close

हाम्रोपात्रोमा जोडिए रूद्र पाण्डे

टेकपाना टेकपाना

कात्तिक १०, २०७८ १२:४२

हाम्रोपात्रोमा जोडिए रूद्र पाण्डे

काठमाडौं । चर्चित आइटी उद्यमी रुद्र पाण्डे हाम्रोपात्रोको बोर्ड अफ डिरेक्टरको अध्यक्षमा नियुक्त भएका छन् । अमेरिकाको डेलावेरमा दर्ता भएको हाम्रोपात्रो इन्कर्पोरेशनले अध्यक्षमा पाण्डेलाई मनोनित गरेको हो । 

पाण्डेले हाम्रोपात्रोका संस्थापक शंकर उप्रेती र अन्य नेतृत्व तहका टोलीसँग सहकार्य गर्दै हाम्रोपात्रोको रणनीति तय गर्ने कम्पनीले जनाएको छ ।

मोबाइल एपमा एक करोड पटक डाउनलोड भइसकेको हाम्रोपात्रोलाई अगाडि बढाउन पाण्डेकाे अग्रणी भूमिमा रहने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

‘देशको आईटी क्षेत्रमा ठूलो योगदान दिनुभएको रुद्र दाइलाई हाम्रो टिममा स्वागत गर्न पाउँदा म एकदमै उत्साहित छु । मैले ६ वर्षभन्दा बढी समयसम्म डिटुहकाईमा उहाँको नेतृत्वमा रहेर काम गरेको छु,’ हाम्रोपात्रोका संस्थापक शंकर उप्रेतीले भने, ‘आज हाम्रो टिमलाई नेतृत्व गर्नेगरी उहाँसँग काम गर्न पाउनु हाम्रो लागि ठूलो अवसर हो ।’

यसैक्रममा हाम्रोपात्रो टिमसँग नजिक रहेर कम्पनीलाई थप विस्तार गर्दै काम गर्ने पाण्डेले बताएका छन् ।

नेपालको सफ्टवेयर क्षेत्रमा जग हाल्ने श्रेय पाएका पाण्डेले विभिन्न आईटी कम्पनी र सामाजिक संस्था सञ्चालन गरिरहेका छन् ।

आफ्नो व्यवसायिक जीवनको सुरुवातमा व्यवसायिक सिस्टम इन्जिनियर, डेटाबेस आर्किटेक्ट, परामर्शदाता लगायतको भूमिकामा रही कार्य गरेका पाण्डेले हाल नेपाल र संयुक्त राज्य अमेरिकामा विभिन्न परियाेजना सञ्चालन गरिरहेका छन् ।

 उनी डियरवाक इन्टिच्युट अफ टेक्नोलोजी संस्थाका अध्यक्षसमेत हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१