close

चिप र मोबाइलको मागले सामसङ मालामाल, २६ प्रतिशतले बढ्यो नाफा

टेकपाना टेकपाना

कात्तिक ११, २०७८ ११:१०

चिप र मोबाइलको मागले सामसङ मालामाल, २६ प्रतिशतले बढ्यो नाफा

काठमाडौं । चिप र मोबाइलको माग बढ्दा सन् २०२१ को त्रैमासिकमा सामसङको नाफा २६ प्रतिशतले बढेको छ । यो अवधिमा सामसङको आम्दानी पनि १० प्रतिशतले बढेको छ । 

दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले सन् २०२१ को तेस्रो त्रैमासिकमा ६१ अर्ब १० करोड अमेरिकी डलर आम्दानी गरेको हो । यो गत वर्षको सोही अवधिको भन्दा १० प्रतिशतले बढी हो । 

यो वर्षको तेस्रो त्रैमासिकमा सामसङले १३ अर्ब ५० करोड अमेरिकी डलर नाफा गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २६ प्रतिशतले बढी हो ।

महामारीका कारण विश्व बजारमा चिप अभाव हुँदा सामसङले चिप बिक्रीबाट मात्रै २२ अर्ब ६० करोड अमेरिकी डलर आम्दानी गरेको वित्तीय विवरणमा उल्लेख छ । महामारीका कारण गरिएको लकडाउनका कारण चिप निर्माता कम्पनीहरू बन्द हुँदा र वर्क फ्रम होम अभ्यासका कारण बढेको कम्युटर डिभाइसको मागले विश्व बजारमा चिप अभाव देखिएको थियो । 

महामारीको अवधिमा पनि आफूले समान्य अवस्थाको जस्तै परिमाणमा चिप निर्माण गरेको सामसङले जनाएको छ । 
मोबाइलको बिक्री बढेका कारण पनि यो वर्ष नाफा बढेको सामसङले जनाएको छ । मोबाइल बिक्रीबाट मात्रै सामसङले यो त्रैमासिकमा २४ अर्ब २० करोड अमेरिकी डलर आम्दानी गरेको छ । 

सामसङले आफ्नो डिस्प्ले व्यापारबाट मात्रै यो तीन महिनाको अवधिमा ७ अर्ब ५० करोड डलर आम्दानी गरेको वित्तीय विवरणमा उल्लेख छ । 
ठूला खालका डिस्प्लेको माग घटे पनि साना खालका डिस्प्लेको माग यो अवधिमा बढेको कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१