close

नियोटेरिक बन्यो होटल बुकिङमा सघाउने सफ्टवेयर ‘स्टा’ को स्थानीय साझेदार

टेकपाना टेकपाना

कात्तिक ३०, २०७८ १९:४५

नियोटेरिक बन्यो होटल बुकिङमा सघाउने सफ्टवेयर ‘स्टा’ को स्थानीय साझेदार

काठमाडौं । सूचना प्रविधि क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको नियोटेरिक नेपाल होटल बुकिङमा सघाउने सफ्टवेयर ‘स्टा’ को स्थानीय साझेदार बनेको छ । स्टाले होटललाई अन्तराष्ट्रिय होटल बुकिङ प्लेटफर्मसँग जोड्न सहयोग गर्छ ।

स्टाले होटलहरुलाई विश्वका विभिन्न बुकिङ च्यानलसँग एउटै प्लेटफर्ममार्फत जोड्ने सुविधा दिंदै आएको छ । सफ्टवेरको बिक्री तथा बिक्रीपछिको सेवा समेत उपलब्ध गराउने गरी नियोटेरिक नेपाल स्टाको रिसेलर तथा सपोर्ट पार्टनर नियुक्त भएको हो ।

पछिल्लो समय नेपालमा आउने विदेशी पर्यटकले बुकिङ प्लेटफर्ममार्फत बुकिङ गरेर आउने गरेका छन् । यो सफ्टवेयरको प्रयोगले होटलले भिन्न भिन्न बुकिङ प्ल्याटफर्ममामा अपडेट गरिरहनुपर्ने झन्झट अन्त्य गर्नेछ । हाल नेपालका ५० भन्दा बढी होटलले यो सफ्टवेयर प्रयोग गरिरहेका छन् ।

स्टाले होटलहरुलाई बुकिङ प्लेटफर्मसँग जोड्न मद्दत गर्ने स्टाका विजनेश डेभलपमेन्ट निर्देशक राजेश सुन्दर घन्सानीले बताए । 

उनका अनुसार यो सफ्टवेयरले होटलमा कुन प्लेटफर्मबाट बुकिङ आयो, आफ्नो होटलमा कति कोठा बाँकी छ, कुन दिनका लागि कति कोठा बुक भयो जस्ता जानकारी दिनेछ ।

साथै, यदि कसैले यसअघि गरेको बुकिङ क्यान्सिल गरेको खण्डमा पनि सफ्टवेयरले स्वतः उक्त जानकारी प्लेटफर्ममा उपलब्ध गराउने छ ।

सफ्टवेयरले होटल व्यवसायीलाई विश्वमा उपलब्ध कयौं बुकिङ च्यानलहरुमा हरेक पटक छ्ट्टा छुट्टै जानकारी भर्नुपर्ने झन्झटको पनि अन्त्य गरिदिने घन्सानीले बताए ।

‘यो सफ्टवेयर विश्वका ९४ भन्दा बढी देशका होटलमा प्रयोगमा आएको छ,’ उनले भने, ‘नेपालमा पनि ५० भन्दा बढी होटलले यही सफ्टवेयर प्रयोग गरिरहेका छन् । त्यसैले सफ्टवेयरको थप विस्तारका लागि नियोटेरिक नेपालसँग सहकार्य गरिएको हो । नियोटेरिकसँगको सहकार्य कम्पनीका लागि एउटा अवसर हो ।’

कार्यक्रममा नियोटेरिक नेपालका प्रबन्ध निर्देशक सञ्जय गोल्छाले स्टासँगको सहकार्यले नेपालको हस्पिटालिटी क्षेत्रमा आफूलाई प्रवेश गर्ने अवसर दिएको बताए । ‘नेपालको हस्पिटालिटी क्षेत्रमा प्रविधि भित्र्याउन पाउनु अवसर हो,’ उनले भने, ‘यसले भोलिका दिनमा नेपालको हस्पिटालिटी क्षेत्रको विकासमा ठुलो योगदान पुर्याउने अपेक्षा छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३