close

तपाईंको पुरानो फोन नम्बर कहाँ छ ? त्यसैबाट यसरी हुनसक्छ ह्याकिङ

टेकपाना टेकपाना

कात्तिक ३, २०७८ २२:४२

तपाईंको पुरानो फोन नम्बर कहाँ छ ? त्यसैबाट यसरी हुनसक्छ ह्याकिङ

काठमाडौं । तपाईंको कुनै पुरानो नम्बर बन्द भएको छ र तपाईं ढुक्कसँग बसिरहनु भएको छ भने यो खबरले तपाईंलाई तनाव दिनसक्छ । जब तपाईं कुनै नयाँ नम्बर लिनुहुन्छ र पुरानो नम्बर बन्द गरिदिनुहुन्छ ।

यस्तोमा टेलिकम कम्पनी तपाईंको उक्त पुरानो नम्बरलाई रिसाइकल गरेर कुनै अर्को व्यक्तिलाई बिक्री गरिदिन्छ । तर यहाँनिर चिन्ताको विषय के छ भने तपाईंको नाममा रहेको यस्तो पुरानो नम्बर प्रयोग गरेर अर्को व्यक्तिले तपाईंका त्यस्ता सबै अकाउन्टमा पहुँच बनाउन सक्छ, जसमा तपाईंले उक्त नम्बर प्रयोग गर्नुभएको थियो ।

यो चुनौती तपाईंको गोपनीयताका लागि निकै ठूलो खतराको विषय हो । केही समयअघि अमेरिकास्थित प्रिन्सटन युनिभर्सिटीले यसबारे एक अनुसन्धानसमेत गरेकाे थियाे ।

किनभने यसअघि यसप्रकारको अन्य कुनै अनुसन्धान बाहिर आएको थिएन । शोध प्रतिवेदनमा भनिएको छ कि टेलिकम कम्पनीले पुराना नम्बरलाई रिसाइकल गर्ने प्रक्रियाले नै प्रयोगकर्ताको गोपनीयतामाथि प्रश्न उठाउँछ ।

जब तपाईं आफ्नो नम्बर परिवर्तन गर्नुहुन्छ, तुरुन्तै आफ्ना अनेक सामाजिक सञ्जाल, जीमेल, ईमेल आदि जस्ता अकाउन्टमा नयाँ नम्बर अपडेट गर्नुहुन्न भने यो तपाईंको सबैभन्दा ठूलो भूल हो । तपाईं नयाँ नम्बर प्रयोग गर्न थाल्नुहुन्छ ।

तर यस दौरान तपाईंको पुरानो नम्बरबाट तपाईंका डिजिटल अकाउन्टमा पहुँच बनाउन सकिन्छ । ईकमर्स एप तथा साइटमा समेत तपाईंको नम्बर जोडिएको हुन्छ ।

यस्तोमा जुन व्यक्तिसँग तपाईंको पुरानो मोबाइल नम्बर छ, उक्त व्यक्तिले त्यसबाट एक्सेस बनाउन सक्छ । प्रिन्सटन युनिभर्सिटीको रिपोर्ट अनुसार एक पत्रकारले नयाँ मोबाइल नम्बर लिएका थिए ।

पछि उक्त नम्बरमा ब्लड टेस्ट तथा स्पाको अपोइन्टमेन्टका म्यासेज आउन थाले । शोधका दौरान २०० रिसाइकल गरिएका नम्बर परीक्षण एक सातासम्म गरिएको थियो ।

जसमा १९ नम्बरमा पुराना प्रयोगकर्ताको म्यासेज र कल आइरहेका थिए । यी नम्बरमा कयौं पटक अथेन्टिकेसन तथा ओटीपी कोड समेत आइरहेका थिए ।

पुरानो नम्बरबाट हुनसक्छ खतरा, जोगिने कसरी ?

तपाईंको पुरानो नम्बर फिसिङ अट्याकका लागि प्रयोग हुन सक्छ । यस बाहेक ह्याकरले तपाईंको पुरानो नम्बर न्युजलेटर, क्याम्पेन, सब्सक्रिप्सन आदिमा समेत प्रयोग गर्न सक्छन् ।

त्यस बाहेक तपाईंको पुरानो नम्बरको प्रयोग तपाईंको ईमेल, सोसल मिडिया अकाउन्ट र ईकमर्स अकाउन्टमा एक्सेस गर्नमा समेत प्रयोग हुनसक्छ । अब तपाईंको मनमा पक्कै पनि प्रश्न उठ्छ, यस किसिमको खतराबाट जोगिने कसरी ?

यसका लागि सबैभन्दा पहिला आफ्नो कुनै पुरानो नम्बर बन्द गर्दै हुनुहुन्छ भने तुरुन्त आफ्नो ईमेल, सामाजिक सञ्जाल, शपिङ साइट आदिमा आफ्नो नयाँ नम्बर अपडेट गर्न नभुल्नुहोस् ।

यस बाहेक बैंक अकाउन्टमा समेत सकेसम्म चाँडो नयाँ नम्बर अपडेट गर्नुहोस् । किनभने यसमा तपाईं जति ढिलो गर्नुहुन्छ, तपाईंका लागि उति नै धेरै खतरा रहिरहन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२