close

बलिउडमा किन चुक्यो ह्वाट्सएपको गोपनीयता ?

टेकपाना टेकपाना

कात्तिक ८, २०७८ १३:३५

बलिउडमा किन चुक्यो ह्वाट्सएपको गोपनीयता ?

काठमाण्डौं । केही वर्षयता सामाजिक सञ्जाल तथा म्यासेजिङ एपहरुको कमजोरी र सुरक्षा जोखिमलाई कम गर्न इन्ड-टु-इन्ड इन्क्रिप्सन प्लेर्टफर्मको उपयोग सुरु भएको छ ।

ह्वाट्सएपमा इन्ड-टु-इन्ड इन्क्रिप्सनको चर्चा लामो समयदेखि चल्दै आएको छ । प्रयोगकर्ताको सुरक्षा जोखिमलाई कम गर्नका लागि ह्वाट्सएपले इन्ड-टु-इन्ड इन्क्रिप्सनको उपयोग गर्दै आएको भएपनि बलिउड सेलिब्रेटीको ह्वाट्सएप च्याटमा भने यसको प्रभाव खासै देखिएको पाइँदैन ।

२०२० मा अभिनेत्री रिया चक्रवर्तीसँग सम्बन्धित ह्वाट्सएप च्याट इन्टरनेटमा फैलिए । त्यसपछि ड्रगडिलरसँगको च्याट बाहिरिएपछि दीपिका पादुकोणलाई एनसीबी जानुपर्‍याे ।

हालै अभिनेत्री अनन्या पाण्डेलाई अभिनेता शाहरुख खानका पुत्र आर्यन खानसँगको च्याट बाहिरिएपछि एनसीबीले बोलाएको छ ।

फेसबुक मातहतमा चल्दै आएका विभिन्न म्यासेजिङ एपमा इन्ड-टु-इन्ड इन्क्रिप्सन उपयोग गरिएको छ । जसले गर्दा म्यासेज पठाउने र प्राप्त गर्ने सम्बन्धित व्यक्तिबाहेक कसैले उक्त च्याट हेर्न मिल्दैन ।

प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राखेर यति गम्भीर प्रयास हुँदाहुँदै पनि बलिउड सेलिब्रेटीका च्याट बाहिरिँदै आएका छन् । बेलाबेलामा भारतीय कलाकारका विवादास्पद च्याट बाहिरिँदा ह्वाट्सएप वास्तवमै इन्ड-टु-इन्ड इन्क्रिप्टेड भएको हो भन्ने विषयमा शंका थपिएको छ ।

यता ह्वाट्सएपले भने च्याटमा इन्ड-टु-इ्न्ड इन्क्रिप्सनको उपयोगपश्चात प्रयोगकर्ताले पठाएका म्यासेज र ह्वाट्सएपमा हुने कुराकानी पढ्न र सुन्न कुनै तेस्राे पक्ष अथवा स्वयम् ह्वाट्सएपलाई समेत सम्भव नभएको दाबी गर्दै आएको छ ।

इन्ड-टु-इन्ड इन्क्रिप्सन हुँदाहुँदै च्याट बाहिरिनु असम्भव कुरा मानिन्छ । यदि इन्ड-टु-इन्ड इन्क्रिप्सनका बावजुद च्याटमा तेस्रो पक्ष हावी भएको हो भने यो विषय गम्भीर हुनुका साथै आपत्तिजनक छ ।

यद्यपि यसरी च्याट बाहिरिनुका पछाडि प्रयोगकर्ताकै लापरबाही कारण हुनसक्ने देखिएको छ । किनकि फोन अनलक भएको अवस्थामा दोस्रो व्यक्तिको पहुँचमा पुगेमा फोनमा भएका च्याट हेर्न सकिने, स्क्रिनशट लिन सकिने र शेयर गर्न सकिने हुन्छ ।

भारतमा व्यक्तिगत उपकरण, कम्प्युटर अथवा फोन लगायतका डिभाइस जफत गर्ने सम्बन्धमा त्यति बलियो कानूनी व्यवस्था छैन । जबकि अमेरिका र अन्य धेरै देशमा मोबाइल फोन तथा कम्प्युटरको खोजी गर्न र जफत गर्न प्रहरीलाई वारेन्टको आवश्यकता पर्दछ ।

इन्क्रिप्सनका बावजुद च्याट बाहिरिन सक्ने सम्भावित कारण:

-लक नगरिएको अवस्थामा भौतिक रुपमा फोन कुनै तेस्रो पक्षको पहुँचमा परेमा ।

-लक गरिएकै अवस्थामा पनि फरेन्सिक टिमले विशेष टुलको प्रयोग गरी गुगल ड्राइभ र आईक्लाउड अकाउन्टमा जम्मा भएका म्यासेज पहुँचमा पार्न सक्छन् ।

ह्वाट्सएपमा च्याट इन्क्रिप्ट भएको भएता पनि केही महिना अघिसम्म ब्याकअप रहने गुगल ड्राइभ र आईक्लाउड अकाउन्ट भने इन्क्रिप्टेड थिएनन् ।

साथै कानूनी एजेन्सीका लागि वैधरुपमा अदालतको आदेशबमोजिम गुगल र एप्पलमा सम्पर्क गरी उनीहरूबाट अहिलेसम्म इन्क्रिप्ट नभएका च्याट ब्याकअप प्राप्त गर्नसक्ने विकल्प पनि छ । यी ब्याकअप फरेन्सिक प्रयोगशालामा अलग गर्न सकिन्छ ।

अझैपनि आवश्यकता परेको खण्डमा प्रयोगकर्ताले इन्क्रिप्ट भइसकेको ब्याकअपलाई अनइनक्रिप्ट गर्नुपर्ने हुन्छ ।

-कानून नियमनकारी निकायकाे ह्वाट्सएपसँग् साझेदारी

अत्यावश्यक अवस्थामा कानूनी अधिकारीहरूले ह्वाट्सएपमा सम्पर्क गरी प्रयोगकर्ताको जानकारी हासिल गर्न सक्छन् । कानूनी व्यवस्था अनुरुप ह्वाट्सएप अकाउन्टमा निहित प्रयोगकर्ताको फोटो, ठेगाना लगायतका जानकारी ह्वाट्सएपले उपलब्ध गराउँदछ ।

एफ ए क्यू (frequently asked question) पेजमा भने कानून प्रवर्तकलाई च्याटसम्बन्धी सूचना तथा जानकारी उपलब्ध गराउने विषयमा उल्लेख भएको छैन ।

म्यासेज डेलिभर भइसकेपछि ह्वाट्सएपले स्टोर गरेर नराख्ने भएकाले यस्तो भएको हुनसक्छ । डेलिभर भइनसकेको म्यासेज पनि ह्वाट्सएपमा ३० दिनपछि स्वत: डिलिट हुने व्यवस्था छ ।

इण्डिया टुडेबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१