close

५० वर्षअघि आजकै दिन इन्टरनेटबाट पठाइएको थियो पहिलो म्यासेज

टेकपाना टेकपाना

कात्तिक १२, २०७८ १८:४८

५० वर्षअघि आजकै दिन इन्टरनेटबाट पठाइएको थियो पहिलो म्यासेज

काठमाडौं । ५० वर्षअघि आजकै दिन (२९ अक्टोबर, १९६९) इन्टरनेटमार्फत दुई अक्षर एक कम्प्युटर अर्को कम्प्युटर पठाइएको थियो । जसले जानकारी बाँड्ने र सञ्चार गर्ने तरिकालाई आमूल परिवर्तन गर्‍यो ।

युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्राध्यापक लियानार्ड क्लेनरक र उनका विद्यार्थी चार्ली क्लाइनले एक कम्प्युटर अर्को कम्प्युटर पहिलो पटक सन्देश पठाएका थिए । क्लेनरले विश्वविद्यालयको कम्प्युटर स्ट्यान्डफर्ड रिसर्च ईन्स्टिच्युटमा एडभान्स रिसर्च प्रोजेक्ट एजेन्सी नेटवर्क (अर्पानेट) मार्फत सन्देश पठाएका थिए । यही अर्पानेट आज इन्टरनेटको रूपमा परिचित छ ।

अमेरिकाको रक्षा मन्त्रालयको लागि काम गर्ने विश्वविद्यालयहरू एआरपीए प्रविधि (अहिलेको डीएआरपीए) मार्फत अर्पानेटमा जोडिएका थिए ।

पहिलो सन्देश पठाउन संलग्नमध्येका एक क्लाइनका अनुसार त्यो बेलामा अमेरिकाका चार वटा विश्वविद्यालयसँग मात्रै कम्प्युटर थिए । त्यस्ता कम्प्युटर एउटा कोठा जत्रा थिए ।

क्लेनरक र क्लाइनले अर्को कम्प्युटर लगिन (login) भन्ने सन्देश पठाउन चाहन्थे । तर, उनीहरूले सन्देश पठाउन दुई अक्षर मात्रै लेखिसक्दा सिस्टममा समस्या देखियो ।

उनीहरूले लगिन भनेर पठाउन खोज्दा L र O अक्षर मात्रै पठाउन सके । अङ्ग्रेजीमा LO को अर्थ हेल्लो भन्ने हुन्छ । यो शब्द विशेषगरी कसैको ध्यान केन्द्रित गर्नुपर्दा प्रयोग गरिन्छ ।

उनीहरूले पहिलो सन्देश पठाएको दुई वर्षपछि सन् २०७१ मा एमआईटीका अनुसन्धानकर्ता रे टोम्लिङसङ पहिलो इमेल पठाउन सफल भएका थिए । त्यो बेलामा पहिलो पटक इमेल एड्रेसमा @ प्रयोग भएको थियो ।

हामीले अहिले प्रयोग गर्ने वर्ल्ड वाइड वेब (www) प्रविधि भने १९८९ मा मात्रै आएको हो । बेलायतका कम्प्युटर वैज्ञानिक टिम बेर्नरले यसको आविष्कार गरेका हुन् । यही प्रविधिले हाम्रो जीवनशैली परिवर्तन गरेको छ । बेर्नरले सन् १९९१ मा आफ्नो पहिलो वेब पेज बनाएका थिए ।

आजको प्रविधिलाई परिभाषित गर्ने यी प्रविधिहरू आविष्कार हुने बित्तिकै व्यापक प्रयोगमा आएका होइनन् । यो प्रविधिलाई व्यापक बनाउने काम भने अहिलेका चल्तीका प्रविधि कम्पनीहरूले गरेका हुन् ।

सन् १९९५ मा अमेजन, १९९८ मा गुगल र सन् २००४ मा आइट्युन र सन् २००४ मा फेसबुक जन्मिएपछि इन्टरनेट र वेब प्रविधिमा आमूल परिवर्तन आयो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१