close

रक्तदानलाई सहज बनाउन बुटवलका युवाले सुरु गरे ‘रगत नेपाल’ एप

टेकपाना टेकपाना

कात्तिक ७, २०७८ ९:५४

रक्तदानलाई सहज बनाउन बुटवलका युवाले सुरु गरे ‘रगत नेपाल’ एप

बुटवल । रगत दिन र खोज्ने कामलाई सहज बनाउन बुटवलका युवाले ‘रगत नेपाल’ नामक एप तयार पारेका छन् ।

रगत खोज्ने र आवश्यक परेको समयमा रगत दिन चाहनेहरूका लागि एउटा प्लेटफर्म बनाएर सहज बनाउने सामाजिक पहलसहित कालिका मानवज्ञान माध्यमिक विद्यालयका विद्यार्थीहरू मिलेर याे एप विकास गरेका हुन् ।

‘एनिबडी क्यान सेभ लाइफ’ अर्थात् जो कोहीले पनि कसैको जिन्दगी बचाउन सक्छ भन्ने नारासहित यो एप सार्वजनिक गरिएको रगत नेपालका डेभलपरले बताएका छन् ।

उक्त विद्यालयको कक्षा ११ मा कम्प्युटर इन्जिनियरिङ पढ्ने विद्यार्थीहरू संस्कार लम्साल, शुशिल भट्टराई, पुजन पोखरेल र शिवराज पौडेलको टोलीले यो एप विकास गरेको हो ।

एप निर्माण टोलीका सदस्य पुजन पोखरेलका अनुसार सेवाग्राहीहरूले यस एपमार्फत रगत दिने र लिने मात्र नभई रक्तदान कार्यक्रमहरूको आयोजना पनि गर्न सक्छन् ।

सेवाग्राहीहले आफ्नो अकाउन्ट खोलेर यो एपको सेवा लिन सक्छन् । सार्वजनिक भएको केही दिनमै करिब ६०० प्रयोगकर्ताले साइन इन गरेका कारण आउने दिन यो एप निकै लाभदायी हुनसक्ने विश्वास पोख्रेलले व्यक्त गरे ।

यो एप प्रयोग गरेर आफ्नो आवश्यकताअनुसार रगत दिने मान्छे र खोज्ने व्यक्तिले एकअर्कासँग सिधै सम्पर्क गरेर लाभ लिन सक्ने उनकाे भनाइ छ ।

‘नेपालमा अझै पनि रगत चाहिएको खण्डमा रगत बैंकमा जानुपर्ने अथवा मान्छे खोज्नु पर्ने स्थिति छ । यसैलाई थप सहज बनाउनको लागि यो एप बनाएका हौं । आउने दिनमा यसलाई अन्य संस्थाहरूसँग मिलेर अगाडि बढाउने सोचेका छौं,’ उनले बताए ।

हाल यो एप एन्ड्रोइड फोनमा मात्र उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१