close

परीक्षणका लागि चीनबाट विद्युतीय बस ल्याउँदै साझा यातायात

टेकपाना टेकपाना

कात्तिक १४, २०७८ १४:३७

परीक्षणका लागि चीनबाट विद्युतीय बस ल्याउँदै साझा यातायात

काठमाडौं । साझा यातायातले परीक्षणका लागि चीनबाट विद्युतीय बस ल्याउने भएको छ । चार महिनाभित्र साझाले तीनवटा विद्युतीय बस परीक्षणका लागि ल्याउन लागेको हो । यसअघि सरकारले साझा यातायात प्रालिमार्फत् विद्युतीय बस खरिद गर्ने निर्णय गरेको थियो ।

पहिलो चरणअन्तर्गत ४० बस खरिद गर्न लागिएकोमा तीमध्ये परीक्षणका लागि तीनवटा बस ल्याउन लागिएको साझा यातायात सहकारीले जनाएको छ ।

विद्युतीय बस काठमाडौं ल्याएपछि यहाँको सडकमा गुड्न ठीक भएन/भएको जाँच गर्ने साझा यातायातका सञ्चालक समिति सदस्य भुषण तुलाधरले बताए ।

उनका अनुसार परीक्षणका लागि ल्याएका तीन बसको परिणाम राम्रो आएमा पछि ३७ वटा बस ल्याउनेगरी चिनियाँ कम्पनीसँग सम्झौता भएको छ ।

संस्थामार्फत नै तीन सय बस खरिद गर्न लागिएको भएपनि पहिलो चरणमा ४० बसमात्र आउनेछन् । पहिलो चरणमा आगामी आठ महिनाभित्र बस ल्याउने योजना रहेको तुलाधरले बताएका छन् । यद्यपि बाँकी बस कहिलेसम्म ल्याउने भनेर निश्चित भइसकेको छैन ।

साझा यातायातले गत असोज २२ गते चीनको सीएचटिसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० बस खरिदका लागि सम्झौता गरेको थियो ।

कम्पनीसँगको सम्झौताअनुसार संस्थाले ४० वटा विद्युतीय बस, २० वटा चार्जर करिब चार अर्ब ४८ करोड ८८ हजार रुपैयाँ अर्थात् ३७ लाख ३८ हजार ५५० अमेरिकी डलर र पाँच वर्षको मर्मतसम्भार साथै स्पेयर पार्ट्सका लागि नेपाली ६ करोड ७३ लाख ६५ हजार ५५३ रुपैयाँ दिनुपर्नेछ ।

संस्थाले गत चैतमा आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रअनुसार नौ कम्पनीले बुझाएको प्रस्तावको मूल्याङ्कन गरेर सबै प्राविधिक ‘स्पेसिफिकेसन’ हरू मिलेको र कम मूल्य तोकेको कम्पनीको प्रस्ताव स्वीकृत गरेको तुलाधरले बताएका छन् ।

२६ सिट क्षमता भएका बस अपाङ्गमैत्री छन् । यी बस एकपटक चार्ज गरेपछि ४२ भन्दा बढी यात्रु लिई २०० किलोमीटर गुड्न सक्ने भनिएको छ ।

सार्वजनिक यातायातको विद्युतीकरणले एकातिर आयतित खनिज इन्धनको बढ्दो प्रयोगलाई स्वदेशी नवीकरणीय ऊर्जाले प्रतिस्थापन गर देशको अर्थतन्त्रलाई टेवा दिने बताइएको छ ।

अर्कोतिर वायु प्रदूषण कम गरी वातावरण र जनस्वास्थ्यलाई समेत फाइदा पुग्ने सञ्चालक समिति सदस्य तुलाधरले बताए ।

यसअघि पनि सार्वजनिक यातायात सञ्चालनमा संस्थाले सङ्घीय, प्रादेशिक र स्थानीय सरकारको सहकार्यमा काठमाडौंलगायत देशका अन्य सहरमा समेत सहकार्य गर्दै आएको छ ।

वातावारणमैत्री र प्रभावकारी सार्वजनिक यातायात सेवाको विस्तारमा समेत तीन तहको सरकारसँग समन्वय गर्ने योजना रहेको तुलाधरले बताएका छन् ।

विद्युतीय बस आउँदै गर्दा संस्थाले यीभन्दा ठूला विद्युतीय बस पनि सञ्चालन गर्न आवश्यक अनुसन्धान सुरू भएको जनाइएको छ ।

नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा चार्जिङ स्टेशनको व्यवस्था गर्ने र पुराना डिजेलका गाडीलाई विद्युतीयमा रुपान्तरण गर्न आवश्यक अनुसन्धान गर्ने काम पनि अघि बढाइरहेको तुलाधरले बताएका छन् ।

संस्थाले ललितपुर महानगरपालिकासँगको सहकार्यमा थप चार विद्युतीय बस खरिद गर्ने प्रक्रियासमेत अगाडि बढाएको छ ।

तीन वर्ष पहिले नै बागमती सरकार, काठमाडौं र ललितपुर महानगरपालिकाले साझा यातायातमार्फत बस खरिद गर्ने गरी संस्थाको शेयर खरिद गरेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१