close

बाढी पहिरोले सुदूरपश्चिममा अवरुद्ध थ्रीजी, फोरजी सेवा सुरु

टेकपाना टेकपाना

कात्तिक ४, २०७८ १२:३२

बाढी पहिरोले सुदूरपश्चिममा अवरुद्ध थ्रीजी, फोरजी सेवा सुरु

काठमाडौं । बाढी पहिरोले दूरसञ्चार सेवा अवरुद्ध भएका सुदूरपश्चिम प्रदेशमा टेलिकमले विद्युत प्राधिकरणको अप्टिकल ग्राउण्ड वायर (ओपीजीडब्लू) मार्फत थ्रीजी तथा फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।

सोमबारदेखि भारी वर्षासँगै बाढी र पहिरोले विद्युत पोल र ट्रान्सफर्मरमा क्षति पुग्दा त्यहाँका विभिन्न ठाउँमा विद्युत र सञ्चार सेवा अवरूद्ध भएको थियो ।

जसले गर्दा दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम, बाजुरालगायतका जिल्लाका विभिन्न स्थान दूरसञ्चार सेवाबाट वञ्चित भएका थिए ।

बुधबार दिउँसो १२ बजेदेखि टेलिकमले ती जिल्लामा माइक्रोवेभ प्रविधिमार्फत भ्वाइस सेवा भने सञ्चालनमा ल्याएको थियो ।

थ्रीजी, फोरजीजस्ता मोबाइल इन्टरनेटका लागि भने केही समय लाग्ने भनिए पनि उक्त स्थानमा विद्युत प्राधिकरणको ओपीजीडब्लू केबल सुरक्षित रहेको पाइएकाले तत्कालका लागि सोही केबल प्रयोगमा ल्याइएको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताएका छन् ।

‘बुधबार रातिबाट दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम र बाजुरामा ओपीजीडब्लुमार्फत थ्रीजी र फोरजी सेवा सञ्चालनमा ल्याइएको हो,’ अधिकारीले भने, ‘योसँगै अब उक्त स्थानमा माइक्रोवेभ प्रविधिमार्फत भ्वाइसका साथै ओपीजीडब्लूमार्फत मोबाइल इन्टरनेट पनि उपलब्ध भएको छ ।’

टेलिकमको फाइबर तथा एडीएसएस निर्माणका लागि बाटोमा पहिरो गएको हुँदा अझै केही समय लाग्न सक्छ । उनले भने, ‘बाटो सफा भएसँगै एडीएसएस मर्मत गरी सेवालाई पूर्णरुपमा सञ्चालनमा ल्याइने छ ।’ 
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२