close

फेसबुकको नियम तोड्ने प्रयोगकर्ताले अब ग्रुपका पोस्ट देख्न नपाउने

टेकपाना टेकपाना

कात्तिक ५, २०७८ २१:०

फेसबुकको नियम तोड्ने प्रयोगकर्ताले अब ग्रुपका पोस्ट देख्न नपाउने

काठमाडौं । आफ्नो कुनै पनि प्लेटफर्मको नियम तोड्ने प्रयोगकर्तालाई फेसबुकले ग्रुपको पोस्ट नदेखाउने भएको छ । नियम मिच्नेहरूलाई अन्य समुदायमा पहुँच नदिन यस्तो नीति लिएको फेसबुकले जनाएको छ ।

गत मार्चमा फेसबुक ग्रुपको लागि नयाँ नियम लागू गर्दै कम्पनीले नियम मिच्नेहरूलाई कुनै पनि ग्रुपमा निश्चित अवधिको लागि पोस्ट र कमेन्ट गर्न नदिनेसम्मको नियम लागू गरेको थियो ।

सोही नियमलाई विस्तार गर्दै फेसबुकले फेसबुकको नीतिविपरीत आफ्नो प्लेटफर्म प्रयोग गर्नेलाई ग्रुपको पोस्टहरू नदेखाउने जनाएको हो ।

फेसबुकले ब्लग पोष्टमार्फत ग्रुपका लागि ‘फ्ल्याग्ड बाई फेसबुक’ नामक फिचर पनि सुरु गर्ने जानकारी दिएको छ । यो फिचरले कुनै पनि ग्रुपको एड्मिनलाई कुनै सामग्री फेसबुकको नीति विपरीत भए त्यसको जानकारी दिनेछ ।

यस्तो जानकारी पाएपछि ग्रुप एड्मिनले उक्त पोस्ट हटाउन वा उक्त पोस्ट उपयुक्त भए फेसबुकलाई रिभ्युको लागि अनुरोध गर्न सक्नेछन् । यसअघि फेसबुकले आफ्नो नीतिविपरित भएका पोस्टलाई ग्रुपबाट हटाएपछि मात्रै एड्मिनलाई जानकारी दिने गर्थ्यो ।

सन् २०२० मा भएको अमेरिकी निर्वाचनपछि फेसबुकले आफ्नो ग्रुपसम्बन्धी नियममा व्यापक परिवर्तन गरिरहेको छ । निर्वाचनको बेलामा फेसबुक ग्रुपमार्फत गलत जानकारी र अफवाह फैलाउने अभ्यास बढेपछि फेसबुकले विश्वभर ग्रुप प्रयोगकर्ताका लागि कडा नियम बनाउन थालेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१