‘अरे ! सफ्टवेयर पनि कसैले किनेर चलाउँछ भन्थे’

तस्वीरमा बायाँबाट अमितलाल जोशी, राजेन्द्र शाक्य, सन्तोष ताम्राकार, सगुनबहादुर ताम्राकार र आमिर श्रेष्ठ

काठमाडौं । केही नहुनु भनेको धेरै कुरा हुन अर्थात् गर्न बाँकी रहनु पनि हो । त्यसैले सम्भावनाको खोजी गर्न कहिल्यै छोड्नु हुँदैन । धैर्यता, इमान र लगनशीलता भए कुनैपनि काममा सफलता हासिल गर्न सकिन्छ भन्ने कुराको दृष्टान्त हो, आईएमएस सफ्टवेयर प्रालि ।

आजभन्दा करिब २१ वर्षअघि चार युवाले देखाएको जोसले आज नेपाली प्रविधिको क्षेत्रमा छुट्टै विरासत रचेको छ । नेपालमा व्यवसाय गर्नेहरूका लागि आइपर्ने सूचना प्रविधिसम्बन्धी सम्पूर्ण समस्याको समाधान दिने उद्देश्यसहित यो कम्पनी सन् २००० मा सुरु भएको थियो ।

स्थापनाकालदेखि नै कम्पनी स्थानीय बजारको माग पुरा गर्ने सफ्टवेयरको विकासमा संलग्न छ । आन्तरिक राजस्व विभागले स्वीकृत गरेका सफ्टवेयरहरू आईएमएस पस (IMS POS) सफ्टवेयर, आईएमएस रेस्टुरेन्ट सफ्टवेयर, आईएमएस डिस्ट्रिब्युसन म्यानेजमेन्ट, आईएमएस पेट्रोल पम्प म्यानेजमेन्ट, आईएमएस पार्किङ म्यानेजमेन्ट लगायत याे कम्पनीका मुख्य उत्पादन हुन् ।

राजेन्द्र शाक्य र सगुनबहादुर ताम्राकारले स्थापना गरेको याे सफ्टवेयर निर्माण कम्पनीको सुरुवाती दिनको नाम थियो, आईएमएस सफ्टवेयर हिमालयन साङ्ग्रिला प्रालि । केही समयपछि कम्पनीमा अमितलाल जोशी र सन्तोष ताम्राकार पनि जोडिए ।

कम्पनी सुरूवात गर्नुपूर्व राजेन्द्र र सगुन हार्डवेयर कम्पनीमा काम गर्थे । एकदिन पुतलीसडकको एउटा ट्रेनिङ सेन्टरले सफ्टवेयरसम्बन्धी तालिम दिइरहेको छ भन्ने थाहा पाए ।

दुवैले गएर दुई महिनाको तालिम लिए । तालिमको क्रममा फिङ्गरप्रिन्ट डिभाइसको सफ्टवेयरले उनीहरूलाई निकै प्रभावित गर्‍याे । सन्ताेष भन्छन्, ‘बजारमा छलाङ मार्नु छ भने हामीले फिङ्गरप्रिन्टमा नै काम गर्नुपर्छ भन्ने सोचेर हामीले सफ्टवेयर बनाउन थाल्यौं ।’

उनले विगत सम्झँदै भने, ‘कम्पनी सुरु गरेको लगभग तीन वर्षजति सफ्टवेयर बनाउने र बेच्ने काम गर्‍याैं । हामीले युनिलिभरको लागि पनि सफ्टवेयर बनाएका थियौं । तर अरू कम्पनीकाे अर्डरमा बनाएकाे सफ्टवेयरको मात्र हाम्रो सपना धान्न नसकेपछि सन् २००३ मा आईएमएस ब्राण्डबाटै सफ्टवेयर बनाउने निधाे गर्याैं ।’

‘सुरूमा हामीले स्टाफ पाल्नको त कुरा छोडौं, पकेट खर्चसमेत घरबाट लिनुपर्ने अवस्था थियो,’ उनले सुनाए ।

विगत सात वर्षयता कम्पनीको नामलाई आकर्षक र छरितो बनाउन ‘हिमालयन साङ्ग्रिला’ हटाइएको कम्पनीका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले बताए । सुरुमा लगानीको नाममा साथीको घरको भुईँ तलामा दुई ओटा भाडाको कोठा र आफूले चलाइरहेका दुई ओटा कम्प्युटर बाहेक केही थिएन ।

कम्पनी सुरु भएदेखि नै फाट्टफुट्ट काम त आइरहेकै थियो । तर त्यो कामले उनीहरूको सपना पुरा गर्ने लक्षण देखाइरहेको थिएन । कहाँ सफ्टवेयर डेभलपर कम्पनीको ब्राण्ड स्थापित गर्ने भविष्यको परिकल्पना, अनि कहाँ सफ्टवेयरमा आएका समस्या सुल्झाइरहेको वर्तमान । खासै चाँजोपाँजो मिलिरहेकै थिएन ।

त्यसबेला नेपालमा फाट्टफुट्ट डिपार्टमेन्टल स्टोरहरू खुलिरहेका थिए । तुलनात्मक रुपमा अहिलेको जस्तो द्रुत नभएपनि प्रविधिको विस्तार पनि भइरहेकै थियो । भविष्यमा अझ धेरै परिवर्तनहरू आउँछन् र सुरुवात अहिलेबाट नै गर्नुपर्छ भन्ने विचार टिमको थियो ।

त्यो समय र परिस्थिति उनीहरूका लागि सजिलो भने थिएन । किनकि उनीहरूले सफ्टवेयर बनाउने कामसँगै ग्राहकलाई उक्त सफ्टवेयर प्रयोग हुने हार्डवेयर डिभाइसको बानी पार्न समेत आफैँ खट्नुपर्ने अवस्था थियो । 

सन्तोष सम्झिन्छन्- ‘अरे ! सफ्टवेयर पनि कसैले किनेर चलाउँछ ? यी यसरी सीडीमा सबै पाइहालिन्छ नि भन्दै सय रुपैयाँको पाइरेटेड सीडी देखाउँथे । त्यस्तोमा सफ्टवेयर किनेर चलाउनुपर्ने कुरा सम्झाउनै धेरै समय लाग्यो ।’

भोलिको बजारमा के आवश्यक छ भनेर यो टिमले अध्ययन गर्न थाल्यो । सुपरमार्केटका लागि लक्षित गर्दै फिङ्गरप्रिन्ट डिभाइस बाहिरबाट ल्याउने र डिस्ट्रिब्युसन म्यानेजमेन्ट सफ्टवेयर बनाउने निधो भयो ।

तर त्यसबेला सफ्टवेयर चलाउन पर्छ भन्ने धारणा नै थिएन । फिङ्गरप्रिन्टको मामलामा पनि निकै चुनौती झेल्नुपरेको सन्तोषले सुनाए ।

‘जागिर छोड्छु, तर ल्याप्चे दिन्न, सफ्टवेयरले फिङ्गरप्रिन्ट लिएपछि दुरुपयोग हुनसक्छ । किन दिने ?’ भन्दै प्रायजसोले उनीहरूलाई फर्काउँथे । यस्तो अवस्थामा फिङ्गरप्रिन्ट डिभाइस बेच्नु कम्ति चुनौतीपूर्ण थिएन ।

‘सन् २००३ मा पहिलो पटक सोल्टी होटेलमा भएको मेट्रो मार्टका लागि सफ्टवेयर बनाइयो । तर प्रयोगमा भने आएन । उक्त सफ्टवेयर पछि सन् २००४ मा पोखरामा रहेको सेल्वेजमा प्रयोग भएपछि उनीहरूले राम्रो प्रतिक्रिया पाए’, सन्तोष सुनाउँछन् । 

‘सुरुका वर्षहरू एकदमै अन्योलमा बिते । सफ्टवेयर त बनाउने । तर चल्छ, चल्दैन ? बजार विस्तार गर्न सकिन्छ, सकिँदैन ? धेरै वर्षसम्म त समयमा कहिल्यै तलब लिएनौँ । विस्तारै स्टाफ पनि थप्यौं । उनीहरूको पनि चित्त बुझाउनै पर्‍यो । नयाँ वर्ष, दशैँ तिहार नभनी निरन्तर खटिरह्यौँ,’ सन्तोष केही भावुक सुनिए ।

कुनै न कुनै दिन राम्रो हुन्छ भन्ने आशाले नै उनीहरूले संघर्ष गरिरहे । कम्पनीको तर्फबाट भारतीय दुतावाससँग गरेको कामको अनुभव सुनाउँदै कम्पनीका अर्का संस्थापक सदस्य सगुनबहादुर ताम्राकार भन्छन्, ‘एम्बेसीमा पहिला डेटा राखिरहेको मान्छेले काम छोडेपछि उनीहरूले सफ्टवेयरमा भएको डेटा निकाल्न सकिरहेका थिएनन् । पोखरामा त्यो बेला कर्नेल रहेका व्यक्तिले सफ्टवेयरबाट डेटा निकाल्यौ भने म तिमीहरूलाई अर्को एउटा काम दिन्छु भने ।’

‘हामीले ६ घण्टा लगाएर उक्त डेटा निकालिदियौँ । त्यसपछि एम्बेसीको लागि पेन्सन डिस्ट्रीब्युसन सफ्टवेयर बनाउन सक्छौ भनेर सोधे । काम पाएको खुशीमा त्यो बेला हामीले दायाँबायाँ केही नसोची ‘सक्छौँ’ भनिदियौँ । सबै मान्छे पढेलेखेका हुँदैनन्, सफ्टवेयरमा उनीहरूलाई कसरी समेट्न सकिएला त भनेर कर्नेलले सोधेका थिए । यसको लागि फिंगरप्रिन्ट डिभाइसको प्रयोग गर्न सकिन्छ भन्ने सल्लाह दिएपछि कर्नेल विश्वस्त भए ।’

इन्टरनेटको पहुँच शून्यकै हाराहारीमा रहेको बेला विदेशबाट फिङ्गरप्रिन्ट डिभाइस ल्याएर सफ्टवेयर इन्टिग्रेट गर्नु निकै नै गाह्रो काम थियो । त्यसैले उनीहरूले मुश्किलसँग एउटा कोरियन कम्पनीको ईमेल आईडी फेला पारेर फिंगरप्रिन्ट डिभाइस मगाए ।

४०/५० हजार खर्चिएर पहिलो पटक १० ओटा डिभाइस नेपाल भित्र्याए । त्यसो त त्यसअघि नै नेपालमा एक ठाउँमा फिंगरप्रिन्ट डिभाइस आइसकेको थियो । तर देखाउनको लागि मात्रै राखिएको थियो । प्रयोगमा भने आइसकेको थिएन ।

फिंगरप्रिन्ट डिभाइससँगका रोचक लाग्ने प्रसंगहरू आईएमएस सफ्टवेयर प्रालिको टिमसँग धेरै छन् । ‘फिंगरप्रिन्टमा हाजिरी लगाउनपर्छ, समयमै अफिसमा हाजिरी नभए तलब कटिन्छ भनेर कर्मचारीहरूले डिभाइस नै चुरोटले पोलिदिने, फुटाइदिने जस्ता कामहरू गर्थे । ‘उबेला त कति दु:ख दिन सकेको होला ! किन नबुझेको होला भनेर दिक्दार लाग्थ्यो । तर अहिले सम्झिँदा रमाइलो लाग्छ,’ सगुन सम्झिँदै भन्छन् ।

सन् २००६ सम्म उनीहरूले आठ/नौ जना स्टाफ राख्न सक्ने स्थिति बनाइसकेका थिए । त्यसको अर्को वर्षसम्म उनीहरूले फरक-फरक स्थानमा आफ्नो सफ्टवेयरका २०० जति ग्राहक पनि बनाए । त्यसैबेला भाटभटेनीको महराजगञ्ज शाखा खुल्दै थियो ।

जसले आईएमएसलाई एउटा नयाँ मोड दियो । भाटभटेनीका लागि डिपार्टमेन्टल सफ्टवेयर बनाएपछि उनीहरूले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । अहिलेसम्म पनि धेरै ग्राहक भाटभटेनीमा राखिएको सफ्टवेयरको नाम लिएर आईएमएस खोज्दै आउने गर्छन् । 

सन्तोष र सगुनले सुनाएको कम्पनीको वैदेशिक सेवा विस्तारको यात्रा पनि रमाइलो छ ।

‘सन् २०१२ मा मलेसियाबाट एउटा ईमेल आयो । त्यसबेला मलेसियाका सबै कम्पनीहरूमा अमेरिकन सफ्टवेयर चल्ने गरेको थियो । जुन त्यहाँ भर्खर लागू भएको जीएसटी सहितको हिसाब गर्दा आईएमएसको तुलनामा धेरै महङ्गो थियो ।’

‘भाटभटेनीमा प्रयोग भएको सफ्टवेयर सस्तो पर्छ भन्ने थाहा पाएर हामीलाई सम्पर्क गरेका रहेछन् । पहिलो विदेशी कम्पनीसँग लिएको कामका लागि हामीले करिब ३४ लाखमा सम्झौता गरेका थियौं । जुन अमेरिकन कम्पनीले लिने गरेको रकमको तुलनामा धेरै नै सस्तो थियो । हामीले त्यसबेला तीन महिनासम्म मलेसियामै बसेर काम गरेका थियौँ,’ सन्ताेषले सुनाए ।

अहिले वीर अस्पतालदेखि नेपाल राष्ट्र बैंकसम्म आईएमएसकै सफ्टवेयर प्रयोगमा छ ।

त्यस्तै, अहिले उनीहरूले नेस्ले, पतञ्जली र डावर जस्ता विदेशी ब्राण्डलाई पनि आफ्नो सफ्टवेयर बेचिरहेका छन् । पतञ्जलीका ४० हजार ठाउँमा आईएमएसको सफ्टवेयर चलिरहेको छ । यो सबैको पछाडि भाटभटेनीको देन रहेको संस्थापकद्धय बताउँछन् । 

पछि उनीहरूले रेस्टुरेन्टका लागि सफ्टवेयर बनाए । जुन अहिले १८ सय भन्दा बढी ठाउँमा प्रयोग भइरहेको छ । नेपालमा कम्पनीले १३० जना स्टाफ जोडेको छ । बाहिर मलेसिया, जापान र भारतमा साझेदारीमा कम्पनीले आफ्ना शाखा चलाइरहेको छ ।

अब चाँडै हङकङमा पनि शाखा खोल्ने योजना रहेको सन्तोषले बताए । नेपालभित्र  इटहरी, पोखरा र बुटवलमा कम्पनीको शाखा छ । सफ्टवेयरका कूल ग्राहक करिब नौ हजारको हाराहारीमा छन् । कम्पनी अहिले आईएमएसलाई सफ्टवेयर कम्पनी तथा सफ्टवेयर सोलुसन कम्पनी दुवै रुपमा प्रस्तुत भइरहेको छ । 

प्रविधिको विकास भएसँगै अहिले धेरै सजिलो भएको अनुभव सन्तोषले सुनाए ।  सन्तोष भन्छन्- ‘सन् २०१६ सम्म हार्डवेयर र सफ्टवेयर दुवैलाई सन्तुलन गरेर अघि बढिरहँदा कम्पनीको हार्डवेयरको व्यापार पनि राम्रै चलिरहेको थियो । हार्डवेयरको बजार सहज भएसँगै कम्पनीले सफ्टवेयरलाई मात्रै लिएर अघि बढिरहेको छ ।’

‘दुवै पाटोलाई सँगै लिएर जाँदा आफ्नो बाटो अल्मलिएको जस्तो लागेपछि हामीले हार्डवेयरका लागि अन्य भेन्डरहरूलाई नै उपाय सिकाइदियौँ । वहाँहरूको हार्डवेयरको काम पनि अहिले राम्रैसँग चलिरहेको छ । हामी सफ्टवेयरमै अभ्यस्त छौँ ।’

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team