close

सित्तैमा डिजिटल मार्केटिङ गर्न सघाउने प्लेटफर्म : डिजिटल्ली नेपाल

टेकपाना टेकपाना

कात्तिक १५, २०७८ १५:३९

सित्तैमा डिजिटल मार्केटिङ गर्न सघाउने प्लेटफर्म : डिजिटल्ली नेपाल

काठमाडौं । अहिलेको जमानामा इन्टरनेट नै सबथोक भएको छ । कुनै एक व्यक्तिदेखि कम्पनी, संघसंस्था सबै इन्टरनेटमा आश्रित छन् । आफ्नो कन्टेन्ट वा वेबसाइटलाई प्रतिस्पर्धी बजारमा अगाडि ल्याउनसक्ने नै सफल बनेका छन् ।

यसैबीच नेपालका केही युवाको अग्रसरतामा डिजिटल मार्केटिङ र एसईओ (सर्च इन्जिन अप्टिमाइजेशन) टुल विकास भएको छ, जसले तपाईंका लागि सित्तैमा डिजिटल मार्केटिङको जिम्मा लिन्छ ।

कनेक्ट यु प्रा.लि. को नामबाट करिब तीन महिनाअघि यस्तो टुलको विकास भएको हो । जसलाई नाम दिइएको छ, डिजिटल्ली नेपाल

यो टुलको प्रयोग गरी तपाईंले आफ्नो इन्टरनेटमा आधारित कन्टेन्टलाई धेरैभन्दा धेरै दर्शक तथा पाठकसम्म पुर्‍याउन सक्नुहुन्छ ।

विशेषतः ब्लगरलाई लक्षित गरेर यो मार्केटिङ प्लेटफर्म ल्याइएको कम्पनीका संस्थापक दीपक सुवेदीले बताए ।

वेबसाइटमा ब्लगिङ गर्नेमा धेरैजसो विद्यार्थी भएको र उनीहरूलाई ‘पेड’ सुविधा सहयोगी नहुने भएकाले एसईओ सेवा सुरुवात गरिएको उनको भनाइ छ ।

डिजिटल्ली नेपालको टिममा अहिले दीपक सुवेदी, विवेक सापकोटा, नवीन दाहाल  र विरोचन दाहाल गरी चार जनाले काम गरिरहेका छन् । 

सर्च इन्जिन अप्टिमाइजेसनले विभिन्न सामाजिक प्लेटफर्ममा गरिएका पोष्टलाई धेरैमाझ पुर्‍याउन सहयोग गर्छ । तीन महिनामै आफूहरूले धेरै सन्तुष्ट प्रयोगकर्ता पाएको सुवेदीको दाबी छ ।

ईमेल भेरिफिकेसन र स्टोरेज चेक गर्ने काम समेत यहाँबाट हुने गरेको उनले बताए । पेड किवर्डहरू त धेरै छन् । तर कन्टेन्ट राइटरलाई प्रोत्साहन गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको सुवेदीले बताए ।

कम्पनीले चाँडै नै अरु डिजिटल प्रडक्ट पनि ल्याउने तयारी गरिरहेकाे छ । एसईओ सेवा तत्काल वेब पोर्टलका माध्यमबाट प्रयोगकर्ताले प्राप्त गर्न सक्छन् । पैसा खर्च गरेर डिजिटल सामग्रीहरू प्रवर्द्धन गर्ने व्यवस्था त बजारमा छ ।

तर सित्तैमा किवर्ड उपलब्ध गराउने अहिलेसम्मकै पहिलो प्लेर्टफर्म आफूहरूले उपलब्ध गराएको सुवेदीको दाबी छ ।

अहिलेको समयमा विशेषगरी विद्यार्थीहरूले आफ्नो पकेट खर्चका लागि पढाइभन्दा बाहेकको समय विभिन्न वेबसाइटका लागि ब्लग लेख्ने वा कन्टेन्ट बनाउने गरेको र उनीहरूले व्यक्तिगत तहबाट एसईओ किवर्ड किन्नुपर्ने भयो भने महंगाे पर्न जान्छ ।

‘एसईओ कम्पनीहरूले १० हजारदेखि माथि लिने गरेका छन्, जुन विद्यार्थी र व्यक्तिगत तहबाट काम गर्नेका लागि खर्चिलो हुन आउँछ । यसकारण यस्ताे किसिमकाे एसईओ सेवा सुरुवात गरिएकाे हो,’ उनले भने ।

उनका अनुसार हजारौं वेबसाइटमा प्रयोग भइरहेका किवर्डहरूलाई एउटै पोर्टफोलियोबाट देखाउन मिल्ने बनाइएकाे छ ।

उनी भन्छन्- यो सेवा ब्लगरहरूका लागि मात्र नभएर युट्युव कन्टेन्ट, इन्स्टाग्राम, टिकटक र ईमेलका कन्टेन्ट क्रियटरका लागि पनि उपलब्ध छ ।

अहिलेसम्म डिजिटल्ली नेपालको नि:शुल्क एसईओमा करिब १० करोड ईमेल भेरिफिकेसन, करिब २५ करोडको हाराहारीमा किवर्ड विश्लेषण हुँदा लगभग ५० हजार प्रयोगकर्ता जोडिएका छन् ।

ईमेल 

ईमेल अन्तर्गत ईमेल भ्यालिडेसन टुल, बल्क ईमेल भ्यालिडेसन, ईमेल टीएक्सटी एक्स्ट्रयाक्सन टुल र सब्जेक्ट लाइन टेक्स्टर रहेका छन् । जसमा कुनैपनि आधिकारिक ईमेल पठाउन लाग्दा उक्त ईमेल अकाउन्ट आधिकारिक भएन/भएको र उक्त ईमेलमा स्पेस भएन/भएको साथै ब्लक लेभलमा भए/नभएको समेत हेर्न मिल्ने सुवेदीले बताए । 

युट्युव

युट्युव अन्तर्गत युट्युव किवर्ड र टपिक एक्प्लोरर छन् ।

डिजीटल्ली नेपालको एसईओ प्रयोग गर्नका लागि वेबपेज मार्फत अकाउन्ट बनाइसकेपछि लगईन गरेर सजिलै र सित्तैमा चलाउन सकिन्छ ।

युट्युव भिडिओ निर्माण गर्दैगर्दा युट्युव सेक्सनमा गएर क्रियटरले आफूले बनाएको भिडिओ कति प्रभावकारी छ/छैन्, प्रतिस्पर्धा कत्तिको छ भनी सबै कुरा त्यहाँ देखिने हुनाले यो टुल मूलत: कन्टेन्ट क्रियटरका लागि निकै प्रभावकारी हुन सक्छ । 

इन्स्टाग्राम

इन्स्टाग्रामको कुरा गर्नुपर्दा इन्स्टाग्राम जेनेरेटरको प्रयोग गरी अहिले ट्रेन्डिङमा भएका ह्यासट्याग किवर्डहरू खोज्न सकिन्छ । 

टिकटक

टिकटक प्रयोगकर्ताका लागि पनि उपयोगी हुने किवर्ड खोज्न र विश्लेषण गर्नका लागि टिकटक जेनेरटर वेब पोर्टलमा समावेश छ । 

 वेब टुल

त्यसैगरी वेब टुल प्रयोगकर्ताका लागि प्राइभेसी पोलिसी जेनेरेटर र सर्तहरू सम्बन्धी टुल रहेको छ । 

डिस्कभर 

साथै नयाँ डिजिटल खोजकर्ताका लागि भनेर ‘डिस्कभर’को विकल्प पनि समावेश छ । जसअन्तर्गत हाई सीपिसी किवर्ड, इन्फ्ल्युन्सर र अफिलियट प्रोग्राम लगायत छन् ।

हजारौं वेबसाइटका किवर्डहरू एउटै पोर्टफोलियोबाट विश्लेषण गर्ने र प्रयोगकर्तालाई सहजतामा काम गरिरहँदा कुनै सर्च इन्जिनसँगको समन्वयको विषयमा पनि सोचिरहेको उनले बताएका छन् ।

एसईओ सर्भिसका प्रयोगकर्ताले जोइन हुनासाथ चाँडै रिजल्ट खोजी नहाल्न आग्रह गरेका छन् । कम्पनीका संस्थापक सुवेदीले प्रयोगकर्ताहई आफ्नो कन्टेन्टमा पनि ध्यान दिन सल्लाह दिन्छन् ।

डिजिटल्ली नेपालका प्रयोगकर्ता बढ्दै गएमा संस्थागत रुपमा नै हुने डिजिटल मार्केटिङसमेत गर्ने योजना कम्पनीकाे छ ।

कम्पनीका संस्थापक सुवेदी ईसेवाको मार्केटिङ म्यानेजर समेत रहिसकेका छन् । हाल भने चारैजना सुबिसुमा कार्यरत छन् । अहिले उनीहरूले सुबिसुको कामबाट बचेको समय डिजिटल्ली नेपाललाई दिइरहेका छन् ।

सुरुवाती दिन भएकाले आम्दानी हुन थालिनसकेको र सबै खर्चहरू जागिरकै भरमा धानिरहेको सुवेदीले बताए । चाँडै नै अन्य डिजिटल प्रडक्टहरू लन्च गर्ने कम्पनीको तयारी छ । यसका लागि आफूहरूले आगामी प्रडक्ट कनेक्ट यु अडियो प्लेर्टफर्म ल्याउने उनले जनाए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१