close

काठमाडौं महानगरपालिकाको कर अब ईसेवामार्फत भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

कात्तिक १४, २०७८ १२:४७

काठमाडौं महानगरपालिकाको कर अब ईसेवामार्फत भुक्तानी गर्न सकिने

काठमाडौं । अब काठमाडौं महानगरपालिकाको कर तथा राजस्व ईसेवामार्फत भुक्तानी गर्न सकिने भएको छ । यससँगै अबदेखि काठमाडौं महानगरपालिकाको सम्पत्ति तथा भूमि, व्यवसाय र बहाल कर अनलाइनमार्फत भुक्तानी गर्न सकिने भएको हो ।

ईसेवा अकाउन्ट भएका व्यक्तिले मोबाइलबाट सिधै कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन् भने ईसेवा अकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका ईसेवा जोन तथा पोइन्टमार्फत कर भुक्तानी गर्न सक्नेछन् ।

स्थानीय तहमा बुझाउने कर तथा सेवाशुल्क अनलाइनमार्फत भुक्तानी गर्दा स्थानीय तह र त्यसक्षेत्रका बासिन्दालाई अझ सहज हुनुका साथै अहिलेको कोभिड-१९ को महामारीका बेला घरबाटै सेवा लिँदा अझ सजिलो र सुरक्षित हुने अपेक्षा गरिएको छ ।

महानगरबासीले दुई तरिकाबाट ईसेवामार्फत भुक्तानी गर्न सक्नेछन् । यसका लागि नगरबासीले सुरूमा वडा कार्यालयमार्फत आफ्नो ईमेल र फोन नम्बर दर्ता गराई लगइन आईडी लिनुपर्नेछ ।

त्यसपछि ईसेवाको मोबाइल एप अथवा वेबसाइटबाट भुक्तानी गर्न सकिनेछ भने काठमाडौं महानगरपालिकाको वेबसाइटबाट पनि युजरनेम र पासवर्ड हानेर ईसेवामार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिनेछ ।

हालसम्म बनेपा नगरपालिका, बासगढी नगरपालिका, बर्दघाट नगरपालिका, बेलौरी नगरपालिका, बिराटनगर महानगरपालिका, बिष्णुपुर गाउँपालिका, बुटवल उप महानगरपालिका, छथर जोरपाटी गाउँपालिका, धनगढीमाई नगरपालिका, धरान उपमहानगरपालिका, धुलिखेल नगरपालिका र गोदावरी नगरपालिकामा ईसेवा मार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिन्छ ।

त्यस्तै गोकर्णेश्वर नगरपालिका, हेटौडा उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, काठमाडौं महानगरपालिका, कावासोती नगरपालिका, केराबारी गाउँपालिका, कीर्तिपुर नगरपालिका, मध्यविन्दु नगरपालिका, नमोबुद्ध नगरपालिका, पुनर्वास नगरपालिका, सुन्दरहरैँचा नगरपालिका, थुलुङ दुधकोशी गाउँपालिका, तिलोत्तमा नगरपालिका लगायतका स्थानीय तहमा ईसेवामार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिन्छ ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ईसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ५० लाख रहेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले ईसेवामार्फत सेवा लिइरहेका छन् ।

हाल ईसेवाका देशभर करिब एक लाख ४० हजार एजेन्ट (ईसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल ईसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन् ।

ईसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, शेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।

ईसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ईसेवामा सहजै रकम जम्मा गर्न तथा ईसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१