हासिल गरिरहेको भए पनि पूर्णरुपमा विद्युतीय सवारी निर्माणका लागि अग्रसरता नदेखाएको भन्दै कम्पनीको आलोचना भइरहेको थियो ।

टोयोटाको पहिलो विद्युतीय सवारी बीजेडफोजेड क्रसओभर सवारी आगामी वर्षदेखि जापान र चीनमा उत्पादन सुरु हुनेछ भने आगामी वर्षदेखि नै विश्वभर बिक्री सुरु हुने कम्पनीले जनाएको छ ।

कम्पनीले सन् २०२५ भित्रमा ७० वटा मोडलमा विद्युतीय सवारी बजार पठाउने घोषणा गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२