close

८ हजार मिटरमाथिका १४ हिमाल चढ्ने नेपाली आरोहीको वृत्तचित्र नेटफ्लिक्समा

टेकपाना टेकपाना

कात्तिक १३, २०७८ ११:५७

८ हजार मिटरमाथिका १४ हिमाल चढ्ने नेपाली आरोहीको वृत्तचित्र नेटफ्लिक्समा

काठमाडौं । आठ हजार मिटरमाथिका १४ वटा हिमाल ६ महिना ६ दिनमा आरोहण गरेर विश्व कीर्तिमान बनाउन सफल नेपाली आरोही निर्मल ‘निम्स’ पुर्जा पुनको वृत्तचित्र (डकुमेन्ट्री) नेटफ्लिक्समा सार्वजनिक हुने भएको छ ।

‘फोर्टिन पिक्स: नथिङ इज इम्पोसिबल’ (14 Peaks: Nothing is Impossible) नामक वृत्तचित्र मंसिर १३ गते नेटफ्लिक्समार्फत विश्वभर सार्वजनिक हुन लागेको हो । यो वृत्तचित्र १९१ देशमा ३१ भाषामा प्रस्तुत गरिने छ ।

वृतचित्रमा ३६ वर्षीय पुर्जाको ‘प्रोजेक्ट पसिबल’ अन्तर्गतको आरोहण गरेका १४ वटा हिमालको यात्रालाई चित्रण गरिनेछ ।

सन् २०१९ अप्रिल २३ मा अन्नपूर्ण हिमाल आरोहणबाट याे यो यात्रा सुरू गरेका उनले अक्टोबर २९ मा सिसापाङ्गमा हिमाल सफलतापूर्वक आरोहण गरेका थिए ।

यी दुईलगायत उनले आफ्नो प्रोजेक्टअन्तर्गत मनास्लु, चोयु, ब्रोड पिक, केटु, गासरब्रम १, गासरब्रम २, नागा पर्वत, मकालु, सगरमाथा, ल्होत्से, कन्चनजङ्गा र धौलागिरी हिमाल आरोहण गरेका छन् ।

‘यो एउटा अद्भूत भावना हो । सपना देख्ने र आफ्नो सीमितताभन्दा माथि उठ्ने सम्पूर्णका लागि यो एउटा जीत हो । मेरो फोर्टिन पिक्स च्यालेन्जले अग्ला हिमाल आरोहण गर्न अरू आरोहीलाई पनि थप प्रेरणा मिलोस् भन्ने चाहना छ । यो मेरो सुरुवात हो र आउने दिनका लागि म एकदमै उत्साहित छु । नेटफ्लिक्समा सार्वजनिक हुन गइरहेको मेरो डकुमेन्ट्रीका लागि पनि एकदम उत्साहित छु,’ आमादब्लम हिमाल आरोहणको क्रममा रहेका पुनले आफ्नो खुशी फेसबुकमार्फत व्यक्त गरेका छन् ।

यसअघि पनि पुनले आफ्नो १४ वटा हिमाल आरोहणको अनुभवलाई समेटेर ‘Beyond Possible: One Soldier, Fourteen Peaks – My Life In The Death Zone’ नामक किताब सार्वजनिक गरेका थिए ।

पुन बेलायती सेनाको स्पेशल फोर्सका पूर्वसेना हुन् । एलिट स्पेशल बोट सर्भिसमा सामेल हुने उनी पहिलो नेपाली नागरिक पनि हुन् र उनको नाममा स्पिड क्लाइम्बिङका धेरै विश्व कीर्तिमान छन्।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१