close

पाँच दिनमै साओमीले गर्‍यो डेढ अर्ब डलरको आम्दानी, चीनमा तीस हजार स्टोर खोल्ने लक्ष्य

टेकपाना टेकपाना

कात्तिक २२, २०७८ ११:३०

पाँच दिनमै साओमीले गर्‍यो डेढ अर्ब डलरको आम्दानी, चीनमा तीस हजार स्टोर खोल्ने लक्ष्य

काठमाडौं । चीनको ११.११ सपिङ फेस्टिभल उपभोक्ताहरूको लागि राम्रो सामान सस्तो मूल्यमा किन्ने अवसर मात्र होइन उत्पादनकर्ताहरूको लागि पनि आफ्नो उत्पादनको बिक्रीको रेकर्ड बनाउने मौका पनि हो । यो समयमा ठूला कम्पनीबीच आफ्नो सामान कति बिक्री भयो भनेर रिपोर्ट सार्वजनिक गर्ने होडबाजी चल्छ । 

यसैबीच चिनियाँ मोबाइल कम्पनी साओमीले आफ्नो पछिल्लो कमाईको विवरण सार्वजनिक गरेको छ । साओमीले सार्वजनिक गरेको रिपोर्ट अनुसार नोबेम्बर महिनाको पहिलो पाँच दिन अर्थात नोबेम्बर १ देखि नोबेम्बर ५ सम्म करिब डेढ अर्ब डलर (करिब एक खर्ब ८५ अर्ब) कमाई गरेको छ । 


हुन त ११.११ फेस्टिभल नोबेम्बर ११ को दिनमा मात्र मनाइन्छ यद्यपि उत्पादक कम्पनीहरूले भने महिनाको पहिलो दिन देखि नै छुटहरू दिने गर्छन् । जिङडङ सेल्स र्‍याङ्किङको रिपोर्ट हेर्ने हो भने हालसम्म सबैभन्दा धेरै बिक्री गर्नेमा साओमी नै अगाडी छ ।

अफलाइन मात्र होइन अनलाइन मार्केटमा पनि साओमी स्मार्टफोनको बर्चश्व रहेको रिपोर्टले जनाएको छ । योसँगै साओमीले आउने दुई तीन वर्ष भित्रै चीनमा करिब तीस हजार स्टोरहरू खोल्ने लक्ष्य राखेको बताएको छ । मोबाइल बजारमा आक्रमक रुपले अघि बढिरहेको साओमी स्मार्टफोनको दुनियाँ नम्बर एक ब्राण्ड बन्ने दौडमा छ । 

यो सपिङ फेस्टिभलमा साओमीको स्मार्टफोन पछि भने हालसम्म सबैभन्दा बढी बिक्री हुनेमा टिभी, नोटबुक लगायत अन्य सामग्रीहरू छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५