close

स्मार्टफोन बिक्रीमा साओमीलाई उछिन्दै पुनः दोस्रो स्थानमा एप्पल

टेकपाना टेकपाना

कात्तिक १७, २०७८ १५:१०

स्मार्टफोन बिक्रीमा साओमीलाई उछिन्दै पुनः दोस्रो स्थानमा एप्पल

काठमाडौं । स्मार्टफोन बिक्रीको हिसाबले एप्पल पुनः विश्वको दोस्रो ठूलो ब्राण्ड बन्न सफल भएको छ । सन् २०२१ को दोस्रो त्रैमासिकसम्म चिनियाँ ब्राण्ड साओमीभन्दा पछि परेको एप्पलले तेस्रो त्रैमासिकमा भने आफूलाई पुनः दोस्रोमा स्थापित गर्न सफल भएको हो ।

स्मार्टफोन बजारको तथ्याङ्क केलाउने संस्था क्यानालिसले हालै सन् २०२१ को तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

उक्त प्रतिवेदन अनुसार तेस्रो त्रैमासिक (जुलाईदेखि सेप्टेम्बरसम्म) मा कुल ३२५.५ मिलियन अर्थात ३२ करोड ५५ लाख युनिट मोबाइल बिक्री भएको छ । जुन अघिल्ला वर्षको सोही अवधिको तुलनामा भने ६ प्रतिशत कम हो ।

यस अवधिमा सामसङले ६९.४ मिलियन स्मार्टफोन बिक्री गर्न सफल भएको छ । तर, यो गत वर्षको साेही अवधिको तुलनामा १३ प्रतिशत कम हाे । प्रतिवेदन अनुसार अघिल्लो वर्षको तुलनामा स्मार्टफोनको बिक्री कम भएता पनि सामसङ २१ प्रतिशत बजार हिस्साका साथ पहिलो नम्बरमै छ ।

त्यस्तै १५ प्रतिशत बजार हिस्साका साथ एप्पल दोस्रो स्थानमा रहेको छ । एप्पलले यो अवधिमा कुल ४९.२ मिलियन स्मार्टफोन बिक्री गरेको जनाइएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४ प्रतिशत बढी हो ।

विशेषगरी आईफोन १३ सिरिजका स्मार्टफोनको बढ्दो माग र आईफोन १२ सिरिज निरन्तर प्रयोगका कारण पनि एप्पलले यो सफलता हासिल गरेको हो ।

यसअघि दोस्रो स्थानमा रहेको साओमी तेस्रो स्थानमा झरेको छ । साओमीको दोस्रो त्रैमासिकमा १४ प्रतिशत बजार हिस्सा रहेको थियो । त्यसबेला एप्पलको बजार हिस्सा १२ प्रतिशतमात्रै थियो । एप्पलले तीन प्रतिशत बजार हिस्सा वृद्धि गर्दा साओमी १४ प्रतिशत बजार हिस्साका साथ तेस्रो स्थानमा झरेको छ ।

साओमीले यस अवधिमा कुल ४४ मिलियन स्मार्टफोन बिक्री गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७ प्रतिशत कम हो । यो सुचीमा ११ प्रतिशत बजार हिस्साका साथ ओप्पो चौथो स्थानमा रहेको छ भने, ११ प्रतिशत नै बजार हिस्साका साथ भिभो पाँचौ स्थानमा रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५