close

बक्यौता नतिरेपछि सुमार्गीको मोबाइल लाइसेन्स खारेज गर्दै प्राधिकरण

टेकपाना टेकपाना

कात्तिक १२, २०७८ १२:४६

बक्यौता नतिरेपछि सुमार्गीको मोबाइल लाइसेन्स खारेज गर्दै प्राधिकरण

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल) को अनुमति पत्र खारेज गर्ने भएको छ । हालै बसेको प्राधिकरण बोर्ड बैठकले सरकारले दिएको अन्तिम समयमा पनि बक्यौता नतिरेको भन्दै कम्पनीको लाइसेन्स खारेज गर्ने प्रक्रिया अगाडि बढाएको हो । 

प्राधिकरणले अन्तिम समयमा पनि बक्यौता नबुझाएको अवस्था ‘अनुमतिपत्र किन खारेजी नगर्ने’ भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बोर्डको उक्त निर्णयसँगै प्राधिकरणले कम्पनीलाई १५ दिने म्याद सहित स्पष्टीकरण सोधिसकेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए ।

पौडेलका अनुसार सरकारको निर्णयअनुसार नै स्पष्टीकरण सोध्ने निर्णय भएको हो । यससँगै नेपाल स्याटेलाइट टेलिकम खारेजीको प्रक्रियामा अघि बढेको यो दोस्रो पटक हो ।

यसअघि १७ साउन २०७६  मा बक्यौता नबुझाएको भन्दै प्राधिकरणले नेपाल स्याटेलाइट टेलिकम कम्पनीको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको थियो । प्राधिकरणको उक्त निर्णयको विरुद्ध कम्पनी नेपाल सरकार समक्ष पुनरावलोकनका लागि गएको थियो ।

कम्पनीको उक्त निवेदनका आधारमा मन्त्रिपरिषद्को २०७६ पुस २१ को बैठकले प्राधिकरणको उक्त निर्णयलाई उल्ट्याइ दिएको थियो । साथै सरकारले कम्पनीले बुझाउनुपर्ने सबै किसिमको बाँकी बक्यौता पाँच किस्तामा नबढ्ने गरी पहिलो किस्ता आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तभित्रै र बाँकी चार किस्तामध्ये प्रति वर्ष एक किस्ताका दरले प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्रै बुझाउने गरी समय दिएको थियो ।

यदि तोकिएको समयभित्र बक्यौता नबुझाएको खण्डमा कानुन बमोजिम कारबाही गर्न समेत प्राधिकरणलाई सरकारले भनेको थियो । सरकारले दिएको उक्त किस्ताबन्दीको सुविधाको आधारमा कम्पनीले बाँकी बक्यौता रकम नबुझाएपछि अनुमति पत्र खारेज गर्ने प्रक्रियामा प्राधिकरण अघि बढेको हो ।

‘सरकारको निर्णय अनुसार कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को असार मसान्त भित्र दोस्रो किस्ता बुझाउनुपर्ने हो,’ प्रवक्ता पौडेलले टेकपानासँग भने, ‘तर सो अवधिमा कम्पनीले किस्ताबन्दी रकम तिरेको छैन । त्यसैले प्राधिकरण बोर्ड बैठकले कम्पनीको अनुमतिपत्र खारेज गर्ने प्रकृया अगाडि बढाउन स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।’

पौडेलका अनुसार कम्पनीले बक्यौताको किस्ता बापत  २०७८ असार मसान्तभित्र ३३ करोड ५८ लाख ४७ लाख  ३०३ रुपैयाँ बुझाउनुपर्नेछ । हेलो नेपाल व्यवसायी अजेयराज सुमार्गीको टेलिकम कम्पनी हो । उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’ निकट मानिन्छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१