close

नागरिक एपबाट यसरी सजिलै लिनुहोस् प्यान नम्बर

टेकपाना टेकपाना

कात्तिक २४, २०७८ २०:१४

नागरिक एपबाट यसरी सजिलै लिनुहोस् प्यान नम्बर

काठमाडौं । सम्भव भएसम्मका सबै सरकारी सेवा एउटै एपबाट उपलब्ध गराउने उद्देश्यका साथ सुरु गरिएको नागरिक एपमा सुविधा थपिने क्रम जारी छ । सँगै एप प्रयोगकर्ता पनि बढिरहेका छन् ।

नागरिक एपमा हाल प्यान (स्थायी लेखा नम्बर) लिन सकिने, पुलिस क्लियरेन्स रिपोर्ट लिन सकिने, सवारी कर, आफ्नो मालपोत तथा जग्गाको विवरण हेर्न सकिने, लोकसेवाको आवेदन भर्न सकिने, बैंक खाता खोल्न सकिने लगायतका सुविधा उपलब्ध छन् ।

यति मात्र होइन, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमासम्बन्धी जानकारी समेत यही एपबाट हेर्न सकिने सुविधा पनि छ ।

सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ को अन्त्यसम्म ४२ वटा सरकारी सेवा नागरिक एपमार्फत नै लिन सकिने बनाउन लागेको छ ।

यसैबीच आज हामी नागरिक एपबाटै प्यान नम्बर लिने तरिकाबारे जानकार दिँदै छौं ।

नागरिक एपबाट प्यान दर्ता कसरी गर्ने ?

एप प्रयोग गर्न तपाईंले सुरुमा आफ्नै नाममा रहेको मोबाइल नम्बरबाट यो एपमा खता खोल्नुपर्ने हुन्छ । (एपमा खाता खोल्ने तरिका थाहा पाउन यहाँ क्लिक गर्नुहोस्)

अब सुरुमा नागरिक एप खोल्नुहोस् । नागरिक एपबाट प्यान लिन तपाईंले आफ्नो नागरिकता विवरण पुष्टी गराउनुपर्ने हुन्छ ।

त्यसका लागि नागरिकता लेखिएको स्थानमा थिच्नुहोस् । त्यसको नम्बर, जारी भएको जिल्ला, जन्म मिति र जारी भएको मिति उल्लेख गर्नुहोस् र अगाडि बढ्नुहोस् ।

तपाईंले उल्लेख गरेको विवरण र गृह मन्त्रालयमा भएको विवरण मिलेको खण्डमा नागरिकता विवरण तत्कालै प्रमाणीकरण हुन्छ । यदि तपाईंले नागरिक एपमा खाता खोल्ने क्रममा नै नागरिकता विवरण भरिसक्नुभएको छ भने यो प्रक्रिया दोहोर्‍याइरहनु पर्दैन ।

अब प्यान लेखिएको स्थानमा थिच्नुहोस् र त्यसको अन्तिममा रहेको प्यान दर्ता गर्नुहोस् लेखिएको स्थानमा दबाउनुहोस् ।

त्यसपछि आफूलाई पायक पर्ने राजस्व कार्यालय छान्नुहोस् र पुनः अगाडि बढ्नुहोस् । अब त्यहाँ तपाईंले एपमा प्रमाणीकरण गराइसकेका विवरणहरु स्वतः भरिएर आउनेछन् ।

यति गरिसकेपछि आफ्नो मोबाइलबाट आफ्नो पासपोर्ट आकारको तस्वीर खिच्नुहोस् । तपाईंको मोबाइलमा यस अघि नै तपाईंको पासपोर्ट आकारको फोटो छ भने त्यसलाई पनि प्रयोग गर्न सक्नुहुन्छ ।

अब व्यक्तिगत विवरणको सुरुमा रहेको तस्वीरको संकेतमा थिचेर मोबाइलमा रहेको आफ्नो पासपोर्ट आकारको फोटो अपलोड गर्नुहोस् ।

फाराममा छुटेका सबै विवरण थप्नुहोस् र गलत विवरण सच्याएर अगाडि बढ्नुहोस् ।

यति गरेसँगै तपाईंको निवेदन तयार भयो । अब अन्तिममा दायाँतर्फ रहेको बुझाउनुहोस् लेखिएको स्थानमा दबाउनु भयो भने तपाईंको प्यान दर्ता प्रक्रिया पुरा हुन्छ र एपमै आफ्नो प्यान कार्ड पाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१