close

ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन खुलाउने तयारी

टेकपाना टेकपाना

कात्तिक ७, २०७८ ८:३२

ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन खुलाउने तयारी

काठमाडौं । कात्तिक दोस्रो सातादेखि स्मार्ट लाइसेन्सको नयाँ आवेदन खुला हुने भएको छ । करिब छ महिना बन्द भएको नयाँ आवेदन दोस्रो सातादेखि खुला गर्ने तयारी भएको विभागले जनाएको छ ।

गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द छ । ट्रायल परीक्षा भने सुचारु गरिएको थियो । कोरोना महामारीअघिसम्म नयाँ लाइसेन्सको आवेदन दिनेको सङ्ख्या दैनिक आठ हजार थियो ।

लामो समयसम्म आवेदन बन्द हुँदा लाइसेन्सको माग बढ्ने अनुमान विभागको छ । एक्कासी चाप बढ्न सक्ने भएकाले त्यसैअनुसारको तयारीसाथ खुला गर्न लागिएको विभागका प्रवक्ता डा. लाेकनाथ भुसालले जानकारी दिए ।

विभागले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न राजपत्रमा सूचना प्रकाशन गर्न लागिएको जनाएको छ । सवारीसाधनको विवरण डिजिटल प्रणालीमा राख्न इम्बोस्ड नम्बर प्लेट लागूू गरिएको थियो ।

राजपत्रमा प्रकाशन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सूचना पठाइसकिएको उनले बताए ।

२०७७ साउन १ गतेबाट पुनः सुचारु गरिए पनि नम्बर प्लेट राख्न आउनेको सङ्ख्या कम भएकाले अनिवार्य गर्न लागिएको हो । विभागले २०७४ भदौ ५ गतेबाट इम्बोस्ड नम्बर प्लेट वितरण सुरु गरेको थियो । -गोरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१