close

स्मार्ट सिटी बन्दै वालिङ

टेकपाना टेकपाना

कात्तिक ९, २०७८ ८:४१

स्मार्ट सिटी बन्दै वालिङ

स्याङ्जा । स्मार्ट सिटीको अवधारणामा अगाडि बढेको वालिङ नगरपालिकाले गाउँगाउँमा प्रविधिको विस्तारलाई जोड दिएको छ ।

स्मार्ट सिटी निर्माणका लागि नगरले तयार पारेको १०६ वटा सूचकमध्ये कनेक्टिभिटी एउटा सूचक रहेकाले सोहीअन्तर्गत नागरिकमाझ प्रविधिको पहुँच विस्तार गर्ने लक्ष्यअनुसार कार्य अगाडि बढाएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।

विश्व समुदायले आधुनिक प्रविधिहरूको उच्चतम प्रयोगबाटै नयाँनयाँ आविष्कारहरू गर्दै अगाडि बढिरहेका बताउँदै प्रमुख खाँणले स्मार्ट सिटी निर्माणका लागि पनि नयाँ नयाँ प्रविधिको प्रयोगबाटै सेवा प्रवाह हुनु आवश्यक रहेको बताए ।

नगरपालिकाका १४ वटा वडामध्ये पहिलो चरणमा नगरपालिका कार्यालय, वडा कार्यालय र नगरका १७ वटा स्वास्थ्य संस्थामा फाइबर इन्टरनेट विस्तार गरिसकेको प्रमुख खाँणले बताए ।

दोस्रो चरणमा नगरका सम्पूर्ण विद्यालय, सरकारी संघ संस्था तथा कार्यालयहरू र तेस्रो चरणमा १४ वटै वडाका ३१० वटा गाउँगाउँमा इन्टरनेटको सहज पहुँच पु¥याउने गरी काम अगाडि नगरपालिकाले बढाएको हो ।

प्रविधिको प्रयोगमार्फत कार्यालयहरूले सेवा उपलब्ध गराउने र सेवाग्राहीले विभिन्न एप्स तथा डिजिटल माध्यमबाट सेवा शुल्क भुक्तानी गर्ने सफ्टवेयरको विकास गरेको बताउँदै खाँणले सेवाग्राहीलाई सेवा लिन कार्यालयमा आइरहनु नपर्ने झण्झट पनि नहुने बताए ।

सबै वडामा नेपाल टेलिकमको फाइबर लिज लाइन कनेक्टिभिटी जडान गरिसकिएको छ भने वर्ल्डलिंक कम्पनीको लाइन पनि जडान गरिएको नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख इञ्जिनियर प्रकाश अर्यालले बताए ।

नगरभित्रका १७ वटा मावि तहका सामुदायिक विद्यालय, १७ वटा स्वास्थ्य संस्था र सरकारी संघ संस्था तथा कार्यालयमा वर्ल्डलिंकको फाइबर इन्टरनेट जडान भएको बताउँदै अर्यालले अब ५६ वटा सामुदायिक आधारभूत विद्यालयमा इन्टरनेट विस्तारका लागि काम अगाडि बढेको बताए ।

वर्ल्डलिंकले सबै कार्यालय तथा विद्यालयमा १० एमबीपीएस क्षमताको इन्टरनेट दुई वर्षसम्म निःशुल्क रूपमा उपलब्ध गराउने सम्झौता भएको अर्यालको भनाइ छ ।

डिजिटल पद्धतिमार्फत नागरिकलाई सेवा उपलब्ध गराउनका लागि जनप्रतिनिधि तथा कर्मचारीलाई विद्युतीय हाजिरीका लागि क्रिप्टो टोकन उपलब्ध गराएको छ । वालिङका नागरिकलाई कार्यालयमा उपस्थित नभएरै पनि सेवा लिन पाउने र डिजिटल माध्यमबाटै भुक्तानी गर्न सक्ने उनले बताए । -गोरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१