close

एप्पलको दोस्रो लञ्च इभेन्ट, के के सार्वजनिक भए ?

टेकपाना टेकपाना

कात्तिक २, २०७८ १४:३९

एप्पलको दोस्रो लञ्च इभेन्ट, के के सार्वजनिक भए ?

काठमाडौं । एप्पलले सोमबार राति सिजनको आफ्नो दोस्रो भर्चुअल कार्यक्रम सम्पन्न गरेको छ । लामो समयदेखि चर्चाको विषय बन्दै आएको ‘एप्पल अनलिश्ड इभेन्ट’ यसअघिको कार्यक्रमको तुलनामा फरक थियो ।

फरक यसकारण कि, यसअघिको कार्यक्रममा आईफोन, एप्पल वाच लगायतका डिभाइस सार्वजनिक भएका थिए ।

तर, हिजो सात मिनेटकाे भिडिअाेबाट कम्पनीले आफ्नो एम वान प्रो र एम वान म्याक्स प्रोसेसर, म्याकबुक प्रो, म्याक मिनी सार्वजनिक गरेको छ ।

यसका साथै कम्पनीले नयाँ एयरपड्स र एप्पल म्युजिकको नयाँ योजनासमेत सार्वजनिक गरेको छ ।

यस्ता छन सार्वजनिक भएका नयाँ प्रडक्ट:

नयाँ एयरपडः

कम्पनीले तेस्रो पुस्ताको एयरपडको रुपमा नयाँ भर्सन एयरपड थ्री सार्वजनिक गरेको छ । नयाँ डिजाइन, स्पासियल अडियो, म्युजिक तथा कललाई नियन्त्रण गर्न ‘फोर्स सेन्सर’, वाटर रेसिस्टेन्स लगायतका फिचरका साथ एयरपडको नयाँ डिजाइन सार्वजनिक गरिएको छ ।

कम्पनीका अनुसार यसअघिका एयरपडको तुलनामा यसको ब्याट्री क्षमतामा पनि उल्लेख्य सुधार भएको छ । जसले गर्दा ५ देखि ६ घण्टासम्म निरन्तर प्रयोग गर्न सकिने छ । यसको बजार मूल्य १७९ अमेरिकी डलर तोकिएको छ ।

एप्पलको आफ्नै चिपसेट एमवानको एमवान प्रो र म्याक्स चिपसेट:

एमवान प्रो र एमवान म्याक्सको रुपमा कम्पनीले चिपसेटको नयाँ भर्सन सार्वजनिक गरेको छ । कम्पनीले एमवान चिपसेट सन् २०२० मा पहिलो पटक कम्पनीले १३ इन्च म्याकबुक प्रो, म्याक मिनी, र म्याकबुक एयरमार्फत सार्वजनिक गरेको थियो ।

अब भने यो चिपसेट १४.२ र १६ इन्चको म्याकबुक प्रोमा प्रयोग गरिएको छ । एप्पलका अनुसार नयाँ एमवान प्रो प्रोसेसर एमवान भन्दा ७० प्रतिशत फास्ट रहेको छ । त्यस्तै एमवान म्याक्सलाई एप्पलले प्रो नोटबुकको लागि संसारको सबैभन्दा शक्तिशाली चिप सेट भनेर दाबी गरेको छ ।

म्याकबुक प्रोः

एप्पलले एमवान प्रो र एमवान म्याक्स चिपसेटका साथ १४.२ इन्च र १६ इन्च म्याकबुक प्रो सार्वजनिक गरेको छ । जुन यसअघि इन्टेटलको चिपसेटमा आधारित म्याकबुकको तुलनामा निकै फास्ट रहेको दाबी कम्पनीले गरेको छ ।

टचबार, एचडीएमआई पोर्ट, एसडीकार्ड स्लट, म्यागसेफ कनेक्टरका साथ आउने १४ इन्चकाे म्याकबुक प्रोको मूल्य १९ सय ९९ अमेरिकी डलरबाट सुरु हुनेछ । भने, १६ इन्चको म्याकबुकको मूल्य २४ सय ९९ डलरबाट सुरु हुने जनाइएको छ ।

होमपड मिनीः

एप्पलले अघिल्लो वर्षको सार्वजनिक गरेको होमपड मिनीमा त्यती धेरै परिवर्तन भने गरेको छैन । तर, कम्पनीले विभिन्न कलरमा होमपड मिनी सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार अर्को महिनादेखि होमपोड मिनी चार नयाँ रंगहरुमा उपलब्ध हुनेछ । जसमा पहेंलो, सुन्तला रंग, कालो र निलो रंग छन् । साथै यसअघि उपलब्ध भएको सेतो र स्पेस ग्रे कलर अप्सन पनि उपलब्ध हुने जनाइएको छ । जसको बजार मूल्य ९९ डलर तोकिएको छ ।

एप्पल म्युजिक ‘भ्वाइस प्लान’

एप्पलले अमेजनको जस्तै म्युजिक प्लानसमेत सार्वजनिक गरेको छ । यसअघि अमेजनले ४ डलरमा उपलब्ध गराउँदै आएको ‘सिंगल डिभाइस म्युजिक प्लान’ एप्पलले ५ डलरमा उपलब्ध गराउने भएको छ ।

Cheaper Apple Music: What is the Apple Music Voice Plan? - 9to5Mac

विषेशगरी सिरीलाई लक्षित गरि यो प्लान सार्वजनिक गरिएको हो । कम्पनीले यसमा विभिन्न मोड तथा प्ले लिस्ट थप गरेको जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२