close

फोरजीमा पछि पर्‍यो एनसेल, एक महिनामै टेलिकमका ९ लाख ग्राहक थपिए

टेकपाना टेकपाना

कात्तिक १४, २०७८ १५:५७

फोरजीमा पछि पर्‍यो एनसेल, एक महिनामै टेलिकमका ९ लाख ग्राहक थपिए

काठमाडौं । एक महिनाको अवधिमै नौ लाख फोरजी ग्राहक थप्दै नेपाल टेलिकमले फोरजी सेवामा एनसेललाई पछि पारेको छ । लामो समयदेखि फोरजी ग्राहकको हिसाबले नेपाल टेलिकम पछि पर्दै आएको थियो ।

लगानी धेरै, तर ग्राहक थोरै भन्ने आरोप खेप्दै आएको टेलिकमले फोरजी सेवा सुरु गरेको झण्डै पाँच वर्षपछि फोरजीमा एनसेललाई पहिलो पटक पछि पारेको हो ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको भदौ महिनासम्मको तथ्याङ्कअनुसार टेलिकमको फोरजी ग्राहक ६२ लाख ६८ हजार ३९ पुगेको छ ।

जुन अघिल्लो महिनाको तुलनमा नौ लाख २७ हजार ६८६ बढी हो । साउनमा टेलिकमका फोरजी ग्राहक ५३ लाख ४० हजार ३५३ रहेका थिए ।

तथ्याङ्कअनुसार भदौमा एनसेलको फोरजी ग्राहक ५७ लाख २५ हजार ७८० रहेको छ । जुन साउन महिनाको तुलनामा दुई लाख १४ हजार ३९४ बढी हो ।

साउनमा एनसेलको फोरजी ग्राहक ५५ लाख ११ हजार ३८६ थिए । त्यस्तै तेस्रो ठूलो सेवाप्रदायक स्मार्ट टेलिकमको भने भदौमा फोरजी ग्राहक घटेको तथ्याङ्कले देखाएको छ ।

साउनको तुलनामा स्मार्टको फोरजी ग्राहक पाँच हजार नौ सय २६ ले घटेर एक लाख ७६ हजार ६८९ पुगेको छ । कम्पनीको साउनमा फोरजी ग्राहक एक लाख ८२ हजार ६१५ रहेका थिए ।

योसँगै नेपालमा फोरजी प्रयोगकर्ता एक करोड २१ लाख ७० हजार ५०५ पुगेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१