close

इलेक्ट्रिक बाइक बनाएका पोखरेललाई राष्ट्रिय आविष्कार केन्द्रले सहयोग गर्ने

टेकपाना टेकपाना

कात्तिक २८, २०७८ १६:३९

इलेक्ट्रिक बाइक बनाएका पोखरेललाई राष्ट्रिय आविष्कार केन्द्रले सहयोग गर्ने

काठमाडौं । हालै विद्युतीय मोटरबाइक निर्माण गरेका सन्धिखर्क अर्घाखाँचीका १९ वर्षीय सागर पोखरेललाई राष्ट्रिय आविष्कार केन्द्रले सहयोग गर्ने भएको छ । आइतबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् केन्द्रले सहयोग गर्ने घोषणा गरेको हो ।

१२ कक्षामा पढ्दै गरेका पोखरेललाई थप सैद्धान्तिक ज्ञान आवश्यक भएको भन्दै उनको प्रयासलाई थप सुधार र विकास गर्न केन्द्रले सहयोग गर्ने उल्लेख गरेको हो । पोखरेलले राम्रो टिम बनाएर केन्द्रसँग सम्पर्क गरेमा केन्द्रले अनुसन्धान तथा विकासका लागि चाहिने स्रोत साधन र ठाउँ उपलब्ध गराइदिने बताएको छ ।

‘त्यो मोटसाइकललाई उत्पादन गरेर व्यवसायीकरण गर्ने आँट गर्नुहुन्छ भने अनुसन्धान तथा विकासका लागि राष्ट्रिय आविष्कार केन्द्रले सकेसम्म मद्दत गर्न सक्छ,’ केन्द्रले आफ्नो फेसबुक पेजमा लेखेको छ ।

त्यस्तै पाेखरेल सृजनशील र प्रतिभाशाली भएको र उसले बनाएको मोटरसाइकलमा थप सुधार र विकास गर्न सम्बन्धित निकायले खर्च जुटाइदिनुपर्ने र वातावरण बनाइदिनुपर्ने आवश्यकता पनि भएको केन्द्रले उल्लेख गरेको छ ।

साथै यसरी विकास गरिएको मोटरसाइकललाई उत्पादनका लागि कारखाना बनाउन र व्यवसायिक रुपमा अगाडि बढाउनका लागि लगानीकर्ताले ध्यान दिनुपर्ने केन्द्रले जोड दिएको छ ।

यस्ता प्रतिभाहरूलाई मर्न नदिन र अगाडि बढाउन समाजको पनि उत्तिकै दायित्व रहने भन्दै केन्द्रले सम्बन्धित निकायलाई यस्ता युवालाई सकेसम्मको हौसला र मद्दत दिएर हुर्काउने दायित्व समाज र देशको लिनुपर्ने आविष्कार केन्द्रले बताएको छ ।

‘नेपाली समाजमा हुँदै नभएको कुरा भनेको त्यस्ता सृजनशील र प्रतिभाशाली सन्ततिलाई हुर्काउनका लागि चाहिने संस्कार हो । संस्कार भएन भने त्यस्तो संस्कार बसाल्नुपर्दछ र कुनै पनि संस्कार बसाल्न रातारात सकिँदैन ।

अहिलेको अवस्थामा राष्ट्रिय आविष्कार केन्द्रले गर्न खोजेकै नेपाली समाजमा अनुसन्धान तथा विकास कसरी गर्ने र माथि भनिएका सृजनशील युवाहरूलाई कसरी उद्यमी बनाउने भन्ने हो। कहिल्यै नगरेको काम भएको हुनाले त्यो संस्कार बसाल्ने कुरा सिक्दैछौं,’ केन्द्रले उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२