close

मलेसिया र अष्ट्रेलियाका गायकलाई चिनियाँ सामाजिक सञ्जाल र स्ट्रिमिङ प्लेटफर्ममा प्रतिबन्ध

टेकपाना टेकपाना

कात्तिक २, २०७८ ९:१०

मलेसिया र अष्ट्रेलियाका गायकलाई चिनियाँ सामाजिक सञ्जाल र स्ट्रिमिङ प्लेटफर्ममा प्रतिबन्ध

काठमाडौं । गीतमार्फत देशको मानहानी गरेको भन्दै चिनियाँ सरकारले मलेसिया र अष्ट्रेलियाका दुई गायकलाई चिनियाँ सामाजिक सञ्जाल र स्ट्रिमिङ प्लेटफर्मबाट हटाएको छ ।

चिनियाँ नागरिकको मानहानी हुने खालको गीत सार्वजनिक गरेको भन्दै मलेसियाली गायक नेमवी र अष्ट्रेलियाली गायक किम्बरले चेङलाई चिनियाँ सोसल मिडिया र स्ट्रिमिङ प्लेटफर्मबाट आइतबारदेखि प्रतिबन्ध लगाइएको हो ।

शुक्रबार सार्वजनिक भएको फ्राजायल अर्थात् सिसाको मुटु शीर्षकसम्बन्धी गीतले भावनात्मक गीतको आवरणमा चिनियाँ नागरिकको अपमान गरेको अरोप लगाइएको छ ।

गीतको म्युजिक भिडिओमा पान्डा आकृतिको एउटा वस्तु नेपथ्यमा नाँचिरहेको देखाइएको छ भने गुलाबी रङको प्रयोग गरिएको छ । यो संकेतले चीनमा धेरै प्रयोग हुने लिटिल पिङ्क शब्दलाई अपमान गरेको आरोप छ ।

देश विरुद्धमा अनलाइनमार्फत हुने विरोधको प्रतिरक्षा गर्ने राष्ट्रवादी युवाहरुलाई यो नाम दिने गरिएको छ । गीतको म्युजिक भिडिओको सुरुवातमै यदि तपाईं फ्राजायल पिङ्क हुनुहुन्छ भने सावधान रहनुहोला भन्ने सन्देश देखाइएको छ ।

गीतको शब्द र भिडिओमा चीनविरुद्ध प्रयोग भएका धेरै सामाग्री भएको आरोप लगाइएको छ । गीतमा चिनियाँ नागरिकले कुकुर, बिरालो र चमेरा मन पराउने विषय पनि उल्लेख गर्दै भिडिओमा पान्डाले चमेराको झोल पकाएको दृश्य देखाइएको छ ।

गीतमा जिङजियाङ सहरमा श्रम कारागार रहेको प्रसंग पनि उठाएइको छ । यो विषय स्थानीय चिनियाँहरुले अस्वीकार गर्दै आएका छन् ।

नेमवी स्टेज नामले चिनिने वी मेङ चे चिनियाँ मुलका मलेसियाली गायक हुन् । गत अगस्टमा चीनविरुद्ध हास्यास्पद कमेन्ट गरेको भन्दै उनलाई वेबोमा प्रतिबन्ध लगाएको थियो । वेबो चीनमा लोकप्रिय ट्वीटरजस्तै सामाजिक सञ्जाल हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२