close

भिभोमा फाइभजी विज्ञ रहेका नेपाली युवासँगको विशेष अन्तर्वार्ता

टेकपाना टेकपाना

कात्तिक १६, २०७८ १६:१६

भिभोमा फाइभजी विज्ञ रहेका नेपाली युवासँगको विशेष अन्तर्वार्ता

फाइभजी फिजिकल लेयर सिस्टम डिजाइन, अनुसन्धान र स्यान्डराइजेसनमा काम गर्दै आएका नेपाली नागरिक राकेश ताम्राकार भिभोमा फाइभजी स्ट्यान्डर्ड एक्सपर्टको रुपमा कार्यरत छन् ।

भिभो डेटा च्यानल, कन्ट्रोल च्यानल, पाइलट सिग्नल, मल्टी एन्टेना टेक्नोलोजी र एमएम वेभ टेक्नोलोजी सहित फाइभजी (एनआर) रेडियो एक्सेस टेक्नोलोजीको विकासमा समेत संलग्न भइसकेका उनीसँग मोबाइल प्रविधि उद्योगमा अनुसन्धान र विकासको २० वर्षभन्दा लामो अनुभव छ ।

थ्रीजी, फोरजी र फाइभजी स्ट्यान्डर्ड सम्बन्धी अनेकौँ प्राविधिक दस्तावेजमा समेत योगदान पुर्‍याएका ताम्राकारले १९९७ मा वायरलेस कम्युनिकेसनमा इन्जिनियरिङ पुरा गरेका थिए । सन् २००० मा सिग्नल एन्ड इन्फरमेसन प्रोसेसिङ इन्जिनियरिङमा स्नातकोत्तर पुरा गरेपछि उनी भिभोमा आवद्ध भए ।

त्यसअघि डेटाङ टेलिकम, नोकिया साइमेन्स नेटवर्क र बेइजिङ फाउन्डर लिङ्कएयर कम्युनिकेसनमा कामको  गरिसकेको अनुभव समेत उनीसँग छ । भिभोका प्रवक्ता समेत रहेका उनै ताम्राकारसँग टेकपानाले फाइभजी प्रविधिसँग सम्बन्धित रहेर गरेको विशेष कुराकानीः

तपाईंको भिभोसम्मको यात्रालाई संक्षिप्त रुपमा बताइदिनुहुन्छ ? 

मैले सन् २००० तिर इन्जिनियरिङमा स्नातकोत्तर पुरा गरिसकेपछि वायरलेस प्रविधिमा काम गर्न थालेको हुँ । थ्रीजी, फोरजी हुँदै अहिले भिभोमा फाइभजीको स्ट्यान्डराइजेसनको काममा संलग्न छु ।

यसमा नेटवर्कहरूमा मोबाइल फोनलाई कसरी कम्प्याटिबल बनाउन सकिन्छ भन्नेमा काम हुन्छ । यस किसिमको नेटवर्क अन्य कम्पनीको फोनले पनि काम गर्ने किसिमको हुनुपर्छ । यसै आधारमा भिभोका फाइभजी फोनहरू डिजाइन र विकास गरेपछि बजारमा आउँछन् । 

तपाईंले अहिले भिभोमा रहेर फाइभजी प्रविधिको क्षेत्रमा काम गरिरहनु भएको छ । यसर्थमा यो प्रविधिको क्षेत्रमा भिभोले अहिले केकस्ता काम गरिरहेको छ ? 

भिभो अहिले फाइभजी प्रविधिको विकाससँगसँगै अगाडि बढिरहेको छ । उदाहरणको रुपमा ‘मल्टी सिम डिभाइस’ मा कम्पनीको महत्त्वपूर्ण योगदान छ । बजारमा रहेका एकभन्दा बढी सिम लाग्ने फाइभजी मुख्यतः एउटा समस्या रहेको हुन्छ ।

जब तपाईं एउटा सिमकार्डबाट भिडिओ हेरिरहनु भएको हुन्छ, अथवा गेम खेलिरहनु भएको छ भने अर्को सिमकार्डबाट कल गर्दा बीचैमा हेरिरहेको भिडिओ अथवा खेलिरहेको गेम अवरुद्ध हुने समस्या आउँछ ।

हामीले यो समस्या समाधान हुने दिशामा स्यान्डराइजेसनको लागि काम गरिरहेका छौँ । जसले गर्दा एउटा सिमकार्डमा भिडिओ हेर्दै गर्दा अर्को सिमकार्डबाट सहजै कल गर्न सकिनेछ र प्रयोगकर्ताले त्यसमा कुनै किसिमको समस्या भोग्नुपर्ने छैन ।

अर्कोतिर फाइभजी फोनहरू अलिक जटिल किसिमका हुन्छन् । किन भने यी फोनहरूले एकदमै ठूलो ब्यान्डविथमा काम गर्नुपर्ने हुन्छ । यस्तोमा फोनले पावर (ऊर्जा) पनि धेरै खपत गर्ने चुनौती रहन्छ ।

यदि हामीले यो समस्यालाई समाधान गर्न सकेनौँ भने छिनछिनमा फोन चार्ज गरिरहनु पर्ने बाध्यता हुन्छ । भिभोले यस किसिमको समस्या समाधानका लागि ‘पावर सेभिङ टेक्नोलोजी’ र यस सम्बन्धी ‘स्ट्यान्डर्ड’मा काम गरिरहेको छ ।

यो प्रविधिले कसरी काम गर्छ भने जब मोबाइलले डेटा पठाउने वा प्राप्त गरिरहेको छैन भने ह्यान्डसेट स्वतः स्लिप मोडमा जान्छ । स्लिप मोड भन्नुको अर्थ सबै हार्डवेयर तथा सफ्टवेयर बन्द हुन्छन् र त्यसबाट पावर जोगिन्छ । यद्यपि सञ्चार भन्ने कुरा नियमित रुपमा जारी रहने विषय हो । यसमा कुनै किसिमो ढिलोपना हुनु हुँदैन ।

भिभोका अहिलेका पछिल्ला स्मार्टफोनहरू हेर्नु भयो भने निकै पातला र कम्प्याक्ट कसिमका छन् । यी फोनहरूले फाइभजी मात्र होइन, फोरजी, थ्रीजी र सम्भवतः टुजी समेत सपोर्ट गर्छन् । यसले गर्दा फोनको प्रणाली निकै जटिल हुन पुग्छ ।

एउटा सानो स्मार्टफोनले यति धेरै प्रविधिलाई सपोर्ट गर्नका लागि निकै धेरै अनुसन्धान र विकासको जरुरत पर्दछ । ता कि फाइभजी स्मार्टफोनलाई ठूलो अथवा गह्रौँ हुन नदिन र फोरजी स्मार्टफोन सरहको तौल र आकारमा सीमित राख्न सकियोस् ।

फोनहरू बनाउने कुरा कम्पनीभित्रको आन्तरिक विषय मात्र हुँदैन । यसक्रममा हामीले एसिया, युरोप, अमेरिका सहित विश्वभरका अनेकौँ दूरसञ्चार सेवाप्रदायकसँग मिलेर काम गर्नुपर्छ ।

विभिन्न सेवाप्रदायकले भिन्नभिन्न किसिमका फ्रिक्वेन्सी ब्यान्ड प्रयोग गरिरहेका हुन्छन् । त्यसैले फोनले समेत सम्भव भएसम्म ती सबै प्रकारका फ्रिक्वेन्सीमा काम गर्नुपर्ने हुन्छ । यसका लागि फोनभित्र त्यस्तै किसिमका इन्टिग्रेटेड एन्टेनाहरू राख्नुपर्छ । यो पनि एकदमै चुनौतीपूर्ण काम हो । फरक फरक प्रविधि र ब्यान्डमा सपोर्ट गर्नसक्ने गरी डेभलपमेन्ट इन्जिनियरहरूले काम गरिरहेका हुन्छन् । 

फोरजी तथा भीओएलटीई सेवा समेत भर्खर विस्तार हुन लागेको नेपाल जस्तो मुलुकका प्रयोगकर्ताका लागि फाइभजीमा त्यस्तो आकर्षणको विषय के हुन सक्ला ? 

सामान्यतयाः प्रयोगकर्ताको साइडबाट सोच्ने विषय नै फोरजी र फाइभजीमा के फरक छ भन्ने नै हो । तर पनि ब्यान्डविथ र सेवाको गुणस्तरको हिसाबले यो पूर्णतः फरक हुनेछ । फाइभजी फोनले एक गिगाबिट प्रति सेकेन्डसम्मको डेटा स्पिडलाई सपोर्ट गर्न सक्छ । मुख्यतः हाई स्पिडसँगै विश्वसनीय र ‘लो लेटेन्सी’ सञ्चारलाई यसले सम्भव तुल्याउँछ ।

त्यसैले फाइभजी प्रविधि नेटवर्कमा इन्टिग्रेट भएर विभिन्न उद्योग र पूर्वाधारका लागि सहयोगी बन्न सक्छ । यसको अर्थ फाइभजीले आईओटी डिभाइस टु डिभाइस कम्प्युनिकेसन, भेहिकल टु भेहिकल कम्युनिकेसनलाई सपोर्ट पुग्नेछ ।

यति मात्र नभएर स्मार्ट सिटी र स्मार्ट सर्भिसमा समेत यसले सहयोग पुग्न सक्छ । ई हेल्थ, ई एजुकेसन लगायतका सेवालाई पनि फाइभजीको हाई स्पिडको भरपर्दो सञ्चारले सपोर्ट गर्नेछ । 

मुख्यतः फाइभजी प्रविधिलाई ओद्योगिक प्रयोजनका लागि हेर्ने गरिएको छ । यस अर्थ सामान्य उपभोक्ता तथा प्रयोगकर्ताको स्तरमा यसको खासै उपयोगिता नहुन सक्ने भनाई पनि छ । यो विषयलाई चाहिँ तपाईंले कसरी हेर्नुभएको छ ?

फाइभजी अहिले विकासकै क्रममा छ । समयक्रमसँगै यो परिपक्व हुनेछ । विकसित र औद्योगिक सहरमा मात्र होइन, नेपाल जस्तो अल्प विकसित देशको सन्दर्भमा समेत यो उपयोगी हुने मेरो विश्वास छ ।

त्यसका लागि सही समय आउनेछ । अहिलेको सन्दर्भमा यसको उपयोगिताको विषयलाई लिएर प्रयोगकर्ताले एप्लिकेसनको तहमा सरोकार राखिरहेका हुन सक्छन् । अहिले फाइभजी प्रविधि उपयोग गर्नेगरी नयाँ किसिमका एप्लिकेसनहरू विकास भइरहेका छन् । त्यसपछि तपाईंले नेपालमा पनि यसको उपयोग भएको देख्न सक्नुहुनेछ ।

फाइभजी प्रविधिले व्यवसाय-व्यवसायबीचको सञ्चारलाई मात्र नभएर सामान्य उपभोक्तालाई समेत सहजता ल्याउनेछ । उदाहरणको रुपमा भन्नुपर्दा अहिलेको कोभिड १९ महामारीको समयमा विद्यालयहरूले अनलाइन कक्षाहरू सञ्चालन गरिरहेका छन् ।

यस्ता सेवाहरू तत्कालै व्यक्तिगत तवरमा उपभोक्ताका लागि ल्याउन सकिन्छ । किन भने फाइभजीमा विश्वसनीय र निकै तीव्र किसिमको नेटवर्क पूर्वाधार रहेको हुन्छ । यसमा लेटेन्सी मिलि सेकेन्डमा हुन्छ । यी विषहरू उपभोक्ताको सञ्चारका लागि निकै महत्वपूर्ण छन् ।

फाइभजीमा प्राविधिक परिपक्वता हासिल गर्न केकस्ता चुनौतीको सामना गर्नुपर्ने देख्नुहुन्छ ? 

 निकै सान्दर्भिक प्रश्न गर्नुभयो । वास्तवमा फाइभजी एकदमै जटिल प्रविधि हो । धेरै ब्यान्डविथमा काम गर्ने भएकाले फ्रिक्वेन्सी पनि त्यति नै धेरै आवश्यक हुन्छ । फाइभजी फ्रिक्वेन्सीलाई हामीले दुई ओटा मुख्य समूहमा विभाजन गरेर हेर्न सक्छौँ ।

पहिलो फ्रिक्वेन्सी रेञ्जमा २०० मेगाहर्जदेखि ७ गिगाहर्जसम्म फाइजी सञ्चालन गर्न सकिन्छ । यसले टुजी, थ्रीजी र फोरजी सबै सेवामा प्रयोग भएको फ्रिक्वेन्सीलाई समेत समेट्छ ।

अर्को फ्रिक्वेन्सी रेञ्ज २४ गिगाहर्जदेखि ३२ गिगाहर्जसम्मको छ । यो फ्रिक्वेन्सी रेञ्ज नै हार्डवेयर, सफ्टवेयर र पूर्वाधार विकासका हिसाबले सबैभन्दा चुनौतीपूर्ण छ । अनेक मध्ये फाइभजीको एउटा मुख्य चुनौती भनेको धेरै ऊर्जा खपत हो ।

ऊर्जाखपतको विषय ह्यान्डसेट डिभाइसको लागि मात्र चुनौतीपूर्ण छैन, सँगसँगै पूर्वाधार तर्फ पनि उत्तिकै चुनौतीपूर्ण छ । यी चुनौतीहरूलाई आउँदा दिनहरूमा समाधान गरेर अगाडि बढ्नुपर्नेछ । यी फ्रिक्वेन्सीमा आधारित एप्लिकेसन बनाउने कुरा पनि अर्को चुनौतीको रुपमा छ । जसले फाइजभीको उपयोगिता बढाउने सामर्थ्य राख्न सकोस् । 

स्ट्राटेजी एनालिसिस अनुसार हालै मात्र भिभो छिटो विकास भइरहेको फाइभजी स्मार्टफोनको दोस्रो स्थानमा रहेको छ । फाइजभीको प्रतिस्पर्धामा भिभो कसरी खरो रुपमा उत्रिन खोजिरहेको छ ? 

भिभो सुरुवाती समयदेखि नै फाइभजी प्रविधिमा ध्यान दिने मध्येको एक कम्पनी हो । कम्पनीले डिसेम्बर २०१६ मै फाइभजी टास्क ग्रुप बनाएर यसमाथिको काम सुरु गरेको थियो । त्यसका लागि बेइजिङ र सान्जेनमा छुट्टै कार्यालय समेत सञ्चालनमा ल्यायो । अहिले हामीसँग विश्वभर नौ ओटा रिसर्च इन्स्टिच्युट र टिमहरू छन् ।

जसमार्फत सय भन्दा बढी विज्ञहरूले फाइभजी प्रविधि माथि खोज अनुसन्धान र विकासको काम गरिरहेका छन् । अहिले भिभोको नाममा दुई हजारभन्दा बढी फाइभजी प्याटेन्ट दर्ता छन् ।

फाइभजीको अनुसन्धान र विकासको राम्रो विशेषज्ञता र क्षमताले गर्दा भिभोले यो उद्योगमा नेतृत्वदायी स्थान ओगट्न सफल भएको हो । यो सफलताको श्रेय हाम्रो अनुसन्धान र विकासमा काम गर्ने साथीहरूलाई नै जान्छ ।

जसका कारण विभिन्न प्राइस रेञ्जमा हामीले फाइभजी स्मार्टफोनहरू बजारमा ल्याउन सकेका छौँ । अहिले विश्वभरका प्रयोगकर्ताहरू क्रमशः फाइभजी चल्ने स्मार्टफोनको पहुँच विस्तार भइरहेको छ ।

सिक्सजीको विषयमा पनि तपाईंहरूले केही सोच्नुभएको छ ?

पक्कै पनि फाइभजीमा नेतृत्वदायी कम्पनी भएकै कारण भिभोको अबको ध्यान सिक्सजीमा पनि छ । यो प्रविधि कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयलाई हामीले राम्रोसँग महसुस गरेका छौँ ।

यही प्रयोजनका लागि भिभोले दुई ओटा श्वेतपत्र सार्वजनिक गरिसकेको छ । जसमार्फत हामीले डिजिटल विश्वलाई जोड्ने सिक्सजी प्रविधिको ‘हाइपोथेटिकल युज केसेज’ (प्रविधि प्रयोग सम्बन्धी काल्पनिक उदाहरण) र सम्भावित एप्लिकेसन समेत प्रस्तुत गरेका छौँ । अहिले भिभोको इन्जिनियरिङ तथा विज्ञ टिम यसै दिशामा काम गरिरहेको छ ।

फाइभजी प्रविधि र यसको असरको विषयमा अझै पनि थुप्रै दुविधा रहेको पाइन्छ । यस किसिमका दुविधा अन्त्य गर्न र जिम्मेवार बहसको थालनी गर्न एउटा प्रविधिज्ञको रुपमा तपाईंको भूमिका के हुनसक्छ ?

मलाई यस किसिमका बहसहरूमा एकदमै रुची पनि छ । हामी दिनप्रतिदिन प्रविधि विकास भइरहेको समाजमा छौँ । प्रविधि एकदमै छिटो विकास भइरहेको छ र त्यसैसँगै अभ्यस्त हुँदै जाने कुरा त्यति सहज छैन । 

इन्टरनेटले गर्दा सूचना तथा जानकारीहरू एकदमै छिटो प्रसार भइरहेका छन् । सँगसँगै यस्तोमा गलत सूचनाहरू पनि मिसिने सम्भावना रहन्छ । एउटा प्रविधिज्ञको प्राविधिक दृष्टिकोण र सर्वसाधारणबीचको अन्तरलाई मेटाउने प्रयास भइनै रहन्छ ।

यी सबै सञ्चार प्रविधिको पछाडिको विज्ञान र मानिसहरूमा यसको प्रभावको विषयमा सजिलोगरी बुझाउने कोसिस गरिरहेका हुन्छौँ ।

वास्तवमा फोरजीको तुलनामा फाइभजी के कति कारणले फरक छ, हाम्रा पाठकहरूले सहजै बुझ्ने तवरमा बताइदिनु हुन्छ ? 

वास्तवमा यो थ्रीजी वा फोरजीमा सुधारिएको प्रविधि नभएर नितान्त नयाँ विकसित प्रविधि हो । यसले गर्दा पूर्वाधार संरचनाहरू थपिनेछन् । यसमा फोनबाट हरेक चिजसँग कनेक्ट हुन सकिनेछ ।

उद्योगको तहमा भन्ने हो भने अरेक आईओटी उपकरणहरू कनेक्ट हुनेछन् । अनि नेटवर्कको साइडबाट भन्नुपर्दा इलेक्ट्रिक ग्रिड, पावर सप्लाई, पानि आपूर्ति, जस्ता सबै चिजहरू फाइभजी नेटवर्क सिस्टमबाट कनेक्ट हुनेछन् । जसले गर्दा यसअघिको तुलनामा मानव जीवनलाई अझ सहज बनाउनेछ ।

फाइभजीको तयारीको सन्दर्भमा नेपाललाई तपाईंका कुनै सुझाव छन् ? 

इन्टरनेटबाटै भए पनि मैले नेपालको फोरजी र फाइभजी प्रविधिको विस्तार तथा तयारी बारे जानकारी पाएको छु । आशा छ, नियामकले यो प्रविधि विकास र विस्तारको दिशामा सही समयमा उचित निर्णय लिनेछ । फाइभजी प्रविधि प्रयोगमा ल्याउने सन्दर्भमा फ्रिक्वेन्सी निर्धारण पहिलो कदम हो ।

मलाई विश्वास छ कि यो विषयलाई कसरी अगाडि बढाउने भन्नेमा नेपाल दूरसञ्चार प्राधिकरण सक्षम छ । तपाईंले विश्वका अन्य देशको फाइभजी डिप्लोयमेन्टलाई हेर्नुभयो भने ९०० मेगाहर्ज, दुई गिगाहर्ज, ३.५ गिगाहर्ज र सब सिक्स एवम् छ गिगाहर्ज मुनीका ब्यान्डहरू प्रयोग गरेको पाइन्छ ।

हामी प्रविधिको विकासमा संलग्न छौँ र विश्वको फाइभजी नेटवर्क विस्तारको साक्षी पनि हौँ । नेपालले पनि चाँडै नै फाइभजी प्रविधि सञ्चालनमा ल्याउनेछ । यसमा नेपालले विश्वका अन्य देशको अनुभवबाट समेत सिक्न सक्छ । 

भिभो लगायतका कम्पनीहरूले फाइभजी इनेबल ह्यान्डसेट नेपाल भित्र्याइरहेका छन् । तर यदि सरकारले फाइभजीका लागि भिन्न किसिमको फ्रिक्वेन्सी निर्धारण गरेको अवस्थामा भोलि गएर यी सेटहरूले सपोर्ट नगर्ने त होइनन् ?

भिभोको तर्फबाट भन्नुपर्दा हामीले प्रडक्टहरू बनाउँदा विभिन्न बजारलाई ध्यान दिइरहेका हुन्छौँ । चीन, युरोप, अमेरिका लगायतका देशका सेवाप्रदायकले फाइभजीका लागि कुन कुन ब्यान्डहरू प्रयोग गरिरहेका छन् भन्ने कुराका लागि हामीले बजारको अनुसन्धान समेत गरिरहेका हुन्छौँ । ता कि हाम्रा फोनहरूले ती बजारमा राम्रोसँग काम गर्न सकुन् ।

मलाई विश्वास छ कि नेपाल दूरसञ्चार प्राधिकरणले विश्वका अन्य देशमा भएका अभ्यासहरूलाई समेत मध्येनजर गरी बजारमा उपलब्ध फाइभजी स्मार्टफोनको समेत विचार  गर्नेछ । एउटा फोनले विभिन्न फ्रिक्वेन्सी ब्यान्डमा सपोर्ट गर्न सक्छ । त्यसैले मलाई विश्वास छ, हाम्रा कुनै स्मार्टफोनले नेपालको फाइभजीलाई सपोर्ट गर्दैन भन्ने अवस्था आउने छैन ।

नेपाल टेलिकमको भीओएलटीई सेवालाई भिभो लगायतका कतिपय स्मार्टफोनले अझै सपोर्ट दिन सकेका छैनन् । यस किसिमको अवस्था किन आएको होला ? 

वास्तवमा टेलिकमको भीओएलटीई सपोर्ट गर्ने सन्दर्भमा देखिएको नेटवर्क समस्याको बारेमा म त्यति धेरै राम्रोसँग जानकार भने छैन । तैपनि पछिल्लो समय बजारमा आएका भिभो स्मार्टफोनमा त्यस किसिमको समस्या छैन ।

लगभग नयाँ सबै जसो फोरजी तथा फाइभजी सपोर्ट रहेका भिभो स्मार्टफोनले भीओएलटीई सपोर्ट गर्दछन् । पुराना स्मार्टफोनको हकमा भने त्यस किसिमको समस्या आएको हुनसक्छ । सबै फोरजी स्मार्टफोनमा भीओएलटीई सपोर्ट हुन्छ भन्ने पनि छैन ।

विश्वका अन्य देशको तुलनामा नेपालको मोबाइल डेटा निकै महँगो छ । यसलाई सस्तो बनाउन स्थानीय टेलिकम कम्पनी तथा नियामकलाई तपाईंको कुनै सुझाव छ ?

टुजी, थ्रीजी र फोरजीसम्म आउँदा मोबाइल प्रविधिको हरेक पुस्तामा डेटाको मूल्य घट्दै आएको हामी देख्न सक्छौँ । यसै हिसाबले आजको समयमा हामीले फोरजीमा प्रति एमबीका लागि जति खर्च गरिरहेका छौँ, फाइभजीमा त्यस्तो खर्च अझ सस्तो हुनेछ ।

नेपालको डेटा महँगो भएको विषयमा मसँग ठ्याक्कै त्यस्तो जवाफ त छैन । तै पनि यसका पछाडि विभिन्न कारण हुनसक्छन् । एउटा प्रविधिज्ञको रुपमा भन्नुपर्दा हरेक नयाँ प्रविधिको विकासको एउटा उद्देश्य त्यसको मूल्य सस्तो बनाउनु रहेको हुन्छ ।

अन्त्यमा नेपाली प्रयोगकर्ताका लागि भिभोको तर्फबाट कुनै सन्देश छ ? 

भिभोले एकपछि अर्को गर्दै सर्वसुलभ मुल्यमा फाइभजी स्मार्टफोन बजारमा ल्याइरहेको छ । भिभोका स्मार्टफोनमार्फत तपाईंले फाइभजीको गुणस्तर र सेवालाई अनुभव गर्न सक्नुहुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१