close

गुगल क्रोममा भेटियो गम्भीर सुरक्षा कमजोरी, तत्काल अपडेट गर्न कम्पनीको आग्रह

टेकपाना टेकपाना

कात्तिक ६, २०७८ १०:३५

गुगल क्रोममा भेटियो गम्भीर सुरक्षा कमजोरी, तत्काल अपडेट गर्न कम्पनीको आग्रह

काठमाडौं । गुगलले आफ्नो क्रोम ब्राउजरमा ५ वटा गम्भीर कमजोरी रहेको भन्दै आफ्ना प्रयोगकर्तालाइ सुरक्षित रहन आग्रह गरेको छ ।

हालै एक ब्लग लेख्दै गुगलले डेस्कटप भर्सनका दुई अर्ब ६० करोड बढी प्रयोगकर्तालाई सम्भावित साइबर आक्रमणबाट बच्न तत्काल ब्राउजर अपडेट गर्न आग्रह गरेको हो ।

गुगलका अनुसार क्रोममा पाँचवटा ‘हाई रेटेड’ (निकै संवेदनशील) सुरक्षा कमजोरीसँगै अन्य ११ कमजोरी फेला परेको छ । यो कमजोरी एक बग बाउन्टी प्रोग्रामबाट स्वतन्त्र अनुसन्धानकर्मीले पत्ता लगाएका थिए ।

कम्पनीका अनुसार मुख्य पाँचमध्ये तीनमा ‘युजर-आफ्टर-फ्रि’ भल्नरेबिलिटी र अन्य दुईमा ‘बफर ओभरफ्लो’ भल्नरेबिलिटी भेटिएकाे थियाे ।

यसपछि कम्पनीले सुरक्षा कमजाेरी समाधान गर्दै क्रोम भर्सन ९५.०.४६३८.५४ उपलब्ध गराएको छ । उसले सबै प्रयोगकर्तालाई नयाँ भर्सन अपडेट गर्न आग्रह गरेको छ ।

यदि तपाईंको क्रोम ब्राउजर ९५.०.४६३८.५४ वा त्यसपछिका भर्सनमा चल्छ भने तपाईं सुरक्षित हुनुहुन्छ ।

यसका लागि ‘सेटिङ’मा गई ‘हेल्प’ हुँदै ‘अबाउट गुगल क्रोम’ मा गएर नयाँ अपडेट गर्न सकिन्छ । गुगल क्रोममा प्रयोगकर्ता सुरक्षित राख्न कम्पनीले नियमित अपडेट जारी गरिरहेको छ ।

अक्टाेबर महिनामा मात्र गुगल क्राेममा तीन वटा नयाँ अपडेट जारी भएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१