close

यस्तो थियो इन्टरनेटबाट पठाइएको पहिलो ईमेल

टेकपाना टेकपाना

कात्तिक १५, २०७८ १३:४४

यस्तो थियो इन्टरनेटबाट पठाइएको पहिलो ईमेल

काठमाडौं । आजभन्दा ५० वर्षअघि रे टमलिन्सनले सबैभन्दा पहिलो ईमेल पठाएका थिए । अर्पानेटमा प्रोग्रामरको रुपमा कार्यरत उनले बनाएको उक्त सिस्टम नै आज ईमेलको रुपमा परिचित छ । उनले आफूले आफूलाई नै म्यासेज पठाएर पहिलो पटक म्यासेजिङ सिस्टमको परीक्षण गरेका थिए ।

त्यसरी पठाएको पहिलो म्यासेज “QWERTYUIOP.” थियो । टमलिन्सनले म्यासेज पठाउन सफल भएको ३० वर्षपछि गुगलका इन्जिनियर पाउल बचहिटले आफ्नै ईमेलको परीक्षण गरे । उक्त परीक्षणका क्रममा आफूले भोगेको समस्या र त्यसको समाधानबारे उनले आफ्नो ब्लग पोष्टमा लेखेका छन् ।

‘मेरो ईमेलमा समस्या थियो । महत्वपूर्ण म्यासेजहरु पनि खोज्नुपर्ने अवस्था हुन्थ्यो । सबै एउटा कम्प्युटरमा स्टोर भएर बस्ने हुँदा खोजेको ईमेल नपाइने समस्या थियाे । त्यतिमात्रै नभएर ईमेलको इन्टरफेस पनि पुरानो थियो ।’

उनले आफ्नो ब्लग पोस्टमा भनेका छन, ‘यही पीडादायी अनुभवले मलाइ राम्रो सिस्टमयुक्त ‘जिमेल’ बनाउन प्रेरणा मिलेको थियो ।’

उनले सुरुमा ब्राउजरमा आधारित ईमेल सिस्टमको विकास गरे । जसमा प्रयोगकर्ताले आफ्नो म्यासेज सहजै खोज्न सकिने बनाए । ‘जब जिमेल निर्माण भयो, त्यो मेराे आवश्यकताअनुसार बनाइएको थियाे,’ उनले भनेका छन, ‘मलाइ थाहा थिएन, प्रयोगकर्ताले यसलाई मन पराउँछन वा पराउँदैनन् ।’

तर, जब जिमेलको बेटा भर्सन सार्वजनिक गरी गुगलमै कार्यरत अन्य साथीभाइलाई उपलब्ध भयो । तब सबैले यसलाई रुचाए । त्यसैका आधारमा जिमेल सन् २००४ को अप्रिलमा सबैलाई उपलब्ध भयो ।

सहज सर्च फिचरका साथ उपलब्ध भएको जिमेलमा त्यतिबेला १ जीबी स्टोरेज उपलब्ध थियो । जुन त्यसबेला अन्य ईमेल सर्भिसमा उपलब्धभन्दा पाँच सय गुणा बढी थियो ।

यो कुरा प्रयोगकर्ताले विश्वास गर्न सकिरहेका थिएनन् । किनभने त्यो अप्रिल फुलका दिन सार्वजनिक गरिएको थियो ।

धेरैलाई जिमेलले अप्रिल फुल मनायो भन्ने भयो । तर, त्यो यथार्थ थियो । जुन आज गुगलको सेन्टर पाेइन्ट बनेको छ ।

यसको देन भने आजभन्दा ५० वर्षअघि टमलिन्सनले सुरु गरेको ‘@’ साइन नै हो । ‘@’ साइनबाट आजभन्दा ५० वर्षअघि सुरु भएको ईमेल सर्भिस आज म्यासेजिङका लागि सबैभन्दा उत्तम विकल्प बनेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१