close

थुलुङ दूधकोशीको कर अब घरबाटै तिर्न सकिने

टेकपाना टेकपाना

कात्तिक ८, २०७८ ८:१८

थुलुङ दूधकोशीको कर अब घरबाटै तिर्न सकिने

सोलुखुम्बु । थुलुङ दूधकोशी गाउँपालिकाले विद्युतीय राजस्व भुक्तानी प्रणाली कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले जग्गा, घर भाडा, सवारी साधन, व्यवसाय , मालपोत, सम्पत्ति करलगायतका अन्य कर तथा शुल्कको भुक्तानी प्रक्रिया अनलाइनबाट तिर्न सजिलो होस् भन्ने ध्येयले सो प्रणाली लागू गरेको हो ।

गाउँपालिका अध्यक्ष असिम राईले अनलाइनबाट सेवा प्रदान गर्न ‘करदाता पोर्टल’ कार्यान्वयनमा ल्याएको जानकारी दिए । उनले विगतमा गाउँपालिकाको कार्यालयमै आएर कर तिर्ने गरेका नागरिकले अब घरमै बसेर कर तिर्न सक्ने बताए ।

सो प्रणाली मार्फत गाउँपालिकाको मातहतमा करदाताको रुपमा दर्ता भएको सेवाग्राहीले इन्टरनेटको पहुँचमार्फत आफ्नो प्रयोगकर्ताको नाम र पासवर्ड प्रयोग गरी जुनसुकै ठाउँबाट आफ्नो व्यक्तिगत विवरण, सम्पत्ति विवरण, व्यवसायको विवरण र कर तिरेको विवरण हेर्न मिल्ने बताइएको छ ।

जग्गाको कर, घर भाडा, सवारी साधनको कर, व्यवसाय कर, मालपोत, सम्पत्ति करलगायतका अन्य कर तथा शुल्कको भुक्तानी प्रक्रिया अनलाइनबाट नै सम्पादन गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

यस पोर्टलबाट सबैभन्दा पहिला गाउँपालिकाको वडा कार्यालयमा आफ्नो मोबाइल नम्बर, ईमेल ठेगाना र व्यवसाय तथा मालपोत विवरण सहित करदाताको रुपमा दर्ता गरिएको हुनुपर्ने छ ।

वडा कार्यालयमा स्वयं व्यक्ति वा इमेलको माध्ययमबाट सम्पर्क गरी आवश्यक कागजात पेश गरेर करदाताको रुपमा सूचीकृत भई करदाताको सङ्केत नम्बर र नयाँ आन्तरिक सङ्केत नम्बर प्राप्त गर्नुपर्ने प्रावधान छ ।

करदाता र नयाँ आन्तरिक सङ्केत नम्बर प्राप्त गरिसकेपछि ई-सर्भिस डट थुलुङ दूधकोशी गाउँपालिका डट जिओभी डट एनपीमा गई नयाँ प्रयोकर्ताको रुपमा रजिष्टर गर्नुपर्ने, आफ्नो युजर र पासवर्ड लगिन गरेपछि भुक्तानीमा गएर कर तिनुपर्ने विवरण हेरी अनलाइन भुक्तानी सेवा प्रदायक ई-सेवाबाट भुक्तानी गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

यस्तै कर तिर्नुपर्ने विवरण केही नदेखिएको खण्डमा करको प्रकार छनोट गरी कर निर्धारण गरी तिनुपर्ने कर अनलाइन भुक्तानी सेवा प्रदायक ई-सेवाबाटै भुक्तानी गर्न सकिने, करदाता पोर्टलमा रजिष्टर भइसकेपछि ई-सेवाको मोबाइल एपमा गएर स्थानीय सरकारमा आफ्नो करदाता नम्बर राखे तिनुपर्ने करको रकम देख्न सकिने छ ।

करदाता पोर्टल सञ्चालन भएयता गाउँपालिकामा हालसम्म एक लाख २३ हजार १४३ राजस्व सङ्कलन भइसकेको समेत गाउँपालिकाले जनाएको छ । -गाेरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१