close

जम्मा ५४० कर्मचारीबाट चल्छ एनसेल, टेलिकममा भने ४ हजारको झुन्ड

टेकपाना टेकपाना

कात्तिक ११, २०७८ ११:५९

जम्मा ५४० कर्मचारीबाट चल्छ एनसेल, टेलिकममा भने ४ हजारको झुन्ड

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल सेवाप्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेड कूल ५४० जना कर्मचारीको भरमा चल्ने गरेको पाइएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदनबाट दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूमा कार्यरत कर्मचारीहरूको विवरण सार्वजनिक भएको हो ।

एनसेलमा प्राविधिकतर्फ २३ महिला र १९० पुरुष गरी कुल २१३ जना कर्मचारी र अप्राविधिकतर्फ १०८ महिला तथा २१९ पुरुषगरी ३२७ जना कर्मचारी कार्यरत छन् ।

५४० जना कर्मचारीको भरमा कम्पनीले दूरसञ्चार सेवा शुल्कबापत चार अर्ब ६९ करोड ६१ लाख रुपैयाँ, भ्याटबापत पाँच अर्ब ५१ करोड ४३ लाख रुपैयाँ, रोयल्टी दुई अर्ब २१ करोड १४ लाख रुपैयाँ र अन्य कर तथा महसुलबापत १२ अर्ब ९६ करोड ६२ लाख रुपैयाँ र फ्रिक्वेन्सीबापत एक अर्ब ५९ करोड ९१ लाख रुपैयाँ सरकारलाई बुझाएको छ ।

जब कि निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने सरकारी लगानीको नेपाल टेलिकममा करिब चार हजार कर्मचारी कार्यरत छन् । जसमा प्राविधिकतर्फ २५१० र अप्राविधिक तर्फ १४४८ जना गरी कूल ३९५८ कर्मचारी छन् ।

कर्मचारी सङ्ख्यामा एनसेलभन्दा सात गुणाअगाडि रहेको टेलिकमले भने सरकारलाई दूरसञ्चार सेवा शुल्कबापत गत आवमा तीन अर्ब ७४ करोड ५० लाख रुपैयाँ मात्र बुझाएको छ ।

त्यस्तै उसले भ्याटस्वरुप तीन अर्ब एक करोड ८० लाख, अन्य कर तथा महसुलबापत चार अर्ब १० करोड तथा स्वामित्व करबापत ५९ लाख रुपैयाँ र फ्रिक्वेन्सीबापत एक अर्ब ७१ करोड ७१ लाख रुपैयाँ सरकारलाई बुझाएको छ ।

तेस्रो दूरसञ्चार कम्पनी स्मार्ट टेलिकम प्रालिमा भने १०५ जना कर्मचारी मात्र कार्यरत रहेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । यसैगरी इन्टरनेट सेवाप्रदायक तर्फ वर्ल्डलिङ्क कम्युनिकेसन्समा ७०० जना, सुबिसु र भायानेटमा समान १७२७ जना, टेकमाइन्ड्समा ७७८ जना, क्लासिक टेकमा ८९५ जना र सीजी नेटमा ५६ जना कर्मचारी कार्यरत रहेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१