close

पैसा तिरेर हेर्नेगरी ओटीटीमा गएको ‘सक्किगोनि’ युट्युवमै किन फर्कियो ?

टेकपाना टेकपाना

कात्तिक २५, २०७८ २१:७

पैसा तिरेर हेर्नेगरी ओटीटीमा गएको ‘सक्किगोनि’ युट्युवमै किन फर्कियो ?

काठमाडौं । लोकप्रिय हास्य टेली श्रङ्खला ‘सक्किगोनि’ पैसा तिरेर हेर्नुपर्ने गरी केही साताअघि ओटीटी एपमा गएको थियो । हरेक साता प्रसारण हुने सिरियल पुनः नियमित तवरमा युट्युवमै फर्किएको छ ।

ओटीटी प्लेटफर्मले समझदारी अनुरूप तत्परता नदेखाउँदा सशुल्क मोडालिटीबाट पछि हट्नु परेको ‘सक्किगोनि’ टेलिसिरियलका निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले टेकपानालाई बताए ।

‘त्यतिखेर पनि युट्युवमा राख्दै नराख्ने भन्ने कुरा चाहिँ थिएन । ओटीटी एपमा नियमित समयमै एपिसोडहरू राख्ने र त्यसबापत निश्चित शुल्क उठाउने भन्ने कुरा थियो । युट्युवमा चाहिँ एक हप्तापछि मात्रै राख्ने गरी समझदारी गरेका थियौँ,’ उनले भने ।

ओहो मुभिज, क्लियर टिभी, भाया टिभी, डिशहोम गो, नेटटिभी लगायतका ओटीटी एपहरूमा समयमै हेर्न चाहने दर्शकले पैसा तिर्नुपर्ने व्यवस्था गरिएको थियो । दुवै पक्षबीचको समझदारी अनुरूप प्रति एपिसोड एक जना दर्शकबाट १९ रुपैयाँ शुल्क उठाउने तय पनि भएको थियो । 

नियमित सिरियल हेर्दै आएका दर्शक युट्युवमा हेर्न नपाइने खबरले निराश थिए । तर त्यसैबीच अर्कै च्यानलबाट ‘सक्किगोनि’ युट्युवमा आयो । पछि युट्युवमा अनधिकृत रुपमा भिडिओ राखिएको भन्दै ‘सक्किगोनि’ टिमले साइबर ब्युरोमा उजुरी समेत दियो । 

यसैबीच ओटीटी प्लेटफर्महरूले राम्रो प्रचारप्रसार गर्न नसकेको भन्दै ‘सक्किगोनि’को निर्माण टोली असन्तुष्ट हुँदै गयो । अर्को कुरा समयमै भिडिओ अपलोड पनि हुन सकिरहेको थिएन ।

पहिलो भाग एक/दुई दिनपछि मात्रै ओटीटीमा आएको र अर्को भाग पनि केही घन्टा ढिलो भएको पाँडेको भनाइ छ ।

‘यसले गर्दा दर्शक र प्रोजेक्टको आशा भरोसा नै छिन्नभिन्न हुने देखिएपछि अन्ततः हामी ओटीटीको सशुल्क योजनाबाट पछि हट्यौँ,’ उनले अगाडि भने, ‘तर पनि दर्शकहरूले युट्युवका साथै ती ओटीटी एपहरूमा अहिले पनि ‘सक्किगोनि’ हेर्न सक्नुहुन्छ ।’

अबदेखि दर्शकहरूले निश्चित तथा नियमित समयमै युट्युवमा हास्य टेलिसिरियल ‘सक्किगोनि’ हेर्न पाउने पाँडेले बताए । यससँगै ओटीटी एपहरूमा हेर्ने दर्शकले समेत यो सिरियलका लागि पैसा तिर्नु नपर्ने भएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१