close

बेजोस भन्छन् : मानिस अन्तरिक्षमा जन्मिएर छुट्टी मनाउन धर्तीमा आउनेछन्

टेकपाना टेकपाना

कात्तिक २७, २०७८ १८:३५

बेजोस भन्छन् : मानिस अन्तरिक्षमा जन्मिएर छुट्टी मनाउन धर्तीमा आउनेछन्

काठमाडौं । अन्तरिक्षमा राज गर्ने संयन्त्र बनाइसकेका विश्वका दोस्रो ठूला धनाढ्य जेफ बेजोसले मानिसहरूको जन्म अन्तरिक्षमै हुने भविष्यवाणी गरेका छन् ।

यतिमात्र होइन, उनले अन्तरिक्षमा जन्मिने मानिसहरू पार्कमा गएजस्तै छुट्टी मनाउन धर्तीमा आउने समेत बताएका छन् । स्पेस कम्पनी ब्लु ओरिजिनका मालिक बेजोसका अनुसार भविष्यमा अन्तरिक्षमा सहर बस्नेछ र त्यहीँ मानिसको जन्म हुनेछ ।

वासिङ्गटनमा ब्लु ओरिजिनको भविष्यको विषयमा आयोजित एक चर्चा परिचर्चामा बेजोसले कम्पनीको योजना, अन्तरिक्षको खोज, धर्तीको संरक्षण जस्ता मुद्दामा आफ्नो राय व्यक्त गरेका थिए ।

उनले अन्तरिक्षको बस्ती एक प्रकारले तैरिरहेको घरको जस्तै हुने उल्लेख गर्दै जहाँ पृथ्वीको मौसम र गुरुत्वाकर्षणको नक्कल गरिने बताए । यस्ता तैरिरहेका घरमा १० लाख मानिस बसोबास गर्न सक्नेछन् र त्यहाँ नदी, जङ्गल र वन्यजन्तु समेत हुनेछन् ।

बेजोसले भनेका छन्, ‘शताब्दीऔँसम्म मानिसहरू अन्तरिक्षमा जन्मिनेछन् र त्यो उनीहरूको पहिलो घर हुनेछ । उनीहरू अन्तरिक्षको बस्तीमा जन्म लिनेछन् । त्यसपछि धर्तीको यात्रामा निस्किनेछन् । यो करिब त्यस्तै किसिमको हुनेछ, जसरी हामी अहिले छुट्टी मनाउन यलोस्टोन नेसनल पार्कमा जाने गर्दछौँ ।’

बेजोसकाे भनाइमा जब उनी आफ्नो अध्ययन पुरा गरिरहेका थिए, त्यतिखेर आफ्नो एउटा भाषणमा पहिलो पटक अन्तरिक्षमा बस्ती बसाउने योजनामा आफ्नो विचार प्रस्तुत गरेका थिए ।

अमेजन कम्पनीका संस्थापक समेत रहेका बेजोसले कुनै अर्को ग्रहमा गएर जीवन पुनः सुरु गर्नुभन्दा अन्तरिक्षमै बस्ती बसाउनु उचित हुनेछ ।

उनले भनेका छन्, ‘यदि मंगल ग्रहमा बदलाव ल्याउने हो भने त्यसले अनेक किसिमका चुनौतीहरू निम्त्याउन सक्छ र त्यो अर्को पृथ्वी बनाउनु जस्तै हुनेछ । यस्तोमा त्यहाँ १०/२० अर्ब मानिस रहन सक्नेछन् ।’

पृथ्वी बाहिर मानव जीवन विकसित गर्ने सवालमा बेजोस र उनका धुरन्धर विरोधी एलन मस्कबीच वाकयुद्ध चल्दै आएको छ । एलन मस्क बेजोसलाई पछाडि पार्दै अहिले विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

मस्कको स्पेस कम्पनी स्पेसएक्सको मुख्य लक्ष्य मङ्गल ग्रहमा बस्ती बसाउनु रहेको छ । यस्तोमा बेजोसले अन्तरिक्षमा मानव बस्ती बसाउने दाउ खेलेर मस्कमाथि निशाना साँधेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२